Comments Add Comment

मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो

फुटबल खेलाडीहरु लामबद्ध भएर राष्ट्रिय जर्सीमा मैदान पस्दै गर्दा के सोचिरहेका हुन्छन् भन्ने कहिलेकाहीँ तपाईँको मनमा आउँदो हो । राष्ट्रको प्रतिनिधित्व गरेर मैदान जानुअघि जर्सी फेर्दादेखि नै मनमा के आएको हुन्छ भन्ने भनेर बुझाउन गाह्रो छ ।

यसबारे केही भन्नुअघि तपाईँलाई दुईवटा खेल सम्झाउँछु । सन् २०१४ को विश्वकप छनोटको दोस्रो चरण । ७ साउन २०६८ साल, जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशाला र १२ साउन २०६८ साल, काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ।

विश्वकप छनोटको पहिलो चरणमा हामीले इस्ट टिमोरलाई पहिलो खेलमा २-१ ले हराएका थियौं । जुमानु राई र अनिल गुरुङले गोल गरेका थिए । इस्ट टिमोरलाई नै दोस्रो खेलमा ५-० ले हराएका थियौं । जुमानु, अनिल साथै भोला सिलवाल, जगजित श्रेष्ठ र सुजल श्रेष्ठले गोल गरेका थिए । त्यसको ठीक २१ दिनपछि दोस्रो चरणको खेलका लागि जोर्डन गएका हामी उच्च मनोबलमा थियौं ।

७ साउन २०६८, जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशाला …

राम्रो गर्ने विश्वास सबैको मनमा थियो । जोशिएर मैदान छिरेका थियौं । तर, सोचेजस्तो केही हुन सकेन । हामी कहिल्यै बिर्सन नसकिने गरी कमजोर साबित भयौं ।

खेलको सातौं मिनेटमा नै गोल खाएका हामी खेल सकिँदासम्म ९-० मा पुगिसकेका थियौं । २० औं, ३२ औं, ४७ औं, ५७ औं, ६४ औं, ७१ औं, ८४ औं र ९३ औं मिनेटमा गरी हाम्रो पोस्टमा गोलको वर्षा नै भयो । यस्तो निरिह महसुस मैले खेल जीवनमा कहिल्यै गरेको थिइनँ । केही कुरा पनि राम्रो भइरहेको थिएन । खेल हो जे पनि हुन्छ भनेर चित्त बुझाउनुबाहेक बिकल्प थिएन ।

लज्जास्पद हारको पाँच दिनपछि हामी उही जोर्डनसँग भिड्न दशरथ रंगशालामा तयार थियौं ।

१२ साउन २०६८ …

जब खेलको ८० औं मिनेटमा भरत खवासले गोल गरे, एकाएक माहोल फेरियो । ठूलो झरीको वास्ता नगरी लगातार हुटिङ गरिरहेका दर्शक नेपाल … नेपाल भनेर कराए ।यही कुराले त हो, मलाई फुटबल प्रिय लाग्छ । रमाइलो लाग्छ । खेलिरहन मन लाग्छ

९-० को हारको पीडा दशरथ रंगशालामा भुलाउने प्रयासमा थियौं । त्यसअघि र त्यसपछि पनि त्यस्तो खराब हार मैले कहिल्यै भोगेको छैन । हामी सबैको मनमा राम्रो फुटबल खेल्ने र गुमेको शाख फर्काउने भावना बलियो थियो । तर, त्यसमा धेरैले विश्वास भने देखाएका थिएनन् ।

खेल सुरु हुन लाग्यो । मैदानमा लाइन मिलेर….’सयौं थुंगा फूलका हामी एउटै माला नेपाली …’ गाइरहेका थियौं । हामीसँगै हजारौं दर्शक राष्ट्रिय गानमा जुरुक्क उचालिएका थिए ।

राष्ट्रको प्रतिनिधित्व गरेर मैदानमा हुँदा त्यसअघि पनि रोमाञ्चकता अनुभव भएको हो । तर, त्यो बेला एकदमै जोश बढेर गयो । छुट्टै किसिमको । गाउँदा-गाउँदै रक्तसञ्चार बढेजस्तो भयो । शरीर लगलग काम्यो । देशप्रतिको भावना मनमा उर्लेर आयो । सबैले सोच्यौंं, आज चाहीँ देखाउनुपर्छ ।

तपाईँले पनि मनन गर्नुभएको होला । छैन भने एकपटक खेलाडीहरु एकाग्र भएर राष्ट्रिय गान गाइरहेका बेला उठेर गाउन थाल्नुस्, त्यो भावना आउने छ । कता-कताबाट जोश थपिन्छ ।

पहिलो लेगमा ९-० ले हारेर कमजोर बनेका हामीले जोर्डनलाई १-१ को बराबरीमा रोक्यौं । ६२ औं मिनेटमा सइद अल मुर्जानले गोल गरेर जोर्डनलाई अग्रता दिलाएका थिए । पहिलो हाफदेखि नै हामी जोर्डनलाई रोक्नेसँगै गोलका अवसरहरु बनाइरहेका थियौं ।

जब खेलको ८० औं मिनेटमा भरत खवासले गोल गरे, एकाएक माहोल फेरियो । खराब हार भोगेर आएका हामीले सक्छौं भनेर देखायौं । ठूलो झरीको वास्ता नगरी लगातार हुटिङ गरिरहेका दर्शक नेपाल … नेपाल भनेर कराए ।

यही कुराले त हो, मलाई फुटबल प्रिय लाग्छ । रमाइलो लाग्छ । खेलिरहन मन लाग्छ ।

***

मैले फुटबल छोएको यही समय हो भन्ने ठ्याक्कै सम्झना छैन । कहाँ खेलेको थिएँ भन्ने सम्झना चाहीँ मनमा छापिएको छ । त्यही छापले त अहिले म यहाँ छु ।

मैले फुटबल चिन्नु, बुझ्नुअघि नै फुटबलले मलाई चिनेको हो । त्यो पनि यस्तो ठाउँ, जहाँ हरेक दिन राष्ट्रिय खेलाडीहरु भेटिन्थे । फुटबलमा रमाइरहेका हुन्थे । त्यससँगै अन्य खेलका खेलाडी पनि देखिइरहन्थे । कोही उफ्रिरहेका, कोहि कुदिरहेका, कोहि के गर्दै … ।

त्यो सबैका बीच मेरा आँखा फुटबल हानिरहेका तिनै गोडाहरुमा कसरी अड्किए होलान् भनेर बेलाबेला म सम्झन खोजिरहेको हुन्छु । त्यसमा त्यति गहन कारण त छैन । तैपनि फुटबल कसरी मभित्र पुग्यो भन्नेमा अरु केही पो छ कि भन्ने लागिरहन्छ ।

म जन्मिएको त्रिपुरेश्वरमा हो । त्यहाँ खेलकुदको वातावरण कस्तो हुन्छ भनेर मैले भनिरहनु परेन । मेरो ठूलो बुबा मचाकाजी, काका रत्नकाजी, जेठो दाइ बिक्रम फुटबल खेलाडी ।

म परिवारबाटै खेलाडीहरु चिनेर हुर्किन थालें । उहाँहरुको क्लब फुटबल हेरेर बढ्दै गएँ । दशरथ रंगशाला उहाँहरुसँगै पुगिरहन्थें । एनआरटी र ब्वाइज युनियन क्लबका खेलाडीहरु पनि भेटिन्थे । उहाँहरुको खेल सकिएपछि एक दुई लात्ता भएपनि बल हान्न पाइन्थ्यो । कहिले खेल सकिएला र बल हान्न पाइएला भनेर कुरेर बस्थ्यौं ।

रंगशालामा बिहान १० बजेदेखि राष्ट्रिय टिमको अभ्यास हुन्थ्यो । हामी भने बिहानै त्यहाँ पुग्थ्यौं । दाइहरु नआउँदासम्म खेल्दै बस्यो । दाइहरु आएपछि उहाँहरुको खेल हेर्‍यो बस्यो । पछि फेरि उहाँहरुसँगै बल हान्यो । मेरो ठूलो बुबा, काका र दाइले राष्ट्रिय टिमबाट त खेल्न सक्नुभएन तर, क्लब फुटबलमा उहाँहरुको राम्रो नाम छ ।

यो सबै भनेपछि घरमा खेलको वातावरण थियो भन्ने बुझिहाल्नु भयो होला । हो, यस्तै थियो । खेल्न जान्छु भनेपछि ममी-बुवा काका-काकी कसैले रोक्नु भएको याद छैन ।

म खेलाडी हुनुको एउटै राम्रो कारण त्यही हो, खेल्छु भनेको बेला खेल्न पाएँ । ठूलो बुवा आरसीटी, काका ब्वाइज युनियन र एपीएफबाट खेल्नुभयो । दाइ एन्फाको पहिलो ब्याचको खेलाडी पनि हो । यसैले कतिपटक उहाँको अभ्यास नियाल्न पाएको छु । सिक्न पाएको छु । एन्फा पहिलो ब्याचको कप्तान दाइकै पाइला पछ्याउँदै म फुटबलमा अघि बढें ।

छिमेकमा पनि वातावरण फुटबलमय थियो । टोलटोलमा ससाना प्रतियोगिता भइरहन्थे । त्यो समय स-साना केटाकेटी मिलेर पनि कति प्रतियोगिताहरु खेलियो । दशरथ रंगशालामा नै गएर ‘ए’ डिभिजन लिगदेखि अरु अन्तर्राष्ट्रिय खेलहरु पनि हेरिरहेको हुन्थें ।

रंगशालामा विशेष आकर्षण राष्ट्रिय टिमको अभ्यास नै हो । त्यो बेला राजुकाजी शाक्य, उपेन्द्रमान सिंह, बालगोपाल महर्जनलगायत सरहरु र हरि खड्का दाइहरुलाई म चिन्दथें ।

एकपटक हामी बिहानै रंगशाला पुगेर खेलिरहेका थियौं । ९ बजेपछि राष्ट्रिय टिमको दाइहरु आउन थाल्नुभयो । उहाँहरुले खेलेको हेरेर बस्यौं । खेल सकिएपछि सदाझै बल हान्न तम्सिएर गयौं । राजु सर, बाल सरहरुले त हामीलाई पोस्टमा लाइनमा राखेर फ्रि किक पो हान्न थाल्नुभयो । त्यो रमाइलो त थियो तर, कम्ता डर लागेको थिएन ।

***

फुटबल चिनेदेखि नै रंगशालामा खेलेर हुर्किएँ । पछि उमेर समूहदेखि क्लब फुटबल हुँदै राष्ट्रिय टिमसम्म आइपुग्दा पनि दरशथ रंगशाला नै हाम्रो एकमात्र मैदान थियो ।

अहिले त्यही रंगशाला छेउतिर पुग्दा धेरै दुःख लाग्छ । केही दिनअघि थाइल्याण्डमा अभ्यास गरेर फर्किएपछि रंगशालातिर हिँडिरहेको थिएँ । खै किनकिन भित्र जाउँजाउँ लाग्यो । किन त्यस्तो भावना आयो कुन्नि । गेट खुल्लै देखेँ । म भित्र गइहालें । काम भइरहेको रहेछ । माथिको प्याराफिट भत्काइएको रहेछ । चारपाँच वर्षअघि त्यहाँ खेल्दाको दिन सम्झिएँ ।

अहिले कस्तो लाग्यो भनेर नसोध्नुस् । कस्तो कस्तो पो लाग्यो । ठ्याक्कै भन्नुपर्दा मसानघाट पुगेजस्तो । सबै जलिरहे जस्तो । खरानी भइरहे जस्तो । शून्य अनुभव भयो । हुन त राम्रैका लागि भइरहेको काम हो । तर, पनि त्यो अवस्थामा देख्दा मन त दुःख्छ नै । चाँडोभन्दा चाँडो काम भइदेओस्, नेपाली समर्थकहरुले भरिएको रंंगशालामा फेरि नेपालको जर्सी लगाएर खेल्न पाइयोस् जस्तो लाग्छ ।

***

जन्मिएको, हुर्किएको, लडेको, खेलेको सबै त्रिपुरेश्वरमा नै हो । अहिले पनि त्रिपुरेश्वरमै बस्छौँ । हामी तीन दाजुभाइ, ममीबुबा छौं । दुईजना भाउजु र एक भतिज छन् । मलाई मात्रै होइन, हामी सबैलाई त्रिपुरेश्वर पि्रय लाग्छ । आफू जन्मेको ठाउँ कसलाई पो मन नपर्ला र ? मलाई अझै विशेष लाग्नुको कारण फुटबल नै हो ।

ममीबुबा दिउँसो थापाथलीमा रहेको नेवारी किचेनमा बस्नुहुन्छ । उहाँहरुले पुरानो व्यवसाय सम्हालिरहनु भएको छ । दाइहरुको पनि आआˆनो व्यापार व्यवसाय छ । म चाहीँ फुटबलमा मात्रै छु । हरेक दिन नयाँ कुरा सिकिरहेको छु जस्तो लाग्छ । सानो बेलामा कहिलेकाहीँ वितृष्णा पनि लाग्यो होला । तर, त्यो लामो समय टिकेन । एउटा घटना मलाई अहिले पनि खुब याद आइरहन्छ ।

ज्ञानोदय स्कूलमा पढ्दाको कुरा हो । हामी पाँच कक्षामा थियौं । फुटबल खेलेका बेला त रमाइलो नै हो तर, होस्टेलमा हुने कडा अनुशासन र पढाइ रमाइलो हुँदैन थियो । स्कूलमा हुने बदमासीहरु त अरु पनि भए । तर, एकपटक त स्कूलबाटै भागेर हिँड्नेसम्मको अवस्था पनि आयो ।
होस्टेलमा दिक्क भएका साथीहरुले भाग्ने सल्लाह गरे । मोज मस्ती गरेर स्वतन्त्र हिँडिरहेका हामीलाई अनुशासनमा बस्न कठीन भएरै त्यस्तो सोचेका थियौं । भाग्ने सल्लाहमा सामेल भए पनि भाग्नमा भने हामी चार जना- म, पारस थापा, सन्तोष गुरुङ, निरन राई सामेल भएनौं ।

भागेर के गर्ने त भन्ने डरले पनि मलाई रोक्यो । खेलकै लागि भनेर राम्रो स्कूलमा पढ्न र होस्टेल बस्न पाएका थियौं । भागेर कहाँ जाने ? के गर्ने ? साथीको लहलहैमा लागेर मात्रै पनि भएन । हामीले जे गर्न खोजेका थियौं, त्यो सही होइन भन्ने मलाई लागेको थियो । त्यसबेलाका कुरा सम्झँदा धेरै ठीक सोचेछु जस्तो लाग्छ ।

अहिले पो त डिफेन्डर भनेर पोजिसनमा खेलिन्छ, पहिले त कहाँ थाहा हुनु । बाल्यकालमा त  जता बल पुग्छ त्यतै कुदियो । जसले छलाएर गोल हान्न सक्यो, उसैले जित्यो । किपरबाहेक सबै फरवार्ड

त्यो बेला हामी १० वर्षमुनिको टिमको लागि जिल्ला जिल्लाबाट छनोट भएर आएका थियौं । म काठमाडौं जिल्लाबाट छनोटमा परेको थिएँ । अरु जिल्लाबाट पनि साथीहरु छनोट भएर आएका थिए । काठमाडौंबाट हामी चार जना छानिएका थियौं । त्यो बेला एन्फाको मैदानबाट २६/२६ जना छानेर धरान र पोखरामा पनि राख्ने भनियो । काठमाडौं, धरान र पोखराका लागि खेलाडी बाँडियो । म काठमाडौंमै परेर धेरै नै सजिलो भयो । घर छाडेर टाढा जानु परेन । बाहिरबाट आउने साथीहरुलाई सानो उमेरमा घर छाड्न गाह्रो भएको मैले देखेको थिएँ ।

वर्ष दिन घर परिवार छाडेर होस्टेलमा बस्न सजिलो थिएन । बिहानै उठेर अभ्यास हुन्थ्यो । पढ्नु पर्‍यो । रमाएर खेल्ने समयमा कडा अनुशासनमा रहनु पर्ने । त्यही बेला हो, खेल्ने कुरा पनि सजिलो कुरा होइन भन्ने लाग्यो ।

मैले प्लस टुसम्म राम्ररी पढेँ । स्नातक पढ्ने बेला राष्ट्रिय टिमबाट अभ्यासका लागि बाहिर जानु पर्दा पढाइ छुट्यो । पछि पनि पढाईलाई निरन्तरता दिन सकिनँ । घरबाट पनि पढाइका लागि प्रेसर थिएन । बुवाले मलाई जहिल्यै राष्ट्रिय खेलाडी बनाउन चाहनुहुन्थ्यो । त्यसले पनि थप उर्जा दियो ।

अहिले पो त डिफेन्डर भनेर पोजिसनमा खेलिन्छ, पहिले त कहाँ थाहा हुनु । बाल्यकालमा त अघि पनि खेलियो, पछि पनि पुगियो । जता बल पुग्छ त्यतै कुदियो । जसले छलाएर गोल हान्न सक्यो, उसैले जित्यो । किपरबाहेक सबै फरवार्ड । २०५७ सालमा म एन्फा एकेडेमीमा आएपछि पोजिसनदेखि अरु कुरा बुझ्दै गएँ । कुन पोजिसनमा के काम हो भन्ने पनि बुझें ।

म डिफेन्डर नै बन्नुमा ब्राजिलियन खेलाडी रोबर्टो कार्लोसको पनि ठूलो योगदान छ । उनी मलाई असाध्यै मन पर्ने खेलाडी । कार्लोसलाई हेरेर नै म लेफ्ट ब्याकमा खेल्न थालेँ भन्दा हुन्छ । वास्तवमा म राइट ब्याक हो । तर, लेˆट राइट दुवै चल्ने हुँदा एडभान्टेज भयो । बल सुटिङ, पासिङ, ओभरल्याप जाने सबैमा कार्लोसलाई पछ्याउन थालें । डिफेन्डरले पनि गोल हान्न मिल्छ भन्ने उनैबाट सिकें ।

घरेलु लिगमा १० भन्दा धेरै गोल गरे पनि ६८ अन्तर्राष्ट्रिय खेलमा १ गोल मात्रै गरेको छु । त्यो एक गोल मेरा लागि विशेष छ । २०६५ साल चैत १५ गते मेरो ११ औं अन्तर्राष्ट्रिय खेल थियो । दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कप छनोटमा किर्गिस्तानविरुद्ध दोस्रो मिनेटमै गोल गरेको थिएँ । ८६ औं मिनेटमा किर्गिस्तानले पेनाल्टीमार्फत बराबरी गोल गरेपनि त्यो अन्तर्राष्ट्रिय गोल अविस्मरणीय छ ।

***

मैले व्यवसायिक क्लब फुटबल खेल्न थालेको २०६३ सालदेखि हो । त्यसबेला महिनाको साढे सात हजार तलबमा संकटा क्लबमा अनुबन्ध भएको थिएँ । अर्को वर्ष एनआरटी गएँ । तीन वर्ष एनआरटीबाट खेलेपछि २०६७ सालमा थ्री स्टारमा गएँ । २०७२ देखि मनाङ मस्र्याङ्दी क्लबमा छु । क्लब फुटबलमा चिनिन थालेको एक वर्षपछि नै २०६४ चैतमा पहिलो पटक राष्ट्रिय टिममा परेँ । पाकिस्तानसँग दुई मैत्रीपूर्ण खेलको बेला हो । पोखरामा नै होम एन्ड अवे भनेर दुई खेल भएको थियो । त्यो समय पाकिस्तानमा गएर खेल्ने कुरा सम्भव पनि थिएन ।

यू-१९ टोलीबाट भरत खवास, किरण चेम्जोङ, दीपक भुषाल, विकास सिंह क्षेत्री र म गरी पाँच जनाले डेब्यू गर्न पाएका थियौं । त्यस मध्ये भरत र मैले प्लेइङ ११ मा अवसर पायौं । पहिलो खेलमा २-१ ले हारेको हामीले दोस्रो खेल १-० ले जित्यौं । तर, गोल अन्तरका आधारमा पछि पर्‍यौं । डेब्यू प्रतियोगिता मेरा लागि भने सुखद नै भयो । राष्ट्रिय खेलाडी बनेर बुवाको सपना पुरा गर्दाको गौरव थियो मसँग ।

***

नेपाली फुटबल पछ्याउनेहरु मध्ये धेरै थ्री स्टार र मनाङ मर्स्याङ्दीका समर्थकहरु छन् । थ्री स्टार र मनाङलाई पहिलेदेखि नै प्रतिस्पर्धी टिमको रुपमा पनि हेरिन्छ ।

दुवै टिमबाट खेलेको हुँदा मलाई खुसी लाग्छ । दुवै क्लबमा हामी साथीसाथी नै हौं तर, समर्थकहरुले हामीलाई विशेष प्रतिस्पर्धी जस्तो बनाइदिएका हुन्छन् । घरेलु प्रतियोगिताहरुमा टप फाइट पनि मनाङ र थ्री स्टारकै परिरहेको हुन्छ । अरु खेलहरु पनि कम हुने त होइन । तर पनि मनाङ र थ्री स्टारको खेल हुँदा वातावरण नै छुट्टै हुन्छ ।

म थ्री स्टारबाट खेल्दा धेरैजसो खेल जित्थ्यौ । अहिले म मनाङ आएपछि पनि धेरैजस्तो थ्री स्टारले नै जित्छ । दुवै टिम राम्रो लाइन अप भएकै टिम हो । लकले पनि फेभर गर्ने भएर होला । म मनाङमा आएपछि पनि थुप्रै खेलमा हामीले लिड गरेर पनि अन्तिममा थ्री स्टारसँग हारेका छौं ।

उनी फुटबल खेल्नकै लागि अफ्रिकाबाट आएका रहेछन् तर बुट नभएर समस्या परेको रहेछ ।माया लाग्यो र तीन हजार रुपैयाँ दिएँ ।उनले बुट किनेपछि मलाई देखाए । त्यसपछि आफूले गरेको सहयोगले धेरै खुसी लाग्यो ।

फुटबलको यस्तो माहोल भएको ठाउँमा पनि गएको चार वर्षदेखि लिग हुन सकेको छैन । यो समय कटाउन कति गाह्रो भयो बुझाएर पनि बुझाउन सकिँदैन । हामी खेलाडी फुटबलमा भिज्न पाएनौं भने त्योभन्दा कठीन अवस्था अरु के होला त ? खेलकै लागि भनेर सबैले आफ्नो पढाइदेखि लिएर महत्वपूर्ण सयम खर्चिएका हुन्छौं । त्यस्तोमा खेल नै भइदिएन भने त के गर्ने ? खेल भयो भने क्लब रहन्छ । क्लब भयो भने खेलाडीहरु रहन्छन् । तर, यो चार वर्ष हामीलाई धेरै नै गाह्रो भयो ।

राष्ट्रिय खेलाडीका लागि त अझ फाट्टफुट्ट खेलहरु भइरहेको हुन्थ्यो । जेनतेन हामीले धानेका थियौं । राष्ट्रिय टिममा नपर्नेहरुका लागि त अवस्था झनै कठीन छ । खेल नै नभएपछि क्लबले पनि खेलाडी बोलाउँदैनन् । उनीहरु घरगाउँमा हुने खेलमा संलग्न भएर टाइमपास गरिरहेका छन् ।

नेपालमा रहेका मात्रै होइन, विदेशबाट आएका खेलाडी पनि नेपालमा लिग नहुँदा धेरै समस्यामा छन् । उनीहरुलाई यहाँ खान लाउन नै गाह्रो पर्छ । नेपालमा धेरै अपि|mकन खेलाडी छन् । एनआरटी, थ्री स्टारमा खेल्दादेखि नै अफ्रिकन खेलाडीहरुसँग म मिल्थेँ । अहिले पनि कुराकानी भइरहन्छ । धेरै त थ्री स्टारमा हुँदादेखि नै उनीहरुसँग घुलमिल भएँ । त्यसले मैले उनीहरुबाट धेरै कुरा सिक्न पनि पाएको छु ।

उनीहरु पनि मलाई ‘ग्रेट प्लेयर विथ ग्रेट पर्सानालिटी’ भनेर फुक्र्याइरहेका हुन्छन् । क्लबमा होस या राष्ट्रिय टिममा म कहिल्यै अभ्यास छुटाउँदिनँ । खेलेदेखि प्लेइङ ११ मा रहेँ । शायद यही कुराले नै उनीहरु मबाट प्रभावित भएका छन् ।

एक जना अफ्रिकन खेलाडीलाई म कहिल्यै भुल्न सक्दिनँ । उनको नाम त याद छैन तर, हामी अभ्यास गरिरहेको ठाउँमा आएर उनले भनेका कुराहरु मलाई अझै याद छ ।

धेरैबेर त उनी हामीले खेलेको हेरेर बसिरहे । अभ्यास सकिने बेलातिर मेरो नजिक आएर उनले कुरा गर्न थाले । धेरैबेर कुरा भएपछि मैले बुझें, उनी फुटबल खेल्नकै लागि अफ्रिकाबाट आएका रहेछन् तर बुट नभएर समस्या परेको रहेछ ।

मैले के गर्न सक्छु भनेर सोधेँ ।

उनले मसँग तीन हजार रुपैयाँ छ, एउटा पसलमा बुट हेरेर आएको ६ हजार भनेको छ भनेर सुनाए । अप्ठ्यारो मानेर मसँग तीन हजार रुपैयाँ मागे । त्यहाँ साथीभाइ अरु पनि थिए । सुरुमा त मलाई अप्ठ्यारो पनि लाग्यो । चिन्दै नचिनेको मान्छेले कसरी पैसा माग्यो जस्तो लाग्यो । तर, माया पनि लाग्यो र तीन हजार रुपैयाँ दिएँ ।

उनले बुट किनेपछि मलाई देखाए । त्यसपछि आफूले गरेको सहयोगले धेरै खुसी लाग्यो । पछि उसले संकटा क्लबबाट फुटबल पनि खेल्यो । म थ्री स्टारमा थिएँ । फुटबलमा यस्ता धेरै कुराहरु छन्, जसले मैले फुटबल रोजेर राम्रो गरेछु भन्ने भइरहन्छ ।

***

म राष्ट्रिय टिममा कप्तान भएको पनि तीन वर्ष भयो । यो जिम्मेवारी आफूले चाहेर पाउने कुरा पनि होइन । फुटबल सुरु गर्दा राष्ट्रिय टिममा पर्ने सपना देखे पनि कप्तान हुन्छु भनेर सोचेको थिइनँ । खेल्दै जाँदा, विश्वास जित्दै जाँदा सबैको साथ र समर्थन पाएको छु । मेहनत गरिरहेको छु । त्यही मेहनतले सबैको माया पाएको छु ।

यो पनि पढ्नुस्

ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल !

भारतको केरलामा भएको साफ च्याम्पियनसिपमा पहिलोपटक कप्तानको जिम्मेवारी सम्हालेको थिएँ । त्यो समय अनिल गुरुङ कप्तान थिए । उनी प्लेइङ ११ मा नहुँदा मैले कप्तानी गरेको हो । बंगबन्धुबाट पूरै कप्तानको जिम्मेवारी लिएर काम गरेँ । आफ्नै कप्तानीमा बंगबन्धु, साग र सोलिडारिटी कपको उपाधि उचाल्न पाउँदाको खुशी निकै छ ।

अझै राष्ट्रिय टिमबाट उपाधि जित्ने सपना बाँकी नै छन् । जति सोचेका छौं, त्यति गर्न सकेका छैनौं । टिममा नयाँ तर, राम्रा खेलाडीहरु पनि आएका छन् । एसियन गेम्समा हारे पनि जापानसँग सम्झनलायक खेल भयो जस्तो लाग्छ । हामीले फोकस गरेर अगाडि बढ्ने हो भने अब साफ गेम्स जित्न सक्छौं भन्ने विश्वास छ ।

साफ च्याम्पियनसिपको तयारीका लागि अभ्यास गरिरहँदा पनि हामी हौसला बढ्ने कुराकानी गरिरहेका हुन्छौं । अभ्यास सकिएपछि साथीभाइ हाँसिमजाक गर्छौं । कुराहरु सेयर गर्छौं । कफि खान जान्छौँ । यहि त रहेछ नि रमाइलो भन्ने कुरा नै ।

फुटबलमा लागेर पाएको यस्तो खुसी अरु केहीबाट पाउँथे होला र ? भक्तपुर पनि कटेर नगएको मैले नेपालका गाउँसँगै विदेश बुझ्न पाएको पनि फुटबलले नै त हो । फुटबल नभएको भए म यहाँ हुँदैन थिएँ । यसैमा परिवार पनि खुसी छ । रमाइलो लाग्छ ।

प्रस्तुतीः ऋग्वेद शर्मा 
तस्वीरः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment