Comments Add Comment

प्रचण्डको तीर्थाटन र ओली सरकारको ‘ड्यामेज कन्ट्रोल’

के एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले आकार ग्रहण गर्न नपाउँदै विवाद चर्किन लागेको हो ? नेपालको दलीय राजनीतिबारे सामान्य चासो राख्ने धेरैजसोको मनमा उब्जिन थालेको प्रश्न हो यो । यस्तो आशंका गर्ने ठाउँ नयाँ दलका शीर्षनेताहरुले नै बनाइदिएका हुन् ।

भर्खरै टुंगिएको भनिएको जिल्ला तहसम्मको पार्टी एकीकरणले जन्मेका असन्तुष्टि र पूर्वएमालेको गुटगत झमेलाको भूमिका पनि उल्लेख्य छ । तर, भित्रै पसेर हेर्ने हो भने अहिले नै टुक्रिने गरी चिरा परिहाल्ने अवस्थामा नेकपा पुगिसकेको छैन । चर्किने सम्भावनालाई पुरै नकार्न त नसकिएला, तर नेकपाको नेतृत्व कुनै भवितव्य हुनसक्ने कुरामा सचेत देखिएको छ । र, सकेसम्म यसलाई रोक्न ओली र प्रचण्ड दुबै नेताहरु तयारी अवस्थामा रहेको आभास गर्न सकिन्छ ।

उल्लेखित निश्कर्षका केही आधारहरु छन् ।

एमालेमा आफूमा समाहित गरेको माओवादी केन्ऽका प्रमुख हस्ती प्रचण्ड अहिले नै केपी ओलीसँग अन्तरविरोधमा जाने सम्भावना छैन । हालै मात्र पनि आफ्नो आशन्न भारत र चीन भ्रमणबारे स्पष्ट पार्न खुमलटारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले भने ‘उहाँ (ओली) र मेरो वीचमा तपाईहरुले जति खोजे पनि केही भेट्नुहुन्न ।’

धेरै असन्तुष्ट भएको पक्षका शीर्ष व्यक्तिले नै यसरी सम्भावित समस्यालाई पूर्णरुपमा अस्वीकार गरेपछि दोस्रो र तेस्रो श्रेणीका नेताहरुले भित्रभित्रै गुम्सिनुको विकल्प छैन । तथापि पार्टी एकताको विषयले नेकपालाई धेरै उकुस-मुकुसमा पारेको छ ।

एकताको झमेला

पूर्वएमालेको माधवकुमार नेपाल गुट अहिले धेरै ठूलो असन्तुष्टि बोकेर बसेको छ । तर, विगतका अनुभव र आफ्नो वस्तुगत अवस्थालाई राम्ररी केलाउन सक्ने क्षमता राख्ने त्यो समूह बिद्रोह बोलिहाल्ने मुडमा भने देखिँदैन ।

एमालेभित्र फैलँदै गरेको भुँसको आगोलाई हम्किने र विस्तारित हुने वातावरण निर्माण गर्ने काममा भने उनीहरु सक्रिय नै रहेको देखिन्छ । फेरि पनि अनौपचारिक गुटगत छलफलमा पार्टी निर्माण र सरकार सञ्चालनका विषयहरु उठ्दा ओठ लोप्राउने र खिसिट्युरी गर्दै मुस्काउने बाहेकका कुनै प्रतिक्रिया त्यताबाट पनि आउने स्थिति छैन । सारांशमा भन्नुपर्दा माधव नेपाल गुट अहिले प्रचण्ड र ओलीको छायाँमा परेको छ । चाहेर पनि केही गर्न सक्ने अवस्थामा छैन ।

तथापि पूर्वएमाले गुट एमाले दिनप्रतिदिन कमजोर बन्दै गरेको भने पक्कै हो । सुन्निएको हो वा मोटाएको हो भन्ने नै छुट्टयाउन गार्‍हो पर्ने स्थितिमा रहेको पूर्वएमाले समूहलाई थला पार्न सक्ने केही विषयहरु छन्ः

सरकार र पार्टीवीचको अन्तरविरोध

सरकारका केही मन्त्रीहरुको व्यक्तिगतरुपमा र समष्टिगतरुपमा सिङ्गै सरकारको आलोचना विपक्षीको भन्दा चर्को र घोच्ने गरी एमालेकै नेताहरुले गर्ने गरेको सुनिन्छ । प्रधानमन्त्रीका कुराको खिल्ली उडाउनु त सामान्य नै भइसक्यो, कतिपय मन्त्रीको नामै तोकेर तुरुन्तै बदल्नुपर्ने माग एमालेभित्रैबाट आएको भेटिन्छ ।

काम नगर्ने मन्त्रीको सूची अहिले हरेकजसो एमालेका ठूला नेताहरुको खल्तीमा छ । जसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, लालबाबु पण्डित, शक्ति बस्नेत, रघुबीर महासेठ, बिना मगर आदिको नाम चर्चामा छ । पूर्वमाओवादीहरुलाई अर्थमन्त्री युवराज खतिवडा फेर्न दबाव छ भने पूर्वएमालेका नेताहरु गृहमन्त्री बादललाई फेर्नुपर्ने लविङमा देखिन्छन् । बैदेशिक रोजगार व्यवसायीको कुरा सुनियो भने गोकर्ण बिष्ट पनि धरापमा पर्न सक्छन् ।

युटीएलले सरकारलाई तिर्नुपर्ने अर्बौंको बक्यौता उठाउन सूचना तथा प्रसारण मन्त्री गोकुल बास्कोटाले गरेको प्रयासमा नेपाल टेलिकमकी कामिनी राजभण्डारीले कर्मचारीले हात धुनुपर्यो । त्यो बिषय झन् भन्दा झन् पेचिलो बन्दैछ । युटीएलकै दबावमा परेर दिगम्बर झालाई दूरसञ्चारमा ल्याइएको छ ।

दलाल पुँजीपति र घरानियाँ व्यापारीसँगको टकराबमा पहिलो चरण त बास्कोटाले पार गरे । तर, दीगम्बर झा प्रकरणपछि उनीमाथि पनि प्रश्न उठेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ क्याबिनेटका सदस्यदेखि आˆनै पार्टीका नेताको मात्रै नभएर दक्षिणपन्थीहरुको समेत निशानामा रहेको छर्लंग भैसकेको छ । यसले सरकार र पार्टीबीच के-कस्ता स्वार्थको आधारमा संघर्ष चल्दैछ भन्ने स्पष्ट देखिन्छ ।

‘बादल’माथि मडारिएको बादल

नेकपा नेतृत्वको सरकारको कार्यक्षमता बढाउने बिषयमा कुरा गर्दा स्वयम् प्रधानमन्त्रीकै बारेमा समेत छलफल गर्नुपर्ने देखिन्छ । तर, अहिलेलाई मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्ने विषयमा केही चर्चा गरौँ ।

प्रचण्ड र केपी ओली दुबैजना ‘टिम चेञ्ज’ गर्ने सामुहिक निर्णयमा पुगिसकेको अवस्था छ । यसैले कुनै पनिबेला कुनै अमूक मन्त्रीले छुट्टी पाए भने अचम्मित नहुँदा हुन्छ । को पर्ला त पहिलो निशानामा ? सामान्यरुपले सोच्ने हो भने गृहमन्त्री बादल । तर, त्यो त्यति सजिलो भने छैन । हुन त प्रचण्डले ‘अब कोही हिजो को सँग थियो भनेर निर्णय लिइँदैन’ भनिसकेका छन् । फेरि पनि हालको क्याबिनेटबाट बादललाई निकाल्नु भनेको स्वयम् प्रचण्डको पनि पखेटा काटिनु हो । पूर्वमाओवादीमा बादल निक्कै बलिया थिए । बैद्यलाई छोडेर आएपछि पनि संगठन प्रमुखको जिम्मेवारीमा लामो समयसम्म रहेका बादल जति कमजोर लाग्छन्, त्यति छैनन् ।

बादललाई हटाउने कुरा गर्दा हिजो उनी नै किन र कसरी ओलीको रोजाइमा परे भन्नेतिर फर्केर हेर्नुपर्ने हुन्छ । गृहमन्त्रीजस्तो संवेदनशील मन्त्रालयमा उनको उपस्थिति त्यतिकै भएको होइन । त्यसमाथि नेकपाको सचिवको जिम्मेवारीमा पनि छन् उनी । शायद प्रचण्ड र ओली दुबैलाई राम्ररी थाहा छ कि ईश्वर पोखरेललाई झैँ सजिलै उनलाई साइजमा राख्न गाह्रो छ ।

बादल र प्रचण्डको विगतको सम्बन्धले पनि अहिले उनीविरुद्ध चालिने कदमलाई प्रभावित गर्ने देखिन्छ । प्रचण्ड सधंै बादलप्रति सशंकित रहने गर्छन् । उनले बादललाई लीनप्याओको उपमा विगतमै दिएका हुन् ।

चुनबाङ बैठकका बेला रुँदै ‘म अब पूर्णरुपमा प्रचण्डमा विलय भएँ’ भनेका बादलको सक्रियतामा भएको धोबीघाट भेला सहजै प्रचण्डले बिर्सन सक्दैनन् । पछि पार्टी विभाजित हुँदा बैद्यको पछाडि लागेर दोबाटोमा आफूलाई एक्लै छोड्ने पात्र यिनै हुन् भन्ने स्मरण शायद उनी हरेक भेटमा गर्छन् । यसरी हेर्दा बादलसँग प्रचण्डको भावनात्मक सम्बन्ध छ । प्रेम र घृणाको सम्बन्ध पनि देखिन्छ । अविश्वास र धोकाधडीको मात्रा पनि पर्याप्त छ ।

यदि कसैले मन्त्री फेर्ने कुरागर्‍यो भने ‘बादल नै किन फेर्ने ?’ भन्ने प्रश्न उठ्ने देखिन्छ । उनलाई हटाइहालेमा त्यो तरंगले सबैभन्दा पहिले पूर्वमाओवादी केन्ऽभित्रको बैद्य समूहलाई छुन्छ ।

त्यस अलावा उनीमाथिको एक्सनले जनजाति समुदायलाई पनि तरंगित पार्छ । नेकपाभित्रै अर्को विपक्षी गुट निर्माणको तहसम्म यसले हान्न सक्छ । यातायातको सिन्डिकेटदेखि ठेकेदार तर्साउनेसम्मका कुराले आम जनतामा उनलाई कमजोर पार्नबाट बचाएको छ । देशमा बढेको हिंसा र बलात्कार जस्ता घटनामा या सिङ्गो सरकार वा प्रहरी प्रशासनको आलोचना भए पनि जनस्तरबाट बादलको बिरोध भएको देखिँदैन । यसमा उनी जोगिएका छन् ।

के त्यसोभए बादलको पर्फर्मेन्स राम्रो छ त ? त्यस्तो हुँदै होइन । बरु, गृह मन्त्रालय हो वा उनको अड्डा वाइसीएलको अखडा हो भन्नेमा दोधार हुने अवस्था छ । ट्रमा सेन्टरका डाक्टरलाई उठाइएको वा लेनिन विष्टको घटनाले त्यसै भन्छ ।

उता बादलको काँधमा बन्दुक राखेर विप्लवविरुद्ध पड्काउने काम पनि जारी छ । यो मिशनमा गैरवामपन्थीको पनि साथ र सहयोग छ भन्ने कुरा स-साना कुरामा मानवअधिकारको कुरा उठाउनेहरुको प्रकाण्ड माथिको काण्डमा देखिएको मौनताले पुष्टि गरिरहेको छ । जबसम्म यो उद्देश्य पूरा हुँदैन, तबसम्म बादलको उपादेयता पनि नसकिने देखिन्छ ।

क्याबिनेटको टिम परिवर्तन गर्दा बादलका बारेमा गरिएको चर्चा झैँ एक-एक जनाको पनि पक्कै हरेक कोणबाट मूल्यांकन होला नै । तर, फेरबदल चाहीँ जरुरी नै छ । नत्र ‘ड्यामेज कन्ट्रोल’ को अर्को विकल्प अहिले नै ओली-प्रचण्डसँग छैन ।

त्यसो त मन्त्री परिवर्तन गर्दैमा नेकपा जोगिन्छ नै भन्ने चाहिँ होइन । संकट टार्न गरिने एउटा सहज विकल्प मात्रै हो, टिमको हेरफेर ।

प्रचण्डको तीर्थाटन

नेकपाको सरकार बाहिर बसेको अध्यक्षको हैसियतमा प्रचण्ड भारत गएका छन् । त्यहाँबाट फर्केपछि चीन भ्रमणमा जाँदैछन् । एक अर्थमा भन्ने हो भने यो उनको राजनीतिक तीर्थाटन हो । तर, उनको शब्दमा यो भ्रमण नेपालमा छिमेकीहरुबाट लगानी भित्राउने उद्देश्यले हुन लागेको हो ।

तर, विरोधाभासपूर्ण कुरा यो हो कि उनी आˆनै मर्जीले जाँदै छैनन् र यो कुरा उनले स्वीकारी सकेका छन् । त्यसो भए उनी किन पहिले भारत अनि नेपाल फर्केको छैठौं दिनमा चीन जाँदैछन् ?

अप्रमाणित सत्य यो हो कि नेपालको वर्तमान सत्तासँग विशेषरुपमा चीन सन्तुष्ट छैन । नेपालमा लगानी गर्ने सन्दर्भमा चीन उत्सुक नदेखिएको पछिल्लो प्रमाण हो, काठमाण्डौंमा बिमस्टेक सम्मेलन जारी रहेकै बेला पश्चिम सेतीबाट चीनले हात झिकेको घटना ।

ओली सरकारको सानको रुपमा परिभाषित हुन सक्ने केरुङ-रसुवागढी रेलमार्गमा पर्ने अन्तरदेशीय प्रशासरण लाइनमा चीनले अनुदान नदिने चर्चासँगै कमजोर बनेको छ । अन्तरदेशीय प्रशारण लाइन अनुदानमा निर्माण गर्न नसक्ने कुरा चीनले स्पष्ट पारिसकेको छ । यसरी हेर्दा चीनबाट लगानी भित्रिने कुरामा सकारात्मक संकेत छैन ।

ओली सरकारको दक्षिण ढल्काइप्रतिको चीनको असन्तुष्टि महसुस हुने गरी यी केही घटनाहरु सतहमा आएका छन् । यसले के स्पष्ट पार्छ भने प्रचण्डले उनीहरुसँग लगानीको कुरा मात्रै गर्दै छैनन् । बरु असन्तुष्टिभित्र कसरी खेल्न सकिन्छ भन्नेबारे चाहीँ पक्कै पनि उनले सोचेका होलान् ।
ओली सरकारले यहाँ अत्यन्त बलियोसँग काम गरोस् भन्ने पक्षमा भारत छैन । यो सरकार कुन सेन्टिमेन्टका आधारमा बनेको हो भन्ने उसले बुझेको छ । त्यसैले विगतका तीता अनुभवबाट सिक्दै भित्रीखेल मार्फत गोटी चाल्ने दाउमा छ ऊ ।

सकेसम्म प्रचण्डलाई नै किन प्रयोग नगर्ने भन्ने भारतीय रणनीतिको गन्ध प्रचण्डको भारत भ्रमणअगाडि नै काठमाडौंमा फैलिसकेको छ ।

ड्यामेज कन्ट्रोलको उपाय

ओली सरकारले अहिले नै आफ्नो लोकपि्रयता र सञ्चित शक्तिमा तिब्र गतिमा देखापरेको ह्रासको दरलाई न्यून गर्न आवश्यक कदम चाल्नु जरुरी छ । यसका लागि पार्टी एकताको कामलाई जतिसक्दो चाँडो टुग्याउने, सरकारको भूमिका बढाउने र प्रमुख दुई छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित एवं प्रगाढ पार्ने काम गर्नुपर्छ ।

पार्टी एकताले ठूलो समस्या नपार्न सक्छ । माधवकुमार नेपाललाई भित्तामा पुर्‍याइएको अवस्था छ, र्फकन नदिए भैगो । बादललाई सरकारमा राखिएकै छ, नचलाए पुगिगो । प्रचण्डले दुवै छिमेकीहरुबाट ओली सरकारलाई नै सहयोग होस् भन्ने चाहना राख्ने हो र सन्तुलित ढंगले सम्बन्ध राखौं भनेर प्रधानमन्त्री केपी ओलीलाई पनि सम्झाउने हो भने हाललाई आत्तिनुपर्ने अवस्था टार्न सकिएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment