Comments Add Comment

उफ् काठमाडौंमा कोठा पाउन कस्तो गाह्रो !

१८ भदौ, काठमाडौं । चितवनबाट जागिरको सिलसिलामा काठमाडौं आएका ईन्द्र श्रेष्ठ कोठाका लागि भौंतारिएको ६ महिना भयो । भनेजस्तो कोठा नपाएपछि उनी कालिमाटीको एउटा होस्टलमा असहज तरिकाले बस्दै आएका छन् ।

‘खाली कोठा फेला पार्नैै गाह्रो छ, फेला परे पनि कतै भाडा अचाक्ली भन्छन् त कतै आफूलाई पायक पर्दैन,’ उनले दुःखेसो पोखे ।

एउटा निजी कम्पनीमा जागिर पक्का भएपछि श्रेष्ठ काठमाडौं छिरेका हुन् । उनीजस्तै शिक्षा र रोजगारीका लागि देशभरबाट हजारौं मानिसहरु काठमाडौं ओइरिने गर्छन् । जनसंख्याको चाप बढेसँगै काठमाडौंमा डेरा खोज्दै भौंतारिनेहरुको संख्या बढ्दो छ ।

बर्दियाका अशोक चौधरीले शनिबार बिहान फेसबुकमा पोस्ट गर्दै मैतीदेवीदेखि चावहिल आसपासमा कोठा खाली भएको थाहा पाए खबर गरिदिन साथीभाइलाई आग्रह गरे । एउटा साथीले कमेन्ट गरेर फ्ल्याट खाली छ भनिदिए । तर, उनलाई एउटा मात्र कोठा चाहिएको थियो । १३ हजार मासिक भाडा तिर्नुपर्ने फ्ल्याट उनको बसमा भएन ।

काठमाडौंमा लिभिङ रुम, बेड रुम, किचेनसहितको फ्ल्याट सिस्टमका घरहरु बढी बन्छन् । यी घरहरुमा एउटा वा दुईवटा कोठा मात्रै छुट्याएर भाडामा दिइँदैन

यसरी आफूले कोठा खोज्न थालेको वर्ष दिन बितिसकेको बताउँछन् चौधरी ।

‘पहिलेजस्तो घर–घर डुलेर कोठा भेटिने अवस्था छैन,’ उनले भने, ‘कोठा भए पनि घरबेटीले छैन भन्छन्, त्यसैले साथी सर्कलबाटै पत्ता लाउनुपर्छ ।’

कोठा खोजिदिने दलालको पनि पछि लागे उनी । तर, दलालले धेरै कमिसन मागेकाले पछि हटे ।

ईन्द्र र अशोकको भोगाइले काठमाडौंमा कोठा नपाउनुको दुःख दर्शाउँछ ।

सिंगल कोठा पाउन सबैभन्दा गाह्रो

काठमाडौंमा कोठा खोज्दै भाैंतारिरहेकाहरुको संख्या अत्यधिक छ । उनीहरुमध्ये सबैभन्दा बढी सास्ती भोग्नुपर्छ एउटा कोठा खोज्नेले ।

पछिल्लो समयमा काठमाडौंमा लिभिङ रुम, बेड रुम, किचेनसहितको फ्ल्याट सिस्टमका घरहरु बढी बन्छन् । यी घरहरुमा एउटा वा दुईवटा कोठा मात्रै छुट्याएर भाडामा दिइँदैन । उपत्यका बाहिरबाट आएका सामान्य वर्गका मानिसले सिंगै फ्ल्याट लिन सक्दैनन् । अविवाहित युवायुवती तथा विद्यार्थीहरु सकभर एउटै कोठाको खोजीमा हुन्छन् ।

अविवाहित केटा वा केटी, गाउँतिरबाट आएका विद्यार्थी र श्रमिकलाई हत्तपत्त घरबेटीले कोठै दिँदैनन् । धेरैले कुन जातको हो भनेर पनि सोध्छन् । विद्यमान रुढीवादी सोचका कारण अझै दलित तथा मधेसी मूलका व्यक्तिले कोठा पाउन सास्ती व्यहोर्नुपर्ने अवस्था छ ।

दलालको बिगबिगी

कोठा खोजिदिने एजेन्ट पनि बढेका छन् काठमाडौंमा । कतिले अफिस नै खोलेर बसेका छन् ।

पेप्सिकोला, कौशलटार, तीनकुने, शान्तिनगरगेट, बानेश्वर, अनामनगर लगायतका ठाउँमा एजेन्टका अफिसहरु छन् । उनीहरुले कोठा खोजिदिए बापत कमिसन लिन्छन् । किराना पसल सञ्चालकले समेत परोक्षरुपमा यस्तो काम गर्छन् ।

कोठा खोजिदिने व्यवसाय गरिरहेका एजेन्टहरुले सुरुमा ३०० रुपैयाँसम्म असुलेर फर्म भराउँछन् । त्यसपछि कोठाहरु देखाउँछन् । कुरो मिले ३ देखि ५ हजार रुपैयाँसम्म कमिसन लिन्छन् । सिंगै घर भाडामा खोज्नुपर्‍याे भने त दलालहरुले १० देखि ५० हजारसम्म कमिसन लिने गरेका छन् । महिनौंदेखि कोठा खोज्दा नपाएर आजित भएका उपभोक्ता यति रकम तिर्न हिच्किचाउँदैनन् । कोठा खोज्नेको संख्या कति छ भन्ने बुझ्न यी एजेन्टको अफिस पुग्दा प्रष्ट हुन्छ ।

आजकल एजेन्टहरुले सामाजिक सञ्जाललाई उपयोग गर्न थालेका छन् । २ लाख ६७ हजारभन्दा बढी सदस्य रहेका ‘रुम फाइन्डर इन काठमाडौं’ फेसबुक ग्रुपमा उनीहरुले कहाँ कोठा खाली छ भन्ने जानकारी पोस्ट गर्ने गरेका छन् । यसबाट कोठा खोज्नेहरुलाई पनि सजिलो भएको छ । त्यसो त कोठा खोजिदिने एजेन्टहरु आफ्नो कामलाई समाजसेवाका रुपमा चित्रण गर्छन् ।

बजार क्षेत्रमा केन्द्रित बसाइँ

भित्री गल्लीहरुमा आवत–जावतको समस्याले गर्दा धेरै डेरावालहरु बजार क्षेत्रमै बस्न रुचाउँछन् । बजार निस्किने बेला, अफिस जाने बेला घण्टौं जाममा बस्नुपर्ने समस्याका कारण टाढा कोठा लिएर बस्न कोही चाहँदैनन् । वालबच्चाको स्कुल छेउमा डेरावालहरुको रोजाइ हुनेगर्छ ।

‘घण्टौं जाममा बस्नुपर्ने अवस्था नहुने हो भने पनि बजारमा क्षेत्रमा डेरावालहरुको यस्तो चाप बढ्थेन’, उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव विष्णुप्रसाद तिमिल्सिना भन्छन् ।

विकास केन्द्रीकृत हुँदा यस्तो समस्या आएको उनको बुझाई छ । ट्राफिक जाम मात्रै हट्ने हो भने नागढुंगामा बस्नेहरु बस चढेर २० मिनेटमा बजार आइपुग्ने उनी बताउँछन् ।

काठमाडौंको कोटेश्वर, बानेश्वर, तिनकुने, शंखमुल, बुद्धनगर, बबरमहल, थापाथली, अनामनगर, घट्टेकुलो, थापागाउँ, मध्यबानेश्वर, बागबजार, पुतलीसडक, बालुवाटार, न्युरोड लगायत क्षेत्रमा कोठा पाउन मुश्लिक पर्छ । सम्पूर्ण अत्यावश्यकीय सुविधा भएका क्षेत्रमा कोठा खोज्नको चाप बढी हुन्छ ।

त्रसित घरबेटी, चिन्तित डेरावाल

घरबेटीका व्यथा पनि कम छैन । भाडामा बस्न दिएकाहरुले नै चोरी गर्नेदेखि छोरी नै भगाएर हिँड्नेसम्मका पीडा काठमाडौंका घरबेटीले भोग्दै आएका छन् ।

त्यसैले पनि घरबेटीहरु त्रस्त बन्छन् । राति अबेरसम्म हल्लाखल्ला गर्ने र आफन्तको बाक्लो ओहोर–दोहोर हुने डेरावाललाई धेरै घरबेटीहरुले रुचाउँदैनन् ।

कतिपय घरबेटीले कोठा खाली हुँदा पनि जो कोहीलाई बहालमा दिन नचाहने गरेको  तिमिल्सिनाले बताए ।

‘कोठा पैसासँग जोडिएको विषय त हो तर कोठामा बस्ने मान्छेको व्यवहारप्रति पनि घरबेटीलाई चासो हुन्छ,’ उनी भन्छन्, ‘भाडा समयमा दिनसक्ने हो कि होइन, आनीबानी कस्तो छ र पाहुना कत्तिको आउँछन् भन्नेमा उनीहरु विश्वस्त हुन चाहन्छन् ।’

समयमा भाडा दिने, स्थायीरुपमा बस्ने, आनीबानी राम्रो भएका, सहयोगी भावना देखाउने वहालवाला घरबेटीको रोजाइमा पर्ने गरेका छन् ।

एकपटक राम्रो मान्छे बसेपछि अर्को आउने पनि उस्तै होस् भन्ने चाहना हुन्छ घरबेटीको । त्यसैले पनि उनीहरुकै सिफारिस वा विश्वासिलो सुत्रबाट आएकाहरुलाई घरबेटीले कोठा दिन्छन् । एउटाले छोड्नु अगाडि नै उसले आफ्नो चिनजानको मान्छेलाई जानकारी दिएको हुन्छ । त्यसैले कोठा खाली नहुँदै बुक भइसक्छ ।

तर, बहालमा बस्नेहरुको गुनासो पनि घरबेटीको भन्दा कम छैन । घरबेटीले पानी पर्याप्त नदिने, बिजुलीको पैसा बढी असुल्ने, पाहुनाहरु आउँदा किचकिच गर्ने अनि डेरावाललाई हेप्ने र दुव्र्यवहार गर्ने गरेको बहालवालाको गुनासो सुनिने गरेको छ ।

घरबेटीहरुले कोठाभाडा अति नै महंगो लिने, बेलाबखतमा बढाउने गरेको गुनासो एकातिर आउने गरेको छ भने अर्कोतर्फ महानगरलाई तिर्नुपर्ने बहाल करसमेत घरबेटीले नतिर्ने गरेको गुनासो आउने गरेको छ । पसल गर्ने सटरको भाडा अत्यधीक महंगो लिने अधिकांश घरबेटीले महानगरलाई भने बहाल कर तिर्दैनन् ।

भाडामा मनपरी

कोठाभाडाको नियमन–नियन्त्रण गर्ने कुनै सिस्टम छैन । त्यसैले घरबेटीले मागे जति भाडा दिन डेरावालाहरु बाध्य छन् । कोठाकै भाडा उठाएर आफ्नो घर–व्यवहार चलाउँदै आएका घरबेटीले भाडा पनि छोटो समयमा बढाइरहन्छन् । सामान्यतः वर्षेनी १ हजारदेखि २ हजारसम्म भाडा बढाउने गरिएको पाइन्छ ।

अलि सेन्टर ठाउँमा एउटै कोठाको मासिक भाडा ८–१० हजारसम्म भन्न थालिएको छ । फ्ल्याटको भाडाको त झन् के कुरा । लिभिङ रुम, बेड रुम, किचेन, बाथरुम भएको सामान्य फ्ल्याटको पनि १८ हजारभन्दा माथि पर्न थालेको छ । त्यसैले घर भाडामा लगाएर मात्रै पनि धेरैले जीवनयापन गरिरहेका छन् ।

सरकारी निकायबाट नियमन नहुँदा घरभाडामा मनपरी चलिरहेको उपभोक्तावादी तिमिल्सिनाको बुझाइ छ । यो काम स्थानीय निकायले गर्न सक्ने भए पनि त्यस्तो कानुन बनिसकेको छैन । घर भाडाको विषयमा स्थानीय तहले नै कार्यविधि बनाएर व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिन्छ ।

कुन घरमा कति कोठा भाडामा दिइएको छ भन्ने रेकर्ड छैन कुनै निकायसँग । घर भाडामा दिनेहरुले घरवहाल कर तिरे पनि भाडामा दिएको कोठाको संख्या लुकाउँछन् । कुन घरमा कहाँको मान्छे बसिरहेको छ भन्ने स्थानीय तह र सुरक्षा निकायमा रेकर्ड राख्नुपर्ने देखिन्छ ।

तर नीति निर्माण तहमा रहेकाहरुले नै घर भाडामा लगाएर कमाइ गरिरहेका कारण यसतर्फ आँखा चिम्लिएको तिमिल्सिनाको दाबी छ ।

घरबहालबारे के भन्छ मुलुकी संहिता ?

मुलुकी देवानी संहितामा घर बहालसम्बन्धी व्यवस्था गरिएको छ । जसमा कसैले पनि मान्छे बस्न नमिल्ने र स्वास्थ्य तथा सुरक्षाका दृष्टिले पनि उपयुक्त नरहेको खण्डमा घर बहालमा दिन वा लिन नहुने भनिएको छ । गैरआवासीय प्रयोजनका लागि भने सम्झौता अनुसार हुने प्रावधान छ । घर बहालमा दिँदा पाँच वर्ष नबढाई सम्झौता गर्नुपर्ने भनिएको छ । सम्झौता सकिएपछि पुनः लिने दिनेले अवधि बढाउन समझदारी गर्न सक्नेछन् ।

मुलुकी संहिताले घरधनी र भाडावाल दुवैको दायित्व तोकेको छः

घरधनीको दायित्वः

(क) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनु पर्ने

(ख) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने,

(ग) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा,

हैरानी वा अशान्ति हुनबाट रोक्ने

(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालना गर्ने ।

डेरावालको दायित्वः

(क) निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने,

(ख) बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने,

(ग) आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने,

(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने ।

घरधनीले बहालमा बस्नेसँग मासिक भाडाबाहेक विभिन्न शीर्षकमा पैसा असुल्ने गरेका छन् । तर, देवानी संहितामा कर तथा अन्य दस्तुर बुझाउने दायित्व पनि तोकिएको छ । दुई पक्षले सम्झौता गर्दा अन्यथा उल्लेख भएकोमा बाहेक कानुनबमोजिम बहालमा दिएको घरको लाग्ने कर लगायतका दस्तुर बुझाउने दायित्व घरधनीकै हुनेछ ।

घरधनीले समयमा कर नबुझाए बहालमा लिनेले पनि त्यस्तो कर वा दस्तुत बुझाउन सक्नेछ र घरभाडामा समायोजन गर्न सक्ने व्यवस्था छ । यस्तै औद्योगिक वा व्यावसायिक प्रयोजनका लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाको लागि घरको बीमा गराउनु प्रावधान तोकिएको छ ।

ऐनअनुसार बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, बहालमा लिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वा छिमेकीलाई हैरानी, दुःख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखत घरबाट हटाउन सक्ने व्यवस्था पनि ऐनमा छ ।

यस्तै बहालमा बस्नेले घरधनीसँगको स्वीकृतिबिना घरको कुनै संरचना भत्काउन, हटाउन, बिगार्न वा घरमा कुनै भाग थप गर्न वा अन्य कुनै किसिमले हेरफेर गर्न नपाउने भनिएको छ ।

बहालमा लिएको व्यक्तिले घरधनीलाई कुनै नोक्सानी पुर्‍याएमा घरधनीले बहालमा बस्ने व्यक्तिबाट आफूलाई परेको नोक्सानीको क्षतिपूर्ति भराउन सक्ने प्रावधान पनि छ ।

विनासूचना सम्झौता विपरीत अन्य प्रयोजनका लागि बहालमा लिएको घरलाई प्रयोग गर्न पाईनेछैन । सम्झौता विपरीतका काम गरेमा बहालमा बस्नेलाई ३५ दिन अघि सूचना दिएर हटाउने अधिकार पनि घरधनीसँग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment