Comments Add Comment

काठमाडौं-हेटौंडा सुरुङमार्गमा ९५% लगानी गर्न चिनियाँ कम्पनी तयार !

२१ भदौ, काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावरचाइना कम्पनीबीच काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग परियोजनाका लागि संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ ।

परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको लागि जेडीए भएको नेपाल पूर्वाधार विकास कम्पनीले जनाएको छ ।
पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको छ । साथै पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक-पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको छ ।

पुनरावलोकन पश्चात  परियोजनामा सडकको कूल लम्बाई मध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भ मैत्री रहने विश्वास कम्पनीले लिएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विचारमा यो प्रविधि नेपालको कठिन पहाडि क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने छ ।

सन्२०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा ईपीसी कन्ट्रयाक्टमा हस्ताक्षर भएको थियो ।

हस्ताक्षर समारोहको अवसरमा सभामुख कृष्णबहादुर महराको समेत उपस्थिति रहेको थियो । पावर चाइना कम्पनीको सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनीहरु रहेको बताइएको छ ।

पावर चाइना सिनो हाइड्रो मार्फत नेपालमा विगत ३० वर्ष देखि जलविद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ ।

नेपालपूर्वाधार विकास कम्पनी लिमिटेड र पावर चाइना कम्पनीबीच भएको उक्त सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरि सकेको बताइएको छ ।

साथै यस परियोजनामा केन्द्रीय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ ।

सार्वजनिक निजी साझेदारी मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको गत मंगलबार बसेको संचालक समितिको बैठकले फेरि भवन भट्टलाई अध्यक्षमा चयन गरेको छ ।

भट्ट गैर आवासीय नेपाली संघका अध्यक्ष समेत हुन् । साथै बैठकले यहि पुस महिनामा यस कम्पनीको वाषिर्क साधारण सभा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment