Comments Add Comment

३ सय रुपैयाँमा बिहे सकियो, दुलाहाका खुट्टामा चप्पल !

१८ भदौ, काठमाडौं । शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका छन् । उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् ।

सामाजिक अभियन्ता सञ्जेल र अधिकारीले अत्यन्तै कम खर्चमा बिहे गरेर फजुलखर्चीहरुलाई चुनौती दिएका छन् । बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता-सुरुवालमा घुम्टो ओढेकी थिइन् ।

बिहेमा करिब १ दर्जन व्यक्तिहरु उपस्थित थिए । दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित थिएनन् । परिवारका सदस्यहरु निम्त्याउँदा ‘उपहार लेनदेन’ को कुरा आउन सक्ने भएकाले नबोलाएको सञ्जेलले अनलाइनखबरलाई बताए ।

‘म सँधै साधारण जीवनशैलीको पक्षपाती भएकाले बिहे पनि साधारण तरिकाले गरेँ,’ उनले भने ।

सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएका थिए । त्यसपछि उनले २ मिनेट बोलेपछि बिहे सम्पन्न भएको थियो । बेहुली कला भने लजाएर बोल्न मानिनन् ।

करिब ५ मिनेटमा बिहे सकिएको त्यहाँ उपस्थित कलाकार मनोज गजुरेलले बताए । बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन उनीहरुकै थियो ।

पण्डित नबोलाई गरिएको बिहेमा आफ्नो जम्मा तीन सय रुपैयाँ मात्र खर्च भएको उत्तमले जानकारी दिएका छन् ।

‘२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे सकियो,’ उनले भने ।

उत्तम र कलाको ४ महिना अगाडि मात्रै चिनजान भएको हो । उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् । कार्यक्षेत्रमै रहेका बेला उनीहरु प्रेममा परेका थिए ।

‘शारीरिक आकर्षणले भन्दा पनि विचार मिलेकाले हामी एक-अर्कासँग नजिकिएका हौं,’ उत्तमले भने । उत्तमका परिवारमा बुवाआमा, बहिनी र दुई भाइ छन् । बहिनी र दुई भाइको बिहे पहिल्यै भइसकेको छ ।

ढिलो बिहे गर्नुको कारणबारे सोध्दा उत्तमले ठट्टा गर्दै भने, ‘४० कटेपछि रमाउला भन्ने गीत सुन्नुभएको छैन ?’

मासिक १ सय रुपैयाँमा पठनपाठन गराइने समता स्कुल सञ्चालन गरेर उत्तमले वाहवाही कमाउदै आएका छन् । उनले सञ्चालन गरेका स्कुल नेपालका ७७ वटै जिल्लाका साथै भारत, श्रीलंका र बंगलादेशमा पनि चलिरहेका छन् । उनले करिब ६५ हजार गरिब विद्यार्थीलाई नर्सरीदेखि नर्ससम्म पढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment