Comments Add Comment

पोखरा उद्योग वाणिज्य संघको चुनावमा दलीय टकराब

१५ भदौ, पोखरा । पोखराका उद्योगी व्यवसायीका नेता चुनावी प्यानल तयार पार्ने अन्तिम कसरतमा छन् । पोखरा उद्योग वाणिज्य संघका उम्मेदवार बन्न लागेकाहरुले सामाजिक सञ्जालमा फोटो राखेर भोट दिन अपिल गर्न थालेका छन् । आँफुलाई भोट दिएर जिताए उद्योगी व्यवसायीकै पक्षमा लड्ने उनीहरुको भनाई छ । चुनाव अगावै उम्मेदवारका आकांक्षी र व्यवसायीका नेताका हातहातमा मतदाताका नामावली पुगिसकेको छ । उम्मेदवारीको टुंगो लागेकाहरु प्रचार सामाग्री छपाउन लागेका छन् ।

संघको महाधिवेशन मिति नजिकिँदै जाँदा व्यवसायीबीच चर्को राजनीतिक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।  ‘अनौपचारिक भेटघाट र मत माग्ने काम सुरु गरिसकेको छु, अब औपचारिक रुपमै भोलीपर्सीमै घरदैलोमा पुग्नुपर्छ,’ अध्यक्षका उम्मेदवार दामु अधिकारीले भने ।

अधिकारी संघको वर्तमान महासचिव हुन् । अध्यक्षका अर्का उम्मेदवार हुन, वर्तमान वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजू । ‘वरिष्ठ उपाध्यक्ष रोलक्रमले पनि अध्यक्ष त उठ्नैपर्ने परिस्थिति आयो । अब छिट्टै औपचारिक घोषणा गरेर प्रचारमा निस्कनुपर्छ,’ प्रजूले आफ्नो योजना सुनाए । प्रजू पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत हुन् ।  नेपाली कांग्रेसबाट वडाध्यक्ष बनेका प्रजू पार्टीको दबाबका कारण भन्दै वडामा कार्यावाहक अध्यक्ष तोकेर संघको अध्यक्ष बन्ने होडमा छन् ।

चुनावी मिति जति नजिक आइरहेको छ, उति नै व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ । असोज ५ र ६ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । संघको निर्वाचनमा यसपाली दुई प्यानल चुनावी मैदानमा होमिने पक्का भइसकेको छ । वामपन्थी र लोकतान्त्रिक खेमाका दुई प्यानल घोषणाको संघारमा छन् । तत्कालीन माओवादी र एमाले एकीकरणसँगै नेकपा समर्थितबाट अधिकारी नेतृत्वको प्यानल खडा हुने भएको छ । प्रजूको नेतृत्वमा लोकतान्त्रिक प्यानल घोषणाको अन्तिम तयारी हुँदैछ ।

औपचारिक घोषणा भइनसकेको भए पनि अधिकांश पदाधिकारीको टुंगो लागिसकेको छ । खुल्ला, उद्योग, कर्पोरेट र बस्तुगत संघतर्फबाट सदस्यका आकांक्षी बढिरहेका छन् । यसकोे टुंगो लगाउन व्यवसायी नेता अन्तिम कसरतमा छन् ।
दुवै प्यानलले निर्वाचन परिचालन समिति गठन गरेर चुनावको तयारीमा जुटेका छन् । २०११ सालमा स्थापना भएको पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको चुनावमा दलीय राजनीति सतहमै देखिएको छ ।

‘उद्योगीको निर्वाचन भनिए पनि यो दलीय चुनावजस्तो बन्यो । विशुद्ध उद्योगीलेभन्दा जुन दलले बढी प्रभाव जमाउन सक्छ, उसैले जित्ने देखियो,’ संघमा पदाधिकारीकै एक उम्मेदवारले भने, ‘यसपाली झन् संघमा चर्को राजनीति हुने भयो ।’
संघको अध्यक्ष दाबी गरिरहेका नारायण कोइराला लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिँदैछन् । संघको वर्तमान सदस्य यदु अधिकारी वामपन्थी प्यानलबाट चुनावी प्रतिस्पर्धी हुने छन् । लोकतान्त्रिक समर्थित भए पनि कोइराला यसअघिको संघको निर्वाचनमा अध्यक्षका स्वतन्त्र उम्मेदवार थिए ।

वर्तमान वाणिज्यतर्फकी उपाध्यक्ष विन्दु कोइराला यसपटक लोकतान्त्रिकबाट उद्योगतर्फको उपाध्यक्षको दाबेदार बनेका छन् । उनीसँग वर्तमान कार्यसमिति सदस्य गीता तिवारीले वामपन्थी प्यानलबाट प्रतिस्पर्धा गर्ने भएकी छन् । वर्तमान कोषाध्यक्ष पवन प्रजापतिले लोकतान्त्रिक प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वामपन्थी प्यानलबाट वर्तमान सदस्य देवकृष्ण काफ्लेले वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

वर्तमान उपमहासचिव अर्जुन पोखरेलले लोकतान्त्रिक प्यानलबाट महासचिवमा उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमिति सदस्य किसान सुनार वामपन्थी प्यानलबाट महासचिवको दाबेदार छन् । कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट सुरेन्द्र विजुक्छे र वामपन्थी प्यानलबाट प्रेम भुजेलबीच प्रतिस्पर्धा हुने भएको छ । दुवैजना वर्तमान कार्यसमिति सदस्य हुन् ।

उपमहासचिवमा व्युटिसियन चिनु गुरुङ र व्यवसायी सीता बरालबीच प्रतिस्पर्धा हुने भएको छ । गुरुङ लोकतान्त्रिक प्यानलबाट उपमहासचिवको दाबेदार बनेकी छन् भने बराल वामपन्थी प्यानलबाट उम्मेदवार बनेकी हुन् । दुबै जना वर्तमान कार्यसमिति सदस्य हुन् । संघको खुल्ला सदस्यमा १० जना, वस्तुगतबाट ४ जना, कर्पोरेटबाट २ जना, औद्योगिकबाट १ जना र ४ जना मनोनित सदस्य हुने छन् । सदस्यमा वामपन्थी प्यानलबाट डिबी भुजेल, सोभित पौडेल, तेजेन्द्र पौडेल, नारायण पौडेल, चन्द्रकिशोर गौतम, तारानाथ ढुंगाना, पवित्रा गुरुङ लगायतको नाम चर्चामा आएको छ ।

लोकतान्त्रिक प्यानलबाट मुना बास्तोला, वलराम आचार्य, रामेश्वर अधिकारी, ऋषिराम भण्डारी, रञ्जन न्यौपाने, केशव खत्री, शोभा गौतम, विनायक रञ्जित, कृतिवल्लव त्रिपाठी, दिनेश बास्तोला, कृष्ण रानाभाट लगायतको नाम सदस्यका लागि चर्चामा छ । यस्तै लोकतान्त्रिक प्यानलबाट उद्योगतर्फबाट सदस्यमा संगीता पौडेल र वुद्धिबहादुर गहतराजले आकांक्षा देखाएका छन् । कर्पोरेटतर्फबाट हरिहर सापकोटा, नीरज हर्कबहादुर अधिकारी, शिव श्रेष्ठ, तेजेन्द्र बास्तोला लगायत आकांक्षी छन् । संघमा ३ हजार ३ सय ७७ जना मतदाता छन् । साधारण सदस्य ३ हजार १ सय ७१ जना, कर्पोरेट सदस्य ६८ जना, औद्योगिक सदस्य १ सय १० जना र बस्तुगत सदस्य २८ जना छन् ।

संघमा पहिलो पटक विद्युतीय भोटिङ

संघमा पहिलो पटक विद्युतीय मतदान हुने भएको छ । पोखरामा यसअघि २०६५ सालमा भएको पहिलो संविधान सभाको उप–निर्वाचनमा विद्युतीय मतदान भएको थियो । त्योबाहेक पोखरामा विद्युतीय मतदान भएको छैन । प्रविधिको आत्मसात गर्दै छिटो र छरितो हुने भएकाले संघको निर्वाचनमा पहिलो पटक विद्युतीय मेसिनमार्फत मतदान हुन लागेको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले बताए । नेपालमै बनेको यो मेसिन काठमाडौंबाट ल्याउन लागिएको हो । यो मेसिनमार्फत नेपालमा ६८ वटा निर्वाचनमा मतदान भइसकेको संयोजक तीर्थले बताए ।

१८ इन्च लम्बाईका २२ वटा मेसिन निर्वाचनमा ल्याइने छ । तर, १८ वटा जति निर्वाचन प्रयोजनमा लगाइने छ भने बाँकी बाहिर निर्वाचन तरीका सिकाउनका लागि राखिने छ । पहिले अध्यक्षका उम्मेदवारको नाम आउँछ । आफुले मतदान गर्ने अध्यक्षको नाम वा फोटोमा छोएपछि मत जानेछ र क्रमश उसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष हुँदै सदस्यसम्म मत हाल्न सकिने छ ।

एउटालाई मत दिनु पर्नेमा अर्कोलाई पर्याे भने मेसिपनमा सच्याउने सुविधा छ । पहिले मत दिएकै नाम वा फोटोमा दोस्रो पटक छोएपछि त्यो मेटिने छ र आफुले जसलाई मत दिने फेरि उसैलाई दिन मिल्ने छ । मेसिनमार्फत मतदान सकिएको एक घन्टाभित्र सबै नतिजा आइसक्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment