+
+

गन्धर्व जातिको व्यथाः सारंगीको कथा !

डीबी नेपाली डीबी नेपाली
२०७५ भदौ १८ गते ११:२५

गन्धर्व अर्थात गाइने जाति नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाति हो । यो जातिको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौर भएता पनि अन्य विभिन्न जिल्लाहरु जस्तै, तनहुँ, लम्जुङ्ग, गोर्खा, चितवन, वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर, दाङ तथा जाजरकोट गरी नेपालको झण्डै ६९ जिल्लाहरुमा गन्धर्व जातिको बसोबास रहेको पाइन्छ ।

हाल नेपालको जनसंख्या झन्डै तीन करोड छ । नेपालका १२५ जाति मध्ये गन्धर्व जाति पनि एक हो । वि.सं. ०५८ सालको जनगणनानुसार गन्धर्वहरुको मात्रै ५ हजार आठ सय ८७ रहेको छ । अर्थात, नेपालको कूल जनसंख्याको ०.२१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

वि.सं. २०६८ सालको जनगणना अनुुसार गन्धर्व जातिको जनसंख्या ६ हजार सात सय ९१ छ । यसमध्ये कास्कीमा ६ सय २४ जना छन् । कास्कीमा मात्रै १२४ घरधुरीमा ६५ वटा त पोखराको बाटुलेचौरमा छन् । यो जातिको मुख्य बासस्थान कास्की जिल्ला हो भने बाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर तथा जाजरकोटमा पनि यिनीहरुको वसोबास रहेको पाइन्छ ।

नेपाली लोकसंगीत र रंमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धन र विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन सारंगी पनि एक हो । नेपाल एक वनजङ्गल भिरपाखा र खोलानालाले ढाकिएको देश हो । यहाँ आफ्नै प्रकारका स्थानीय क्रन्दन र सुसेलीहरु पाइन्छन् ।

विविध जातजाति तथा गाँउघरले भरिएको र विविध रीतिपरम्परा रहेको यो सुन्दर देशलाई आफ्ना पाईतलाले नाप्दै, यिनै जातजाति, वनजङ्गल, भीरपाखा, र खोलानालासँग मितेरी लाउँदै नेपालका लोक गीत-संगीत, लोक जीवन र लोक सँस्कृतिलाई गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा गन्धर्व जातिको सहभागिता रहेको पाइन्छ ।

नेपाल एकीकरणको समयका हिरादेवी गाइने, मणिराम गाइने, बखतवीर बूढापृथी लगायतको योगदान र पछिल्लो समयमा ०६२/६३ को जनआन्दोलनमा बालकलाकार रुविन गन्धर्वले खेलेको भूमिका महत्वपूर्ण छ । समग्रमा नेपाली कला र संगीतको मूल आधार नै दलित समुदायले धानेका छन् । तर, नेपालको विभिन्न भूगोलमा अवस्थित आम दलितहरुबीच भएका कला संस्कृतिहरु आधुनिकतासँगै भूमण्डलीकरणको प्रभाव तथा जातीय विभेदका कारणले विस्तारै छायाँमा परिरहेको छ ।

वीरताका गाथा, कर्खा, घटना, ठट्यौली तथा मनोरञ्जन र लोकगीतलाई मूर्त रुप दिई सजीवता प्रदान गर्ने गन्धर्वहरु नै हुन भन्ने कुरामा दुईमत छैन । प्रारम्भिक चरणमा गन्धर्वहरु धार्मिक गीत (भजन कीर्तन) र विरताका गाथा गाउँदै आएको पाइन्छ ।

आज आएर लोकगीतलाई (स्थानीय गीत) स्थायित्व गराई पेशाको रुपमा अपनाउँदै आएका छन् । यिनै लोकस्रष्टाका प्रेरणाबाट आजकल अन्य जातिले पनि सारंगी बजाउने र बनाउने गरेको पाइन्छ । यस्तो विषम परिस्थितिलाई मध्यनजर गरी लोपोन्मुख गन्धर्व जातिमा रहेको मौलिक लोक तथा परम्परागत गीत, नाच, भाषा, सँस्कृति, नाटक र वाद्यवादनका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने गन्धर्व जातिका परम्परागत सीप र कौशललाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले यो लेख तयार गरिएको छ ।

गन्धर्व जातिको नामकरणको इतिहास

नेपालमा गाईने शब्द गायकको सट्टा यसरी प्रचलनमा आइसक्यो कि त्यो सबैको जिब्रोबाट फुस्किइहाल्छ । वि.संं २००७ सालको परिवर्तन पछि पनि यिनीहरुलाई गाइने नै भनियो । नेपालमा कथित मुलुकी ऐन लागू भएपछि मात्र यिनीहरुप्रति केही ध्यान गएको पाइन्छ ।

परम्परागत रुपमा गाईनेको सम्मानसूचक शब्द मिजार थियो । मिजार शब्दले जातिगत रुप दर्शाए पनि गन्धर्व शब्दले गाउने र बजाउने पेशा लिएका जन्मजात कलाकार भन्ने बुझाउँछ । यसर्थ, आज सम्मानजनक रुपमा गन्धर्व भनी सम्वोधन गरिनु न्यायसंगत देखिन्छ ।

डीबी नेपाली

चार वेदमध्ये सामवेदलाई सामगान पनि भनिन्छ । सामवेदमा पाँचै स्वर मात्र प्रयोग हुन्थे । वेदपछि विस्तारै गान्धर्व शैलीको संगीत विस्तार हुन थाल्यो । यसका प्रयोक्ता नारद, तुम्बुरु, विश्वावसु, चित्रसेन र अरु गन्धर्वहरु मिली अर्को एउटा गान्धर्ववेद खडा गरे । जसलाई पञ्चम वेद वा उपवेद पनि भनिन्छ । चार उपवेदमा गान्धर्ववेद प्रमुख मानिन्छ । यसैले सामगान पछि गान्धर्ववेदलाई गन्धर्व गान भन्न थालियो देवता र गन्र्धवले मात्र गाउने भएकाले यसलाई मार्ग अर्थात् अध्यात्म-संगीत पनि भनिन्छ । शास्त्रीय-संगीतलाई आज पनि वैदिक संगीत भन्ने गरिन्छ ।

धर्मग्रन्थहरुमा गन्धर्व जातिलाई गायक मानिएको छ । पछिका संगीत शास्त्रहरुमा पनि गान्धर्व गान र गान्धार ग्रामको उल्लेख भएको पाइन्छ । संगीत वर्णमालाको तेस्रो स्वर “ग” लाई संगीत शास्त्रानुसार गान्धार ग्राम नारद, तुम्बरु आदिले बाहेक मनुष्यले गाउन नसक्ने भएकाले हाल गान्धार ग्राम लोप भएको छ । यी सबै शास्त्रीय प्रमाणहरुबाट के भन्न सकिन्छ भने गाउने जातिको सोझो सम्बन्ध जति गन्धर्व शब्दमा प्रतिबिम्बित हुन्छ, त्यति अरु शब्दमा भएको पाइँदैन । यसैले शास्त्रका प्रमाणहरु, हाम्रा सांस्कृतिक परम्परा र उनीहरुको आजसम्मको संस्कारले पनि गाईनेलाई गन्धर्व नामले चिनाउनु उपर्युक्त देखिन्छ ।

इतिहासको विभिन्न कालखण्डमा पनि सोझै गाइने शब्दको प्रयोग गरिएको पाइँदैन । यसको सट्टामा अरु नै शब्दको प्रयोग गरिएको पाइन्छ । पृथ्वी मल्लको शाके १२७९ को दुल्लु कोटिस्तम्भको अभिलेखमा सबै कर माफ गरिएको जातहरु मध्ये “गायन” को पनि उल्लेख भएको छ ।

गायन शब्दले गायनकलासँग सम्बद्ध जातिलाई जनाउँछ । यसैगरी जयस्थिति मल्लको अभिलेखमा पनि गायन शब्द कुँदिएको छ । यसले पनि गाउने पेशाको कुनै जातलाई जनाउँछ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा लँडाईका सामग्री फिरिस्तमा गाइनेको नाम र संख्या पनि किटिएको पाइन्छ ।

नुवाकोटको पहिलो हमलामा सारा गोर्खाली भारदारहरु सहित मनिराम गाईनेको नाम पनि आएको छ । यसबाट थाहा हुन्छ कि गन्धर्व (गाइने) जातिले पनि नेपाल राष्ट्रिय एकीकरण र त्यस पछि पनि राष्ट्रिय एकता र सद्भाव कायम राख्नमा आफ्नो अमूल्य योगदान राष्ट्रलाई समर्पण गरेका थिए ।

सारंगीको मीठो सुरमा सवाई गाएर अन्य राज्यमा गोर्खाली राजाको कीर्ति फैलाउने गाईनेहरु प्रचारका ठूला साधन थिए । त्यसैले गाइनेको कदर थियो, मान थियो, व्यवस्था थियो । प्रधानमन्त्री माथविर सिंहसम्मले आफ्नो निजी गाइने राखेको विवरणबाटै गाइनेको त्यसबेला के स्थान थियो, सो थाहा हुन्छ ।

पछिसम्म पनि वीरगञ्जका भाँड (भाट) हरुले हरेक वर्ष नयाँ धुनको गाना रच्ने र गाइनेहरुले सारंगीमा धुन उतारेर गाउने चलन थियो ।

लोकगीतको प्रबन्ध गीतको पहिलो खुड्किला चढेको यस गीतिकाव्यको अग्रदूत आज बिलाउँदै गएको छ । पर्यटकलाई देखाउन र सुनाउन पनि आफ्नो परम्परागत बाजा सहजै उपलब्ध नभएर विशेष मिहिनेतसाथ खोजेर ल्याउनुपर्ने अवस्थामा पुगिसक्यो ।

गन्धर्व भाषा

गन्धर्व जातिको आफ्नै मौलिक भाषा पनि रहेको छ । जुन भाषा आजसम्म पनि प्रयोगमा रहेको पाइन्छ । तर, थप खोज अनुसन्धान तथा संरक्षणको अभावमा लोप भैसकेको अवस्था छ ।

गन्धर्व जातिको आफ्नै संगीत पिङगुल स्वर लिपी पनि रहेको छ । जुन लिपीमा लेखिएको पुस्तकहरु पढ्न सक्ने कोही पनि अग्रजहरु अब जीवित हुनुहुन्न । केही वर्ष अघिसम्म गोर्खामा एकजना रहनुभएको कुरा थियो । गन्धर्वहरुद्वारा बोलिने भाषाको केही मौलिक नमूना शब्दहरु :

नेेपालको तहगत जातीय संरचनाको भाष्यमा फसेका गन्धर्व जातिमाथि समाजशास्त्रीय अध्ययनमा समेत विभेद गरिएकाले भाषाशास्त्रीको नजरमा समेत पर्न सकेका छैनन् । उनीहरुको भाषामाथि गहन अध्ययन अनुसन्धानमा राज्यको ध्यान जान सकेमा गन्धर्व जातिले समेत बिर्सिएको र लोप भैसकेको भाषा जीवित रहने थियो ।

मौलिक चाड

अन्य जातिको जस्तै गन्धर्व जातिको आफ्नै मौलिक चाडबाड रहेको पाइन्छ । संगीत संस्कृतिमा धनी यो जातिको जन्मदेखि मृत्युसम्म संगीतमय हुने आफ्नै केही मौलिक चाड पनि रहेको पाइन्छ ।

नागपञ्चमी र सरस्वती पूजाको दिन पुर्ख्यौली मौलिक लोकबाजा सारंगीको पूजा गरी नाचगान गर्ने, रमाउने, मीठो मसिनो खाने, आफन्तकहाँ जाने, भेटघाट गर्ने खुशी साट्ने गर्दछन् ।

हिन्दू धर्मबाट प्रभावित गन्धर्व जाति माईदेवी, चण्डीपार्वती र सरस्वतीको पूजा गर्दछन् । महादेव गणेश नागपञ्चमी र सत्यनारायणको पूजा गर्छन । अकालमा मृत्यु भएकाहरुको मुक्तिको लागि खोलाको तीरमा गएर वायुको पूजा गर्छन् ।

आदिम सञ्चारकर्मीका रुपमा गन्धर्वः जुन समय नेपालमा सूचना आदान-प्रदानका लागि भरपर्दो कुनै पनि माध्यमको विकास भएको थिएन । सो समयमा टेलिफोन, टेलिभिजन, रेडियो आविष्कार र विकास भएकै थिएन । त्यतिबेला देशका कुनाकाप्चा, गाँउघरका घर, आँगन दैलो-दैलोमा राष्ट्र र राष्ट्रियताको सन्देश सुनाउने यिनै गन्धर्व जाति थिए ।

सुख-दु:खका खबरबाहक र परी आएमा राष्ट्रका लागि मरिमेट्न तयार पार्न यिनै गन्धर्वले भूमिका खेल्थे । राष्ट्रभक्ति र सुषुप्त वीरतालाई जगाई रणसंग्राममा जान उद्यत बनाउँथे । एक गाउँको भलाकुसारी अर्को गाउँमा पुर्‍याउँथे ।

टिस्टादेखि पश्चिमकिल्ला काँगडासम्म पनि देश र जनताको प्रतिनिधि भई यिनै गन्धर्व गाउँदा-गाउँदै पुग्थे । स्वदेश वा विदेश जहाँँ पुगे पनि नेपाल र नेपालीको सुख-दुख, आँशु हाँसो,पीर व्यथाका भाव पोख्दै आफ्नो मातृभूमिको महिमापूर्ण गीत बिर्सदैनथे, नेपालका यी मूलवासी सांगीतिक जाति गन्धर्व ।

गीत संगीतका सर्जकः नेपाली गीत संगीतको विधा गायन, वादन र नर्तनमा गन्धर्व जातिहरुको ठूलो योगदान रहेको विदितै छ । आफ्नो जीवनलाई गायनको साधन मानेर यसलाई यिनीहरुले समर्पित भावले अपनाएका छन् ।

गन्धर्वहरुको पुर्ख्यौली कलालाई ब्राम्हणवादी कोणले हेयको दृष्टिले हेरिए पनि वास्तवमा नेपाली गीत संगीतको श्रीवृद्धिमा गन्धर्वहरुको ठूलो सांगीतिक पृष्ठभूमि र परम्परागत आधार रही आएको छ । जन्मजात नशा-नशा, रगत-रगतमा सानैदखि उनीहरु गाउन र बजाउन सिक्छन् । चार पाँच वर्षको अभ्यास पछि उनीहरु आफ्नो कलाकारिता प्रदर्शन गर्न समर्थ भैसक्छन् । बिहान, दिउँसो, साँझदेखि फरक-फरक ऋतुका फरक-फरक सारंगीका धुनहरुले प्रकृतिलाई नै संगीतमय बनाइदिन्छ ।

आफ्नै भाका र भेष, आफ्नै लोक संगीतको चोखो शैली यिनीहरुले आजसम्म कायम राख्दै आएका छन् । यिनीहरुले कतिपय अलिखित इतिहास र वंशावली उनीहरुका कण्ठमा मौखिक सम्पदाको रुपमा सुरक्षित राख्दै आएका छन् । यसरी लोक संगीत र नेपाली मौलिक सँस्कृति बचाई राख्नमा गन्धर्व जातिको ठूलो योगदान रहेको छ ।

विशिष्ट गायन शैलीः गन्धर्व जातिमा कुनै पनि गीत गाउन सक्ने विलक्षण प्रतिभा रहेको हुन्छ । तर, उनीहरुको ऐतिहासिक विशेषताले भरपूर गीत हो- वीरगाथा “कर्खा” ।

कर्खा गन्धर्वहरुले मात्रै गाउने वीरहरुको गाथा हो । कर्खा गोर्खाका संस्थापक द्रव्य शाहदेखि राष्ट्रपिता त्रिभुवनसम्मको गाइएको पाइन्छ । यसैगरी, अरु गोर्खाली वीरहरुका पनि कर्खा चलेका छन् । पृथ्वीनारायण शाहको वीरगाथा कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासे गीत, घटनाप्रधान गीत, ठट्टा, रमाईलो प्यारोडी गीत, झ्याउरे ठेट लोकगीत, लाहुरेको सन्देश र डाँफे र मुरली चराको गीत गन्धर्व जातिको मौलिक सिर्जना पनि हो ।

कास्की, पोखरा, बाटुलेचौरका गन्धर्वहरुले हिमालको डाँफे र तराई/मधेसको मुरली चरीको विवाह गराएर कर्खा रचेका छन् । अतः डाँफे र मुरलीको कर्खा हिमाल, पहाड र तराई/मधेसको भावनात्मक एकताको प्रतीक पनि हो । किनभने धोती पनि हाम्रै हो, टोपी पनि हाम्रै हो । धोतीले हाम्रो लाज छोप्छ, टोपीले हाम्रो सान बढाउँछ । धोती न टोपी भयो भने हामी कंगाल हुन्छौं भन्नुहुन्छ वरिष्ठ संस्कृतिविद जगमान गुरुङ ।

गन्धर्व जातिको आफ्नै मौलिक नाच-संस्कृति पनि रहेको पाइन्छ । जसलाई छोटकरीमा तल चर्चा गरिएको छ ।

१) जैलपत्ता नाचः यो नाच नाँच्दा “रामुन्नचल्यो बच्छै” बोलको गीत गाइन्छ । विशेष चाडपर्व, विवाह, अवसरहरुमा र माघ महिनामा पर्ने सिरा पञ्चमीमा नाच्ने गरिन्छ । यो नाचमा विशेष पोशाक लगाउने गरिन्छ । सेतोमा कालो कोठे रंगको दौरा सुरुवाल लगाइन्छ । सेतो फेटा, ढाकाको टोपी, सेतोमा कालो कोठे गाडो यसलाई घाँटीमा झुन्ड्याईन्छ । कम्मरमा सेतो पटुका बाँधिन्छ । तीनदेखि सात जनासम्मको समूहमा हातमा तरवार वा ढाल अरबाजो, सारंगी लिएर दाँया-बाँया घुम्दै फूर्तिसाथ खाली खुट्टाले नै यो नाच नाच्ने गरिन्छ ।

२) झाउँर्या नाचः घुमफरिको क्रममा गन्धर्व र वादी जातिले यो नाच नाच्ने र विकास गरिएको पाइन्छ । यस नाचमा मादल र सारंगी मुख्य बाजा हो । यो नाच गन्धर्व र वादीले नाचे पनि पछिल्लो कालमा दमाई, कामी, सार्की, कुलाला र हुड्क्याहरु पनि सक्रिय भएको पाइन्छ ।

अन्य समुदायको घरमा विशेष, अवसर, चाडपर्वमा आमन्त्रण गरी नाचको पनि आयोजना गर्ने गरिन्छ । यो नाचमा पुरुषले महिलाको गरगहना र पहिरण लगाएर सिंगारिएका हुन्छन् र तिनीहरु हाँस्य र व्यङ्गयकारको रुपमा पनि देखिन्छन् ।

यस नाचका नर्तकको गोडामा चाँप (चुटुकी) लगाइएको हुन्छ । गन्धर्व र वादीबाहेक हिजोआज क्षेत्री ठकुरीहरुले पनि यो नाच नाचेको पाइन्छ ।

अब यहाँ गन्धर्व जातिले प्रयोग गर्ने केही बाजाहरुबारे चर्चा गरौं

अरबाजो

सारंगीको पुरानो रुपलाई नै अरबाजो भनिन्छ । यसलाई भालेस्वर बाजा र सारंगीलाई पोथीस्वर बाजा भनिन्छ । विशेष प्रकारको धुन निकालेर काख माथि राखेर बजाइने गरिन्छ । काठको टुक्राले तारमा हानेर बजाईने गरिन्छ । यो बाजा गन्धर्व जातिको सबैभन्दा पुरानो बाजा हो । सारंगी भन्दा जेठो बाजा हो यो । यो बाजा एउटै काठको टुक्राबाट बनाइन्छ । यसको घाँटी लामो हुन्छ । त्यसको तल्लो भागमा बाख्राको छालाले मोडिएको हुन्छ । यसमा चारवटा तार हुन्छन् ।

अरबाजो तिबेटियन टुंङनासँग धेरै मिल्दोजुल्दो हुन्छ । पोखराका स्व. मोहनबहादुर गन्धर्व कुशल अरबाजोबादक हुनुहुन्थ्यो । पूर्खाको मृत्युसँगै यो बाजा बजाउने पुस्तासमेत लोप भैसकेका छन् । हिजोआज यो बाजा प्रयोगमै आउन छोडिसकेको छ ।

सारंगी

पौराणिक लोकमतका अनुसार सारंगीको उत्पतिकाल वैद्धिक काल भन्दा अघि मानिएको छ । सारंगीको आकार निर्माण चाँहि घोडाको शरीरबाट भएको पाइन्छ । गोर्खाका गायक पूर्णबहादुर गन्धर्वका अनुसार यथार्थमा सारंगीको बनावट घोडाको शरीरबाट भएकाले यसको अंगको नाम पनि घोडाको झै टाउको, गाला, करङ, लगाम, पेट, (पुची) घोडी नामकरण गरिएको छ ।

सारंगीका अंगहरुमा सबैभन्दा माथिल्लो भाग कलश हो भने तार कस्नेलाई मूर्रा भनिन्छ । अन्य भागमा गलो, लोती, धनु, कम्मर, चाँप आदि हुन् ।

र्‍याइँ-र्‍याइँ रेट्नलाई काठको धनुमा बाँधिने वस्तु सक्कली घोडाकै पुच्छरबाट जडान गरिएको हुन्छ । जडान गरिएको तार पनि घोडाकै आन्द्राबाट तयार गरिएको हुन्छ । तर, हिजोआज घोडाको आन्द्रा दुर्लभ भएकाले खसी बोकाको आन्द्रा वा प्यारासुटको धागोबाट काम चलाइन्छ । सारंगीको काठ भने दूधे खिर्रो, टुनी, पैयूँ, ओखर र आँपबाट पनि निर्माण गरिन्छ ।

नेपालमा तीन प्रकारका सारंगी पाइन्छन् । ढोड सारंगी (घोर), मझौला सारंगी र टीप सारंगी (तार) । सात स्वर (सरगम) को प्रथम मूलस्वर सा (षडज) को रङ दिने र रञ्जकता पैदा गर्ने भएकाले सारंगी नाम रहेको पनि विश्वास गरिएको छ ।

सारङ चरा (रुपी) को जस्तो सुमधुर आवाज दिने भएकाले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । शुरुमा सारंगीको १ तार हुन्थ्यो । पछि ३ तारबाट पनि ४ तारमा विकसित भएको छ ।

निष्कर्ष तथा सुझाव

कला कौशल, सीप-प्रविधि र सिर्जनशीलतामा राष्ट्रियस्तरमै अब्बल भएजस्तै सांस्कृतिक रुपमा पनि गन्धर्व जाति अगाडि नै रहेका छन् । तर, नेपालको तहगत विभेदपृ्र्ण जातीय संरचना, अज्ञानता, आफनो कला संस्कृति संरक्षणप्रति चेतनाको अभाव, गहिरो खोज अनुसन्धानको कमी, सँस्कृतिको संरक्षणमा राज्यको उदासीनताले गर्दा गन्धर्वजातिको मौलिक लोकसंस्कृति लोप हुने अवस्थामा पुगेको छ ।

अहिलेसम्म पनि अपेक्षाकृत उनीहरुको विशिष्ट कलासंस्कृतिको अध्ययन अनुसन्धान हुन सकेको छैन । त्यसको विस्तृत अध्ययन अनुसन्धान र खोजविन गर्नुपर्ने खाँचो अहिलेसम्मको स्थितिले पुष्टि गरेको छ । जातीय विभेदका कारणले गर्दा नै आज गन्धर्व जातिको मौलिक जातीय कलासंस्कृति लोप भैरहेको अवस्था छ ।

लोपोन्मुख गन्धर्व जातिमा रहेको मौलिाक लोक तथा परम्परागत गीत, नाच, भाषा, संस्कृति, नाटक र वाद्यवादनको अभिलेखीकरण, संरक्षण, सम्वर्द्धन र विकास हुन सकेको छैन । गन्धर्व जातिका नयाँ पुस्तामा समेत आफ्नो जातिय लोक संस्कृति प्रति विकर्षण बढ्दै गएको पाइन्छ । अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा राज्यको उदासिनता, समुदायमा आर्थीक अभाव, जातिय भेदभाव, विश्वव्यापीकरणको प्रभाव, वैदेशिक रोजगारी, शिक्षा र चेतनाको कमि, र गन्धर्व कला संस्कृतिलाई सम्बन्धित समुदायमा राज्यले जिविकोपार्जन सँग नजोडिदिँदा गन्धर्व जाति र संस्कृति नै लोप हुने अवस्थामा रहेको छ ।

गन्धर्व जातिमा मात्रै प्रचलनमा रहेको सारंगीका लोपोन्मुख राग/धुनको अनुसन्धान गरी श्रब्य, दृष्य छायांकन गरी त्यसलाई प्रकाशन समेत गरी अभिलेखीकरण गरिनुपर्छ । यसले आम गन्धर्व जातिको बौद्धिक अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको सुनिश्चितता गर्छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा विकास गराउन सक्छ । यसबाट गन्धर्व जातिको मौलिक सीप, कला र पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्नुका साथै सांस्कृतिक धरोहरहरूको संरक्षणमा नयाँ पुस्ताको सहभागिता बढ्ने छ । जस्तै, संगीत संस्कृतिको हिसाबले नेपाल मात्रै नभएर विश्वकै लागि अमूल्य रहेको सारंगीलाई विश्वसम्पदा सूचीमा सूचीकरण गर्न सकिन्छ ।

सरकारले स्थापना गरेका विभिन्न एकेडेमीहरुमा अक्सर राजीतिक झुकाव राख्नेहरुकै नियुक्ति हुने गरिएकाले गन्धर्व जातिले उचित स्थान आजसम्म पाउन सकेका छैनन् । त्यसैले राज्यले छुट्टै प्रतिष्ठान स्थापना गरेरै भए पनि नेपालको सांगीतिक जाति गन्धर्वलाई संस्कृतिको मुलप्रवाहमा ल्याउनै पर्दछ ।

आधुनिक आर्केष्टाको निर्माण गरी उनीहरुको गीत संगीतलाई आधुनिकीकरण गरिनु पर्दछ । संगीत सहचारीको रुपमा विभिन्न देशको राजदूतावासहरुमा उनीहरुलाई नियुक्तिको व्यवस्था गरिनुपर्दछ ।

कस्मेटिक प्रकारको वर्तमान गीत संगीतको बाढीमा गन्धर्व जातिलाई उनीहरुको मौलिकपन बचाउन निकै हम्मेहम्मे परिरहेको छ । भीडहरुको बीचमा गन्धर्व जातिको विशेष स्थान छ । तर, यसबाट जीविकोपार्जन हुन नसकेकाले अरु कामबाट आम्दानी हुने, सारंगी बजाएर गुजारा नहुने र गन्धर्वको सामाजिक प्रतिष्ठामा समेत जातीय भेदभावको शिकार बन्नु परिरहेको छ ।

सामन्ती व्यवस्थाको राप र तापले सारंगी बजाएर मनोरञ्जन गर्ने, गराउने यी लोकपि्रय सांगीतिक जाति गन्धर्व र सारंगी लोप हुने अवस्थामा पुगेका छन् । उनीहरुको मौलिक सांस्कृतिक सम्पदा संरक्षणका लागि राज्यले विशेष सांस्कृतिक नीति बनाई लागू गर्नु पर्दछ ।

विडम्बना ! राज्यले सांस्कृतिक नीति निर्माणको चरणमा छलफलमा सहभागितासमेत गराउन चाहँदैन । सर्वव्यापी, प्रभुत्ववादी शक्तिशाली जातीय प्रथाले मूलतः राज्य अहिले पनि एकात्मक एकल जातिवादी मानसकिताबाट बाहिर आउन सकेको अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?