Comments Add Comment

बच्चाहरुलाई ‘लभ’ होइन ‘माया’ गर्न सिकाएको हुँः विकास आचार्य

‘नाई नभन्नु ल’ सिरिजको पाचौं संस्करणलाई पनि दर्शकले ‘नाई’ भनेनन् । प्रदर्शनको पहिलो हप्तामा लगानी सुरक्षित गर्दै यो चलचित्र दोस्रो हप्तामा प्रवेश गरेको छ ।

नेपाली चलचित्रको घरेलु बजार डामाडोल अवस्थामा रहेको बेला ‘नाई नभन्नु ल ५’ ले एक हप्ताभित्रै लगानी उठाउन सफल भएको हो । निर्माता-निर्देशक विकास आचार्य दंग छन् । नहुन् पनि किन, उनले वर्षकै पहिलो हिट चलचित्र दिए ।

‘नाई नभन्नु ल’ नेपाली चलचित्र जगतमा एउटा सफल ब्रान्डका रुपमा स्थापित भइसकेको छ । त्यसैले चर्चित कलाकारहरु पनि यो ब्रान्ड जोडिन आतुर हुन्छन् । निर्देशक आचार्यलाई यसमा कुनै घमन्ड भने छैन । आफ्नो ब्रान्ड सफल हुनुको श्रेय उनी दर्शक र यससँग जोडिएका कलाकारहरुलाई दिन्छन् ।

यसरी जुर्‍यो नाम
‘नसिब आफ्नो’ फिल्ममा ‘नाई नभन्नु ल’ बोलको गीत समावेश थियो । सो फिल्मको निर्देशन गरिरहेका आचार्यलाई यो शब्दावलीले स्ट्राइक गरेको थियो । त्यतिबेलै उनले सोचेका थिए, ‘नाई नभन्नु ल’ नाम राखेर लभस्टोरी फिल्म बनाउने । आफ्नो योजना उनले नृत्य निर्देशक कविराज गहतराजसँग सेयर गरेका थिए ।

‘नाई नभन्नु ल’ निर्माण गर्दा यसलाई सिरिजको रुपमा लैजाने कुरा उनको कल्पनामा थिएन । जीवन लुईंटेल र ऋचा सिंह ठकुरीलाई लिएर बनाइएको फिल्म हिट भयो । करिब ८० लाखमा निर्माण भएको फिल्मले एक करोड ८० लाख कमाएको आचार्य बताउँछन् ।

व्यवसायिका रुपमा सबैभन्दा बढि मुनाफा गर्ने (प्रतिशतको आधारमा) ‘नाई नभन्नु ल’ नै हो अहिलेसम्म । यद्यपि, आत्म सन्तुष्टीका हिसाबले आचार्य पाँचौं चलचित्रलाई एक नम्बरमा राख्छन् ।

‘नाई नभन्नु ल ५ बाट मैले सर्वाधिक सन्तुष्टी पाएको छु,’ उनी भन्छन्, ‘यसकोे कथावस्तु, कलाकारहरुको अभिनय, गीतसंगीत सबै अब्बल छन् ।’

‘हामी आफ्नो टिमलाई परिवारको रुपमा लिन्छौं, सबैले अपनत्व महसुस गरेर काम गर्छों, सफलताको एउटा कारण यो पनि हो’ आचार्य भन्छन् ।

अनुभवको अनुभव र सेड्रिनाको प्रतिभा
‘नाई नभन्नु ल परिवार’ मा थुप्रै कलाकारहरु जोडिइसकेका छन् । यीमध्ये केही निरन्तर छन् । पहिलोदेखि पाचौं संस्करणसम्म नछुटेका एक मात्र पात्र भने बालकलाकार अनुभव रेग्मी हुन् । हरेक चलचित्रमा उनको भूमिका अहम् हुन्छ ।

अनुभवको अभिनयकै कारण आफूले हरेक चलचित्रमा दोहोर्‍याएको आचार्य बताउँछन् । ‘पहिलो चलचित्रबाटै उनले अभिनयमा परिपक्वता देखाए र तारिफ पनि पाए । त्यसैले नाई नभन्नु ल भन्ने बित्तिकै दर्शकले अनुभवको खोजी गर्छन् । उनी हाम्रो ब्रान्डको हिस्सा भइसकेका छन्,’ आचार्यले भने ।

आचार्यले अनुभवलाई ४ वर्षकै उमेरमा आफ्नो फिल्म ‘रिदम’ मा अभिनय गराएका थिए । अब त अनुभव अनुभवी पनि भइसके । उनलाई क्यारेक्टरमा भिज्न खासै समस्या नपर्ने आचार्य बताउँछन् ।

‘अनुभवलाई रिप्लेस गर्ने मैले अर्को बालक भेटेको छैन,’ उनले भने । चलचित्रमा अनुभवकी ‘प्रेमिका’ भने आचार्यले परिवर्तन गर्दै आएका छन् । पछिल्लो संस्करणमा सेडि्रना शर्मालाई लिइएको छ । र, उनको अभिनयको अत्यधिक चर्चा पनि भइरहेको छ । सेडि्रनाको आवाज आफैंमा विशेष छ ।

आचार्यको भनाईमा पनि उनले काम गराएका बालिकाहरुमध्ये सेड्रिना सबैभन्दा प्रतिभाशाली हुन् । चलचित्रमा अभिनय गराउनुअघि उनले सेड्रिनालाई कान्तिपुर फिल्म एकेडेमीमा एक महिना प्रशिक्षण गराएका थिए ।

‘उनलाई अभिनय गराउँदा मैले कहिले पनि नयाँ बालिकालाई अभिनय गराएको जस्तो असहज अनुभव गरिनँ, एकपल्ट भनेपछि उनले कुरा बुझिहाल्छिन्, उनको अभिनयले यो चलचित्र चम्किएको छ,’ आचार्य भन्छन् ।

नाई नभन्नु ल ५ मा दर्शकले सबैभन्दा बढि सेड्रिनाकै अभिनय मन पराएको उनले बताए ।

आमा प्रियंका र फुपु केकी
नाई नभन्नु ल २ मा आचार्यले त्यतबेला सर्वाधिक चलेकी नायिका प्रियंकाकार्कीलाई आमाको भूमिकामा अफर गरे । राम्रो ब्रान्डका लागि जस्तो भूमिका गर्न पनि तयार हुने प्रियंकाले स्वीकारिन् । नायिकामा चलिरहँदा चरित्र अभिनेत्री बन्न तयार भएको भनेर प्रियंकाको आलोचना पनि भयो । तर, आचार्य भने ‘नाई नभन्नु ल’ मा काम गरेर प्रियंकाले आफ्नो करिअर बुस्ट गरेको दावी गर्छन् ।

‘आमाको भूमिका गरेर पनि उहाँलाई फाइदा भएको छ जस्तो लाग्छ,’ आचार्य भन्छन्, ‘उहाँको नामबाट हामीले पनि फाइदा लिएका छौ ।’ आचार्यले प्रियंकाको अभिनय आफैंमा पूर्ण रहेको र खासै सिकाउनु नपर्ने बताए ।

‘नाई नभन्नु ल ५’ मा नायिका केकी अधिकारी पनि जोडिएकी छन् । वर्षा राउत र वर्षा शिवाकोटीले अस्वीकार गरेको अनुभवकी फुपुको भूमिका उनले स्वीकारेकी थिइन् ।

केकीका बुवा बद्री अधिकारीसँग आचार्यको पहिलेदेखि नै राम्रो सम्वन्ध थियो । आचार्यले केकीलाई ‘नाई नभन्नु ल’ बाट डेब्यू गराउन चाहेका थिए । तर, केकी ‘स्वर’ मा अनुवन्धित भइसकेकी थिइन् । त्यसैले त्यतिबेला जुरेन । नाई नभन्नु ल-३ मा पनि आचार्यले केकीलाई अफर गरे । तर, केकीले त्यसमा पनि समय निकाल्न सकिनन् ।

अन्ततः ‘नाई नभन्नु ल ५’ मा उनले काम गरिन् । यो चलचित्रमा केकीको भूमिका बलियो नै देखिएको छ । आचार्यको भनाईमा केकीले गर्दा पनि यो चलचित्रमा दर्शकको चासो बढेेको छ ।

दुई वर्षासित गुनासो छैन
वर्षा राउत र वर्षा शिवाकोटीले ‘नाई नभन्नु ल ५’ को अफर रिजेक्ट गरेको विषयले निकै चर्चा पायो । जबकि दुवै नायिकालाई निर्देशक आचार्यले नै ब्रेक दिएका हुन् । शिवाकोटीले ‘नाई नभन्नु ल २’ मा सानो भूमिका गरेकी थिइन् भने राउतले ४ मा अभिनय गरेकी थिइन् । दुवै नायिकालाई म्युजिक भिडियोबाट मन पराएर आचार्यले फिल्ममा लिएका थिए ।

आफैंले ब्रेक दिएका नायिकाले अफर रिजेक्ट गर्दा उनलाई कस्तो लाग्यो ? ‘यसमा मैले दुखी हुनुपर्ने कारण छैन,’ आचार्य भन्छन्, ‘फिल्म गर्ने नगर्ने उहाँहरुको स्वतन्त्रताको कुरा हो । मैले ल्याएको भन्दैमा मेरो अफर स्वीकार्नैपर्छ भन्ने छैन । उहाँहरुले काम नगरेर मसँग सम्वन्ध बिग्रेको पनि छैन ।’

दुवै नायिकाले भूमिका चित्त नबुझेर फिल्म नगरेको चर्चा भए पनि विकासले भने समय अभावका कारण काम नगरेको हुन सक्ने बताए ।
‘उहाँहरु दुवै यतिबेला व्यस्त नायिका हुनुहुन्छ, मेरो चलचित्रका लागि समय निकाल्न सक्नुभएन होला’ उनले भने ।

दुवै नायिका प्रतिभाशाली भएका भन्दै आचार्यले नेपाली चलचित्रमा उनीहरुको भविष्य सुखद रहेको विश्वास व्यक्त गरेका छन् ।

निरुता र दिलिपको इन्ट्री
‘नाई नभन्नु ल ५’ मा विकासले दुई पुराना नायक नायिकालाई पनि स्थान दिए । दिलिप रायमाझी र निरुता सिंह एकताकाका टप हिरो-हिरोइन भए पनि पछिल्लो समय उनीहरु साइडलाइनमा थिए ।

निरुतालाई लिनुको कारणबारे आचार्य भन्छन्, ‘हामी अनुभवकी आमाको भूमिकामा एकजना निखारिएकी कलाकार खोजिरहेका थियौं । संयोगले निरुता सिंह त्यति नै बेला एउटा अवार्ड समारोहमा भाग लिन नेपाल आउनुभयो । हामीले उहाँलाई अफर गर्‍यौं र उहाँले स्वीकार्नुभयो । उहाँजस्तो उच्चस्तरको अभिनेत्रीलाई लिन पाउँदा हामी खुशी छौ ।’

दिलिपले भने केही अघिदेखि आचार्यलाई आफू उनको टिममा जोडिने इच्छा व्यक्त गरिरहेका थिए । ‘यो चलचित्रमा उहाँलाई फिट हुने रोल निस्कियो, त्यसैले लिएको हुँ,’ आचार्यले भने ।

अभिषेक र स्वस्तिमाको भविष्य
‘नाई नभन्नु ल ५’ मा आचार्यले अभिषेक नेपाललाई ब्रेक दिएका छन् । उनी कान्तिपुर फिल्म एकेडेमीका उत्पादन हुन् । अभिषेकको भविष्य उनको आफ्नै मिहिनेतमा भर पर्ने आचार्य बताउँछन् ।

‘मैले उनलाई अवसरको ढोका खोलिदिएको छु, अब आफूलाई कसरी अगाडि लैजाने भन्ने उनकै हातमा छ,’ आचार्यले भने । स्वस्तिमा भने पहिल्र्य स्थापित नायिका हुन् । नेपाली चलचित्रमा उनको भविष्य उज्ववल रहेको आचार्य बताउँछन् ।

बालबालिकाको प्रेम र विवाद
नाई नभन्नु ल देखि नाई नभन्नु ल ५ सम्ममा आइपुग्दा आचार्यले बालक र बालिकाको प्रेमलाई मुख्य विषय बनाइरहेका छन् । अवोध बालक र बालिकालाई प्रेमी-प्रेमिकाका रुपमा देखाएर चलचित्रले नकारात्मक सन्देश दिइरहेको आरोप लाग्ने गरेको छ । साना बच्चालाई ‘लभ’ र ‘रोमान्स’ गर्न प्रेरित गर्ने निर्देशकको ट्याग उनले पाएका छन् ।

‘पहिलोपटक त मलाई पनि अलि डर लागेको थियो, समाजले पचाउन सक्दैन कि भन्ने । तर, नाई नभन्नु ल दर्शकले मन पराउनु भएपछि म यही विषयमा अल्भिmएँ,’ आचार्यले भने ।

बाल्यकालमा उनले रमेश विकलको ‘मधु मालती’ कथा पढेका थिए, जसमा बाल्यावस्थाको प्रेम वर्णन गरिएको थियो । त्यो कथाको छाप आफूमा पछिसम्म रहेको र त्यसैले यो विषयवस्तुमा चलचित्र बनाउन प्रेरित गरेको आचार्य बताउँछन् ।

उनले चलचित्रले बच्चाहरुलाई युवा-युवतीको जस्तो ‘लभ’ होइन ‘माया’ गर्न सिकाएको दावी गरे । ‘यसले बच्चाहरुलाई कस्तो पारिवारिक माहोल दिनुपर्छ भन्ने सन्देश पनि दिन्छ,’ उनले भने ।

सिक्वेल कहिलेसम्म ?
नाई नभन्नु ल को सिलसिला कहिलेसम्म ? यो प्रश्नमा आचार्य पनि प्रष्ट छैन । तर, नाई नभन्नु ल ६ भने पक्कै बनाउने छन् उनले ।
‘यो सिलसिला कहिलेसम्म जान्छ भन्न सक्दिन,’ उनी भन्छन्, ‘दर्शकले जहिलेसम्म रुचाउनुहुन्छ तबसम्म मैले बनाउनैपर्छ । तर, मलाई लाग्दैन कि अब यो धेरै श्रृंखलासम्म जाला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment