Comments Add Comment

नारायणगढ-बुटवल सडक विस्तार गर्न ७ कम्पनी अन्तिम प्रतिस्पर्धामा

२२ भदौ, काठमाडौं । नारायणगढ-बुटवल सडकखण्ड निर्माणका लागि ७ वटा निर्माण कम्पनीको आर्थिक प्रस्तावमाथि मूल्यांकन सुरु भएको छ । यसअघि छानिएको कम्पनीलाई एशियाली बिकास बैंक -एडीबी) ले अयोग्य ठहर्‍याएपछि नयाँ कम्पनी छान्ने प्रक्रिया सुरु भएको थियो । जुन, अन्तिम चरणमा पुगेको छ ।

अब आर्थिक प्रस्ताव मूल्यांकन गरेर सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले कम्पनी छनोट गर्नेछ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए । अब ७ वटा कम्पनी अन्तिम प्रतिस्पर्धामा रहेको आयोजनाका इन्जिनियर प्रदीपमान शाक्यले बताए ।
छनोट सकिएपछि यसको स्वीकतिका लागि एडीबीमा पठाइनेछ । एडीबीले स्वीकृति दिएपछि आयोजनामा निर्माणको काम अघि बढ्नेछ ।

विभागका अनुसार यसअघि नै यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ ।
अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ । जसलाई विभागले ४ लेनको बनाउन लागेका हो । जसका लागि विभागले एडीबीबाट ऋण सहयोग लिन लागेको छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो ।

दुई लेनको यो सडकलाई चार लेनको बनाइने छ भने दुई रदुई लेनको बीचको भाग ‘ग्रीनरी’लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७/७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने विभाग बताउँछ ।

यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।

जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।

१ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायणगढ-दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तरगत निर्माण गरिनेछ ।

यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । बुटवल-नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालोरओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ ।

त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर ३ लेनमात्रै बनाउन लागिएको हो ।

३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालोमा गाडीहरु सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment