Comments Add Comment

‘प्रधानमन्त्रीज्यू ! नेकपामा काल पल्कियो, मलाई अन्याय भयो’

म पूर्वएमालेको अर्घाखाँची जिल्ला कमिटी सचिव हुँ । अर्घाखाँचीमा पूर्वएमालेलाई अध्यक्ष र पूर्वमाओवादी केन्द्रको भागमा सचिव परेको छ । यस सन्दर्भमा पूर्वएमालेका तर्फबाट सिनियरलाई पाखा लगाएर कोही कसैलाई जानकारी नदिइ कनिष्ठ व्यक्तिलाई अध्यक्षका लागि प्रदेशको कार्यदलमा सिफारिस गरिएको छ ।

यतिबेला हामी पार्टी एकीकरणको चरणमा छौं । केन्द्रमा पार्टी एकीकरण सम्पन्न भइसकेको छ । अर्घाखाँची जिल्ला अध्यक्षका लागि पीताम्बर भुसाल सिफारिस भएको मैले फेसबुकबाट थाहा पाएँ । फेसबुकमा सिफारिस भएको भन्दै एकाएक बधाई आयो । एकै छिनपछि जिल्ला अध्यक्ष बन्नुभएकोमा बधाइ छ भन्दै फेसबुकमै लेखेको देखें । जब कि उहाँ ०६९ फागुन ५ गते भएको ७ औं जिल्ला अधिवेशनमा मसँगै पराजित हुनुहुन्छ । त्यसपछि उहाँ सचिवालय सदस्यसम्म रहनुभयो । त्यसअघि हामी दुवैजना जिल्ला कमिटी सचिवालय सदस्य थियौं । अहिले बरिष्ठतामा म तेस्रो स्थानमा छु, उहाँ ९ नौं स्थानमा । तर, उहाँलाई सिफारिस गरियो । यो ममाथिको अन्याय मात्रै होइन, विधि विधान र कम्युनिस्ट पार्टीभित्रको नैतिकतामाथिको प्रश्न हो । व्यक्ति हावी हुनुमा प्रश्न हो ।

मभन्दा माथि अध्यक्ष र उपाध्यक्ष हुनुहुन्थ्यो । तर, अहिले अध्यक्ष चेतनारायण आचार्य प्रदेश ५ को सांसद हुनुहुन्छ । उपाध्यक्ष जीवनारायण कोइराला प्रदेेश संगठन समितिमा हालसालै मात्रै मनोनित हुनुभएको हो । उहाँ जिल्लाको पाणिनि गाउँपालिकाको अध्यक्षको उम्मेदवारसमेत हुनुहुन्थ्यो । तर, पराजित हुनुभयो । उहाँहरु दुवैजना संसदीय चुनावमा सहभागी भइसक्नुभयो । यो अवस्थामा स्वाभाविक रुपमा मेरो दाबी थियो । म कुनै संसदीय चुनावको अवसर पनि लिएको थिइँन ।

प्रदेश र जिल्लामा एकीकरणका सन्दर्भमा केन्द्रको निर्देशनअनुसार सिंगो जिल्ला कमिटीका सदस्यहरुलाई सहभागी बनाएर छलफल गरिनुपर्दथ्यो । यदी सम्भव नभए पार्टी जिल्ला कमिटीका सचिवालयको भेला गर्नुपर्छ । त्यो सम्भव भएन भने पदाधिकारीहरु र जिल्लाका महत्वपूर्ण नेताहरुलाई राखेर व्यापक छलफल गरेर सकभर सर्वसम्मतरुपमा अध्यक्ष र सचिव जसको भागमा पर्छ, त्यो चयन गर्नुपर्ने थियो । यदी त्यो पनि सम्भव भएन भने, धेरैको दाबी आयो भने, दावीसहित के राय आउँछ, त्यो प्रदेश कार्यदलमा सिफारिस गर्ने केन्द्रीय निर्देशन थियो । यो केन्द्रीय अध्यक्षज्यूहरुको निर्देशनलाई अपमान, अपहेलित गर्दै हामीलाई कुनै जानकारी गराइएन ।

आमा बित्नुभयो भन्ने होइन, काल पल्कियो

मेरो मात्रै होइन, आम जिल्लावासी र जिल्ला कमिटीकै भनाइ के छ भने व्यक्ति रामबहादुर, श्यामबहादुर हुने कुरा ठूलो होइन । विधि र प्रक्रिया मिचियो । पार्टीका स्थापित मूल्य र मान्यताहरु ध्वस्त बनाइयो । स्वयम केन्द्रीय अध्यक्ष ज्यूहरुको जुन निर्देशन हो, उक्त निर्देशनलाई अवहेलना गरियो ।

अलिकति पनि परामर्श भएन । एकाएक फेसबुकमा फलानाको नाम सिफारिस भएको छ भन्दै बधाई लेखियो । के यही हो मूल्य मान्यता ?

जब मैले थाहा पाए त्यसपछि अध्यक्षसहित कार्यदलका व्यक्तिहरुसँग सम्पर्क गरें । जिल्ला इञ्चार्जसँग बुझ्दा हामीलाई केही थाहा छैन भन्नुभयो । कसैले पनि अपनत्व ग्रहण गर्न तयार छैन । एकाएक कहाँबाट सिफारिस भयो त ? केही मिनेट अगाडि सिफारिस भएकोमा बधाइ भन्ने आउँछ । केही मिनेटपछि जिल्ला अध्यक्ष बन्नुभएकोमा बधाई भन्ने आउँछ यो कहाँबाट भयो ?

आमा बित्नु भयो भन्ने होइन, यहाँ काल पल्किएको छ । दुःख यहाँ हो । व्यक्ति हावी भयो । हामी यसका विरुद्ध निरन्तर अन्तरसंघर्ष गर्छाैं। जस्तोसुकै अवस्थामा संघर्ष गर्छु ।

यही हो त तीन करोड जनता खुसी बनाउने तरिका ?

केपी शर्मा ओली र प्रचण्ड कामरेडलाई मेरो प्रश्न पनि छ- ‘तीन करोड जनतालाई खुसी पार्ने लक्ष्य लिएका छौं । तर, जिल्लामा इमान्दार कार्यकर्ता अपमानित भएको छ । यो गल्ती नेतृत्वले करेक्सन गर्न सक्दैन भने तीन करोड जनतालाई कसरी खुसी पार्न सकिन्छ ?’

अर्काे महत्वपूर्ण कुरा, गत वर्ष सम्पन्न भएको संघ र प्रदेशको चुनावमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी जिल्ला मूल निर्वाचन कमिटीको संयोजक हुनुहुन्थ्यो । पूर्वएमालेका जिल्ला इन्चार्ज नजिर मियाँ सहसंयोजक र म सचिव थिएँ । जिल्ला कमिटी अध्यक्ष र उपाध्यक्ष सदस्य हुनुहुन्थ्यो ।

उम्मेदवार उहाँहरु नै हुनुहुन्थ्यो । उहाँहरुले चुनाव जित्नुथियो । तत्कालीन अवस्थामा मलाई सजिलै सचिव स्वीकार गर्नुभयो । मेरै कारणले उहाँहरुले चुनाव जित्ने भयो । मलाई प्रयोग गर्नु भयो । अहिले लत्याउनु भयो । यो त यूज एण्ड थ्रो भयो ।

मुलुकलाई समद्ध र तीन करोड जनतालाई खुसी पार्ने लक्ष्यका साथ बृहत कम्युनिस्ट पार्टी गठन भएको हो । तर, त्यही लक्ष्य बोकेर फिल्डमा खटिएको एक कार्यकर्ता अपमानित भएको छ । अवहेलित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड कामरेडलाई मेरो प्रश्न पनि छ- ‘तीन करोड जनतालाई खुसी पार्ने लक्ष्य लिएका छौं । तर, जिल्लामा इमान्दार कार्यकर्ता अपमानित भएको छ । यो गल्ती नेतृत्वले करेक्सन गर्न सक्दैन भने तीन करोड जनतालाई कसरी खुसी पार्न सकिन्छ ?’

मनोमानी गर्नेलाई कारवाही गर्छौं

सिफारिसबारे जिल्ला कमिटी सचिवलाई थाहा नहुने ? जो सबैभन्दा सिनियर छ, अध्यक्षको मुख्य दाबेदार उही हो । मैले प्रदेश कार्यदलमा सम्पर्क गरें । कसैसँग छलफल नगरी गैरजिम्मेवारपूर्ण रुपमा सिफारिस भएको जानकारी गराएँ ।

पार्टीमा व्यक्ति हावी भएर यसरी मनोमानी भएपछि हामीले पदाधिकारी बैठक बोलायौं । जिल्ला अध्यक्ष सांसद हुनुहुन्छ, उहाँ बुटवलमै हुनुहुन्छ । उपाध्यक्ष जीवनारायण, सचिव स्वयं म र उपसचिव प्रेम गैरेसहित हामी साउन २८ गते बैठक बस्यौं । हामीले मनोमानीको कुरा पार्टीका केन्द्रीय अध्यक्ष र बरिष्ठ नेता, पार्टी महासचिवलगायत कार्यदललाई इमेलमार्फत जानकारी गराएका छौं ।

यसरी अंकुश लगाएर पार्टीको मूल्य मान्यता ध्वस्त पार्न पाइँदैन । यो अधिकार कसैलाई छैन । यसका लागि म डटेर लाग्छु । हामी मनोमानी गर्नेलाई जिल्ला कमिटीबाटै कारबाही गर्छाैं ।

(चौहान नेकपा अर्घाखाँचीका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment