+
+
Shares

बिमस्टेकमा सैन्य अभ्यासको सम्झौता भएकै छैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते ३:००

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् ।

मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास कहाँबाट आयो ? कसको सैन्य अभ्यास ? मन्त्री भइसकेका माननीयज्यूहरुले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ ।’

‘यस्तै कुरा आउँछ भनेर घोषणापत्रै बोकेर बसेको छु । यो गोप्य पनि छैन, बजारभरी छ ।’

संसदमा कांग्रेस सांसदहरुले बिमस्टेक राष्ट्रहरुबीच पुनेमा हुने सैन्य अभ्यासबारे प्रश्न गरेका थिए । सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरेका थिए । उनले भने, ‘बहुपक्षीय आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?’

अर्का सांसद दिव्यमणि राजभण्डारीले विमस्टेकको एजेण्डामा नै नभएको संयुक्त सैन्य अभ्यासबारे भएको निर्णयले सशंकित भएको बताए । ‘कुनै एजेण्डामा नै नभएको देशलाई गुमराहमा गरेर यस्तो निर्णय गर्दा नेपाली जनता सशंकित भएका छन्’ उनले भने । सांसद अमरेशकुमार सिंहले सैनिक अभ्यासले देश सैनिकिकरणतिर जाने त होइन ? भनी प्रश्न गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले भने बिमस्टेक घोषणापत्रमा सैन्य अभ्यास उल्लेख नभएको तर्क गरे । उनले घोषणापत्रमा रहेको आतंकवादसम्बन्धी बुँदा पढेर सुनाएका छन् ।

नेपालले भारत, चीन, पाकिस्तान र अमेरिकासँग सैन्य अभ्यास गर्ने पुरानै प्रचलन भएको उनले बताए । मिलिटरी प्याक्ट (सैन्य सम्झौता) मा बदल्न खोजेको कतै घोषणामा छ ? विकासको कुरा गरेको छ, कनेक्टिभिटीको कुरा गरेको छ’ ओलीले भने, ‘नेपाल यस्तो मिलिटरी प्याक्टमा विश्वास गर्दैन, पस्दा पनि पस्दैन ।’

सांसदहरुले बिमस्टेक सम्मेलनमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिक लिएर आएको विषयमा पनि प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले भने यो स्वभाविक भएको भन्दै अनावश्यक रुपमा नउछाल्न आग्रह गरे ।

‘सुरक्षाका पक्ष हुन्छन्, यसलाई ठीकै ढंगले बुझ्नुपर्छ । हामीले पनि गच्छे अनुसारको सुरक्षा लैजान्छौं । युनिर्फम, गैह्र युनिर्फममा लैजान्छौं’ उनले भने, ‘उनीहरु कब्जा गर्न त आएका होइनन् । अनावश्यक ढंगले उछाल्नु बान्छनिय हुन्छ जस्तो लाग्दैन ।’

बिमस्टेक शिखर सम्मेलनका क्रममा नेपाली सेनासँगै अन्य सुरक्षा निकायले आफ्नो क्षमता देखाएको बताए । ‘हामीले नेपाली सेना र सुरक्षा प्रबन्धमाथि विश्वास गरिदेउ भन्ने होइन । हामीले हाम्रो कामबाट देखाएका छौं’ उनले भने, ‘सम्मेलन कुनै घटनाबिना सफल हुनुले नेपालको सुरक्षा क्षमता प्रष्ट भएन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?