Comments Add Comment

अदालतले छोडे लगत्तै फेरि समातिए प्रकाण्ड, दाङ लैजाने तयारी

२० भदौ, भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।

गत कात्तिकमा चुनाव प्रचारप्रसारको क्रममा पूर्व सञ्चारमन्त्री तथा प्रदेश नं. १ का वर्तमान मुख्यमन्त्री शेरधन राईको गाडीलाई लक्षित गरेर, षडानन्द नगरपालिकाको भिरथाप्लोमा बम विस्फोट गरेर र साल्पा सिलिछो गाउँपालिकाको आमसभालाई लक्षित गरी बम विस्फोट गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रकाण्डविरुद्ध भोजपुर अदालतमा मुद्दा दर्ता थियो ।

पछि थप प्रमाण बुझ्दै जाने क्रममा ठहर भए बमोजिम हुने गरी हाललाई ६० हजार धरौटी लिएर तारेखमा छाड्न अदालतले आदेश दिएको थियो ।

जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नामको इजलासले प्रकाण्डलाई शेरधन राई चढेको गाडीमा र भीरथाप्लोमा बम विस्फोट गराएको घटनामा २५/२५ हजार र साल्पासिलिछो घटनामा १० हजार धरौटी लिएर तारीखमा छाड्न आदेश दिएको थियो ।

धरौटी रकम दाखिला गरेर अदालतबाट निस्कँदा निस्कँदै पुनः नेता प्रकाण्डलाई प्रहरीले पक्रेको हो ।

उनलाई कर्तव्य ज्यानको अर्को मुद्दाको सन्दर्भमा दाङ लगिने बताइएको छ । तर, भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले दाङ लग्ने पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment