Comments Add Comment

गोपिकृष्णमा ‘रामकहानी’ नलाग्ने, वितरक र निर्माता भन्छन्–‘हलले फोहोरी खेल खेल्यो’

हुनत, काठमाण्डौको चाबहिलमा अवस्थित ७ पर्दा भएको गोपिकृष्ण मुभिज र निर्माताविचको लडाई नयाँ होइन । हलले निर्मातालाई हेपेको, मनोमानी गर्न खोजेको गुनासो त धेरै पुरानो हो । यो मनोमानी प्रवृत्तीको शिकार भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’ पनि भएको छ ।

गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोज’ हतार हतारमा रिलिज हुने भएपछि भदौ २२ दुई ठूला चलचित्रको भिडन्तले चर्चामा थियो । अब, यो भिडन्तमा गोपिकृष्णले फोहोरी खेल खेलेको ‘रामकहानी’ चलचित्रका काठमाण्डौ वितरक सुनिल मानन्धरले बताएका छन् ।

सुनिलले गोपिकृष्ण मुभिजमा ‘रामकहानी’ नचलाउनुको कारणबारे भने–‘सुरुमा उनीहरुले बनाएको चलचित्र ‘रोज’ गोपीमा लगाएर हाम्रो चलचित्रलाई कृष्णमा लगाउने कुरा थियो । यसैले हामीले हलमा ब्यानर पनि लगाएका थियौ । तर, अन्तिम समयमा आएर २ सय सिट क्षमताको नमः हल दिने बताएपछि चलचित्र नै नलगाउने निर्णय गरेका हौ ।’ गोपिकृष्णले आफ्नो दोश्रो ठूलो हल कृष्णमा नयाँ हलिउड चलचित्र लगाउने तयारी गरेको छ ।

वितरक मानन्धरले आफ्नो चलचित्र पनि रिलिज हुने भएकाले गोपिकृष्णले मनोमानी गरेको बताए । यता चलचित्र ‘रामकहानी’का निर्देशक तथा निर्माता सुदर्शन थापाले भने–‘अन्तिम समयमा गोपिकृष्ण मुभिजले फोहोरी खेल खेलेको छ । यसैले, हामीले उक्त हलमा चलचित्र नलगाउने निर्णय गरेका हौ । दर्शकलाई अन्य आफूलाई पायक पर्ने हलमा गएर चलचित्र हेर्न आग्रह गर्दछु ।’

नायिका पूजा शर्माले पनि सानो हलमा चलचित्र लगाउने भएपछि ‘रामकहानी’ नलगाउने निर्णय गरेको बताइन् ।  एउटा निर्माताले निकै दुख र कष्ट गरेर चलचित्र निर्माण गर्छ । तर, चलचित्र रिलिजको समयमा हुने यस्ता फोहोरी राजनीति र मनोमानी ढंगले निर्मातालाई ढुक्कले चलचित्र रिलिज हुन भन्दा पनि तनाव थपिदिन्छ । नेपालमा चलचित्र बनाउन भन्दा चलाउन गाह्रो हुन्छ भनिन्छ । यस्ता घटनाले नेपाली चलचित्र क्षेत्र उभो लाग्दैन भन्नेहरुलाई बल मिलेको छ ।

यसअगाडि गोपिकृष्णको यस्तै मनोमानीले गर्दा ‘कबड्डी, गाजलु’ लगायतका चलचित्रका निर्माताले पनि हलबाट चलचित्र उतारेका थिए । बक्स अफिस लगाउँदैमा सबै समस्या समाधान हुन्छ भनेर चलचित्र सम्बन्धी संघसंस्था मख्ख छन् । तर, यस्ता खालका समस्याको हल कहिले र कसरी गर्ने ? अब यतातर्फ सोच्ने बेला आएन र ? कि हरेक निर्माताले पहिले हल संचालन गरेर मात्र चलचित्र बनाउनुपर्ने हो ? प्रश्न बारम्बार उब्जने गरेको छ । तर, समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment