Comments Add Comment

कपाल र फिल्म प्रमोसनको टेन्सनमा प्रदिप

नायक प्रदिप खड्का अहिले हतारमा छन् । आफू अभिनित चलचित्रका लागि २ महिना प्रमोशनको समय छुट्याउने गरेका प्रदिपसँग पछिल्लो चलचित्र ‘रोज’ को प्रमोसन गर्न एक हप्ता मात्रै समय छ ।

वुधबारदेखि प्रमोसनमा जुटेका उनले त्यसअघि पत्रकारहरुमाझ आफूलाई प्रस्तुत गरे । नायिकाद्वय मिरुना मगर र परमिता आरएल राणालाई सँगै राखेर उनी पत्रकारसँग गफिएका थिए ।

प्रदिपले केही समय चलचित्रका नायिकाद्धयलाई पर्खिनुपर्‍यो । उनले यो समयमा युटुबमा बन्न सक्ने सम्भावित हेडलाइन्सको बिषयमा समेत संचारकर्मीसँग मजाक गरे । छोटो समयमा चलचित्र बनेकाले पनि सञ्चारकर्मीलाई चलचित्रको बारेमा कन्भिन्स गराउन पनि उनले कसरत गरे ।
नायिकाद्वय आउनुअघि उनले थुप्रै पोजमा तस्बिर खिचाउन पनि भ्याइसकेका थिए ।

प्रचारको व्यवस्थापन आफै
नायक खड्का चलचित्रको प्रचारका लागि मोफसल दौडने तयारीमा थिए । प्रचारको सबै व्यवस्थापन गर्ने जिम्मा उनी आफैंले लिएका रहेछन् । त्यसैले बारम्बार उनको फोनको घन्टी बजिरहन्थ्यो । यति मात्र होइन, एउटा विज्ञापनको छायांकनका लागि पनि उनी हतार गर्दै थिए ।

टेन्सन कपालको पनि
प्रदिपलाई विज्ञापन, प्रचारको मात्र टेन्सन थिएन । आफ्नो कपाल बिगि्रएको विषयमा पनि उनलाई चिन्ता थियो । यसैले उनी आफ्नो आइफोनलाई ऐना बनाएर कपाल मिलाउनमा व्यस्त देखिए । बारम्बार कपाल विग्रिएकाले टेन्सन भएको उनले बताए ।

मिडियासँग कुराकानी
दुई नायिका आएपछि प्रदिप मिडिया कुराकानीमा व्यस्त भए । जिस्किने शैली भएकाले पनि उनी कहिले सबै मिडियाका बुम समातेर रमाइलो गर्थे त कहिले नायिकाहरुसँग गफिन्थे । उनले कुराकानीका क्रममा फरक कथामा चलचित्र गरेपनि दर्शकले आफूलाई रुचाउनेमा विश्वस्त रहेको धारणा राखे । साथमा उनी चलचित्रले नकारात्मक सन्देश नदियोस् भन्ने कुरामा पनि सजग देखिएका थिए । करिब २५ मिनेट उनी मिडियासँग गफिए ।

परमितासँग निकटता
कुराकानी पश्चात प्रदिप २ नायिकाको विचमा बसेर पोजमा तस्बिर खिचाउन व्यस्त देखिए । यो क्रममा उनको परमितासँग विशेष सामिप्यता देखियो । प्रदिपको कपाल मिलाउन परमिताले साथ दिएकी थिइन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment