Comments Add Comment

चिनियाँ टोलीले भन्यो : तातोपानी नाका खोल्न नेपालकै सडकमा समस्या छ

२० भदौ, सिन्धुपाल्चोक । तातोापनी नाकाको स्थलगत निरीक्षण गर्न चिनियाँ टोली आउँदैछ भन्ने थाहा पाएपछि सीमा क्षेत्रबासीले मितेरीपुलदेखि बाह्रविसेसम्म विभिन्न ठाउँमा स्वागतद्वार बनाए । बजारक्षेत्रका घरघरमा घडा राखियो ।

बाह्रविसे नगरपालिकाले पञ्चेबाजा बजाएर चिनियाँ प्रतिनिधिहरुलाई बजार परिक्रमा गरायो । भोटेकोशी गाउँपालिकाले पनि स्वागत सत्कारमा कुनै कमी हुन दिएन ।

चिनियाँ टोलीको स्वागत गर्दै गर्दा भूकम्पपछि तातोपानी नाका बन्द हुँदा रोजेरोटी नै खोसिएको यस क्षेत्रका बासिन्दाको मनमा एउटै आशा थियो, नाका खुलोस् । ‘हामी सबैको एउटै स्वार्थ छ, नाका सञ्चालन होस्’ स्थानीय कुमार श्रेष्ठले भने ।

साँधीखोला बाढीले हिलाम्यै बनेको सडक चिनियाँ टोली आउनु अघि नै ‘सफाचट’ बनाइएको थियो । ‘उहाँहरु आउने सूचना पाएपछि हामीले बजार सफाई गर्‍यौं, स्वागतद्वारहरु निर्माण गर्‍यौं’, बाह्रविसे नगरपालिका -४ का वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठले भने, ‘यो भव्य स्वागत र सम्मानभित्र नाका सञ्चालनको आग्रह र अनुरोध छ ।’

नाका सञ्चालन हुने आशा

विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका आगामी मे महिनादेखि सञ्चालनमा आउने चर्चा भइरहेका बेला चिनियाँ अधिकारीहरुको टोलीले अनुगमनमा आएको हो । तिब्बत सरकारका भाइस सेक्रेटरी जनरल छुयाङ लिउको नेतृत्वमा आएको ३९ सदस्यीय टोलीमा प्राविधिकहरु पनि थिए । टोलीले तातोपानीको मितेरीपुलदेखि बाह्रविसे बजारसम्म स्थलगत निरीक्षण गरेको छ ।

नेपाल-चीनका अधिकारीहरुले सीमाक्षेत्रको सडक तथा अन्य पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेका छन् । नेपाली अधिकारीहरुका अनुसार चिनियाँ टोलीले केन्द्र सरकारलाई प्रतिवेदन बुझाएपछि तातोपानी नाका सञ्चालन हुने नहुने टुंगो लाग्ने छ । ‘यो टोलीले कस्तो प्रतिवेदन बुझाउँछ, त्यसले तातोपानी नाका कहिले खुल्ने भन्ने टुंगो लाग्छ’ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।

चिनियाँ टोलीले नाका संचालनका लागि मुख्य समस्या सडक नै भएको बताएको छ ।

दुई देशका सरकारी प्रतिनिधिबीच बाह्रेविसेमा झण्डै एक घण्टा छलफल भएको थियो । ‘हामीले नाका संचालनको विषय उठायौं, उहाँहरुले दुई देशका जनताबीच सुमधुर सम्वन्ध कायम गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो’ छलफलमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले भनिन् ।

सडक नै बाधक

नेपालतर्फ भूगोल, सडक र अन्य भौतिक पूर्वाधार निरीक्षणपछि नेपालका अधिकारीहरुलाई चीनतर्फ लगिएको थियो । चीनतर्फ सडकलगायत अन्य संरचनामा निर्माण भइसकेको पाइएको बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले जानकारी दिए । ‘पहिरोले समस्या बनाएको स्थानमा सानोसानो सुरुङ बनाएर सडक निर्माण गरिएको रहेछ । हाम्रोमा केही पनि भएको छैन’ शेर्पाले भने ।

खासामा भएको वार्तामा चिनियाँ पक्षले नेपालतर्फको सडक र अन्य संरचनाबारे चासो राखेका छन् । ‘हामीलाई तातोपानी नाका सञ्चालनका लागि केही समस्या छैन । तर, तपाईहरुतर्फ धेरै समस्या देखियो’ चिनियाँ अधिकारीहरुको भनाइ उधृत गर्दै मेयर शेर्पाले भने, ‘हामी केही महिनामै नाका खोल्न सक्छौं । तर, तपाईंहरुको सडक नै बनेको छैन भनेर चिनियाँ अधिकारीहरु नेपालतर्फका सडक संरचना छिटो निर्माण गर्न आग्रह गरेका छन् ।’

सिन्धुपाल्चोकका सहायक सीडीओ बञ्जाडेले चिनियाँ पक्ष नाका खोल्न सकारात्मक रहेको बताइन् । दुवैतर्फबाट अहिलेसम्म भएको प्रगति जानकारी गराएका छौं । निर्णय उच्च तहबाट हुने भएकाले हामीले केही निर्णय गरेनौं’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment