Comments Add Comment

एसिया कप छनोटमा नेपाल भर्सेस ओमन : यस्तो छ विगत

१२ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिता बुधबारदेखि मलेसियामा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा बुधबार नै ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ओमनबीचको खेल नेपाली समयअनुसार विहान ७ बजेर १५ मिनेटमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

छनोटमा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमन रहेका छन् । प्रतियोगिताको पहिलो दिन ३ खेल हुदैछ । नेपालले ओमनसँग प्रतिस्पर्धा गर्दा, आयोजक मलेसियाले हङकङ र युएईले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले आफ्नो दोस्रो खेल ३० तारिखमा युएईसँग प्रतिस्पर्धा गर्नेछ भने सेप्टेम्बर १ तारिखमा मलेसियाको सामना गर्दैछ । सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

यस्तो छ नेपाल र ओमनको विगत

अहिलेसम्म ओमन र नेपालबीच ५० ओभरको खेलमा ६ पटक भेट भएको छ । ६ खेलमध्ये नेपाल र ओमनले समान तीन/तीन खेलमा जित हात पारेका छन् ।

यी दुई देशबीच पहिलो भेट सन् २००२ जुलाई १२ तारिखमा एसीसी ट्रफिमा भएको थियो । जुन खेलमा नेपालले ओमनलाई ४८ रनमा अलआउट गर्दै १०५ रनको जित दर्ता गरेको थियो ।

सन् २०१० को एसीसी एलिट ट्रफिमा नेपालले ओमनलाई ६ विकेटले पराजित गरेको थियो । नेपाल र ओमनबीचको तेस्रो भेट सन् २०१३ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री मा भएको थियो । यो खेलमा पनि नेपालले ओमनलाई २८ रनले पराजित गरेको थियो ।

सन् २०१४ मा भएको एसीसी प्रिमियर लिगमा भने नेपाल ओमनसँग २ विकेटले पराजित भएको थियो भने २०१५ मा भएको एसोसिएट म्याचेसमा नेपाल ओमनसँग ३ विकेटले पराजित भएको थियो ।

ओमनसँग नेपाल अन्तिम पटक सन् २०१८ मा नामिवियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा ६ विकेटले पराजित भएको थियो ।

भारत र पाकिस्तानसँग खेल्ने मौका

छनोटको विजेताले १५ सेप्टेम्बरदेखि २८ तारिखसम्म युएईमा हुने एसिया कप खेल्न पाउने छ । छनोट प्रतियोगिताबाट छनोट भएको राष्ट्रले समूह ‘ए’ मा रहेको क्रिकेटको पावर हाउस मानिने भारत र पाकिस्तानको सामना गर्नेछ ।

नेपाल एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सपना बोकेर श्रीलंकाबाट मलेसिया सोमबार पुगेको छ । नेपाली क्रिकेट टिमले श्रीलंकामा करिब ७ साता लामो अभ्यास गरेको थियो । टे्रनिङकै दौरानमा नेपालले ३ अभ्यास खेल पनि खेलेको थियो । जसमा तीनै खेल नेपालले जित्दै उच्च मनोबलको साथमा मलेसिया पुगेको हो ।

आफ्नो पहिलो खेलमा नै ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा शुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ । त्यसो त पछिल्लो समयमा नेपालमाथि ओमन हावी भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment