Comments Add Comment

परिवारको प्रश्नः सुस्त मनस्थितिकी पुष्पाले कसरी आत्महत्या गरिन् ?

१० भदौ, पोखरा । पोखरा महानगरपालिका-१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी सुस्त मनस्थितिकी थिइन् । उनी घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कहिल्यै गइनन् । घर बाहिर जानु परे बुबा वा आमासँगै जान्थिन् । एक-डेढ सय मिटर पर रहेको किराना पसलमा जानु पर्दा पनि बहिनी दिया साथी चाहिथ्यो । तर, शुक्रबार घर नपुग्दै बसबाट झरिन् ।

आमाले टमाटर लिएर आएनू भन्नु भएको छ भन्दै बसबाट झरेकी उनी कहिल्यै फर्किनन् । न टमाटर ल्याइन् न उनी घर फर्किईन् । बरु भोलिपल्ट बेलुका लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा शव भेटियो ।

मेरी छोरीको हत्या नै भएको हो, कसैले ललाईफकाई लगेर वलात्कार प्रयास गर्दा नमानेपछि हत्या गरेको हो भन्ने मलाई लाग्छ गोमा घटना भएको करीब ४ दिन बित्दा पनि पुस्पाको मृत्यु कि हत्या भन्ने खुलेको छैन ।

टमाटर ल्याउनू भनेको थिइँनः आमा

पुष्पाले बसबाट ओर्लने बेला ‘ममीले टमाटर लिएर आउनु भन्नु भएको छ’ भनेकी थिइन् । तर, मृतक पुष्पाकी आमा गोमा केसीले आफूले छोरीलाई टमाटर ल्याउन नभनेको बताएकी छन् । उनले भनिन्, ‘मेरो छोरी काम गर्न सक्ने स्थितिकै होइन, मैले किन भन्थेँ र टमाटर ल्याउन ? त्यो दिन पनि भनेकै होइन ।’

उनकाअनुसार पुष्पा सुस्त मनस्थितिकी थिइन् । बाहिर भन्दा घरमै रमाउँथिन् । कहिले काहिँ बजार लिएर गयो भने पनि घर जाउँ कि घर जाउँ भनेर अत्याउँथिन् । नचिनेको मान्छेसँग बोल्न त के ठाडो नजरले हेर्नपनि डराउँथिन् ।

घरमा सबैले माया गर्थे । फरक स्वाभावको भएकाले सबैले उनलाई स्याहार गर्थे । बुबा नृतेन्द्र केसीले त झन् उनलाई अन्य छोराछोरी भन्दा बढी ख्याल राख्थे ।

पढाईमा भने कमजोर थिइन् पुष्पा । उनले मेहनत नगरेकी पनि होइनन् तर, मानसिक रुपमा कमजोर भएकाले पढाईमा राम्रो नभएको सबैलाई थाहा थियो । त्यसैले परिवारका सदस्य र शिक्षक शिक्षिकाले पनि उनलाई कुनै दबाव दिँदैनथे ।

पुष्पाकी शिक्षक गीता कुँवरले भनिन्, ‘पुष्पाको नेचर नै धेरै नबोल्ने हो, उनको मानसिक अवस्था थाहा थियो, त्यसैले हामीले कहिल्यै पढ्नलाई दबाव दिएनौं ।’

परिवार भन्छः हत्या नै हो

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । तर, पीडित परिवारले पुष्पाको हत्या भएको दाबी गरेका छन् । जति भोक लागेपनि खाना समेत मागेर खान नजान्ने पुष्पाले आत्महत्या गर्नै नसक्ने उनीहरुको जिकिर छ । खास गरेर पुष्पाको स्वभाव, शव भेटिएको स्थान र प्रकृति हेर्दा हत्या नै भएको उनीहरुको निश्कर्ष छ ।

‘निर्दोषलाई फसाउने भन्दा पनि दोषी उम्कन नपाओस्’ मृतकका बुबा नृतेन्द्र केसीले भने ।

मृतककी आमा गोमाले थपिन्, ‘मेरी छोरीको हत्या नै भएको हो, कसैले ललाईफकाई लगेर वलात्कार प्रयास गर्दा नमानेपछि हत्या गरेको हो भन्ने मलाई लाग्छ ।’

टमाटर किन्ने भन्दै घर नपुग्दै स्कुल बसबाट झर्नु बहाना मात्र भएको परिवारको ठम्याइ छ । कुनै केटाले केटीको माध्यमबाट पुष्पालाई बोलाएको हुनसक्ने परिवारको आशंका छ । शव भेटिएको स्थानमाथि भीर र तल झाडी छ । जुन ठाउँ पुष्पाले कहिल्यै देखेकी थिइनन् । पुष्पा एक्लै हिंडेर त्यस ठाउँमा पुग्नै नसक्ने परिवारको दाबी छ । त्यतिमात्र होइन, शव भेटिएको स्थान भीरबाट करीब २०/२५ मिटर टाढा छ, जहाँ हामफालेर पुग्नै सकिन्न ।

पुष्पाको शव भेटिएको स्थान भन्दा करीब एक सय मिटर टाढा भीरमाथि उनको स्कुल ब्याग भेटिएको छ । उनले लगाएको चप्पल शव भन्दा केही पर थियो । उनको टाई र सर्ट जस्ताको तस्तै भएपनि स्कर्ट भने करीब २ मिटर टाढा थियो । यसले पनि उनको हत्या नै भएको पुष्टि गर्ने परिवारको तर्क छ ।

शिक्षक गीता कुँवरले पनि पुष्पाको हत्या भएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘पुष्पाले आत्महत्या गर्नै सक्दिनन्, कसैले वलात्कार प्रयास गर्दा हत्या गरेको हुनसक्छ ।’

प्रारम्भीक रिपोर्ट नेगेटिभ

परिवारले वलात्कारपछि हत्याको आशंका गरेपनि पोष्टमार्टमको प्रारम्भीक रिपोर्टले त्यस्तो देखाएन । टाउकोमा रगत जमेको, बायाँ छाती र फोक्सोमा चोट लागेको तथा देब्रे खुट्टाको कुर्कुच्चा भाँचिएको छ । पूर्ण रिपोर्ट भने आउन बाँकी छ ।

तर, परिवारका सदस्यहरुले वलात्कार नभएपनि वलात्कारको प्रयासमा हत्या भएको हुनसक्ने दाबी गरे ।

यसैबीच बिहीबार बेलुका पुष्पालाई स्कुटरमा राखेर एक युवाले लामाचौर बजार लगेर खाजा खुवाएको हल्ला चलेको छ । ती युवा को हुन् भन्ने खुलिसकेको छैन ।

यसबारे प्रहरीलाई पनि खबर भइसकेको पीडितका आफन्त तथा स्थानिय अर्जुन भण्डारीले बताए । आइतार नै पुष्पाकी नजिककी एक जना साथी बेपत्ता भएको हल्ला चल्यो । लगतै प्रहरीले उनको खोजी गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले भने, बेपत्ता भनिएकी पुष्पाकी साथी हाम्रो सम्पर्कमा छिन्, उनीमाथि पनि अनुसन्धान भइरहेको छ ।’

परिवारले शव बुझेनन्

पोष्टमार्टम भएपनि परिवारले शव बुझ्न मानेका छैनन् । दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने परिवारको अडान छ । शव बुझेपछि अनुसन्धान फितलो हुने आशंकामा आफूहरुले शव नबुझेको मृतकका बुबा नृतेन्द्र केसीले बताए ।

पीडित पक्षको आइतबारको भेलाले अनुसन्धानलाई सघाउन ७ सदस्यीय समिति पनि गठन गरेको छ । समितिमा पीडितका आफन्त र सामाजिक अगुवाहरु छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment