+
+

पौवा भञ्ज्याङबाट देखिएको पूर्वी नेपाल

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०७५ भदौ २३ गते १३:०१

मेची राजमार्गको यात्रामा ईलाम र पाँचथरको सीमाना राँके बजार पुग्दा प्रायः सधैं कुहिरोले छोपिएको हुन्छ । यात्रुलाई खाना, खाजा खुवाउन यहाँ गाडी रोकिन्छन् । झापाको दमकबाट शुरु भएर भित्री ईलाकाहरु हुँदै आएका कच्ची सडक यहीँ जोडिन्छन् । राँके बजार वरिपरि नाङ्गा डाँडाहरुको दृश्य कुहिरोको लुकामारीमा रमाइलो देखिन्छ ।

सडक बन्नुअघि बाल्यकालमा पैदल हिँडेर राँके हुँदै गएको मलाई अलिअलि सम्झना छ, त्योबेलामा पनि यी डाँडाहरु यस्तै नाङ्गै थिए । परिवर्तन भनेको सडक बन्यो र सडकका दाँयाबाँया घर थपिए । बिजुलीको तार पनि झुण्डिएको छ । तर, बिजुली त्यति भरपर्दो छैन । क्रंकिटका घरहरु थपिँदैछन् । स्थानीय सामाग्रीले बनेका परम्परागत घरहरु ओझेलमा पर्न थालेका छन् ।

राँके बजारबाट अगाडि लागेपछि ठाडो उकालो आउँछ । बेस्सरी धुवाँ फाल्दै कर्कश आवाज निकालेर उकालो चढेको गाडीले पौवा भन्ज्याङ्गमा बिसाउँछ । ८२०० फिटमा अवस्थित पौवा भन्ज्याङ्गबाट जब म कञ्चनजङ्गालाई हेर्छु, दिमागको तन्तु फरफराउन थाल्छ । अफ्रिकाबाट सत्तरी हजार वर्षअगाडि हिँडेको होमो स्यापिन्स प्रजाति यो कञ्चनजंघाको काखमा कसरी आइपुग्यो ? कहिलेदेखि यी डाँडाकाँडा ढाकेर मानिसहरु बसेका होलान् ?

रित्तिँदो गाउँ, निराश मन

पाँचथर जिल्लाको जनसंख्या घट्दो छ । ०५८ सालको जनगणनामा २ लाख २ हजार ५६ रहेको जनसंख्या ०६८ सालको जनगणनामा आइपुग्दा १ लाख ९१ हृजार ८१७ मा झरेको छ । पाँचथर जिल्लाका भित्री गाउँघर घुम्दा मैले कतिपय घरमा ताला लागेको देखेको छु । सरकारी तथ्याँकले पनि देखाउँछ- ०६८ सालको जनगणनामा पाँचथरका ४१ शजार १७६ घरधुरीमध्ये करिब एक तिहाई घरधुरी अनुपस्थित छन् ।

यसको अर्थ, जो १ लाख ९१ हृजार ८१७ मा गणना भएको छ, तिनीहरुमध्ये एक तिहाई पाँचथर बाहिर छन् । पाँचथरको करिब आधा जनसंख्या जिल्ला बाहिर रहेको मेरो मोटामोटी अनुमान छ । पाँचथरको गाउँघर रित्तिदोँ छ । बसाईं जाने क्रम रोकिएको छैन । मनहरु निराश छन् ।

निराश गाउँलेहरु देख्दा यी पहाडहरु पनि उदाशीमा डुबेका हुन् कि जस्तो मलाई लाग्थ्यो । अमरपुरमा काबेली कोरिडोरको विद्युत सबस्टेशन निर्माणाधीन थियो । जहाँ म धेरैपटक पुगेँ । विद्युत सबस्टेशन विकासको एउटा ठूलो पूर्वाधार हो । मेची राजमार्ग जस्तै काबेली कोरिडोर प्रसारण लाइन विकासको अर्को लाइफलाइन हो । म स्थानीय बासिन्दाहरुसँग भलाकुसारीमा सम्झाउँथे ।

पौवा भञ्ज्याङ्गको पर्यटकीय सम्भावनाका बारेमा धेरै भनिरहनुपर्दैन । तर, यहाँ असीम सम्भावना भएर पनि यसतर्फ पहल भएको छैन

हाम्रा नेपाली दाजुभाइ, दिदीबैनीहरु व्यवहारमा असल र मिजासिला छन् । तर, जब राजनीतिक दल, सरकार र सरकारी कामकुराको प्रसङ्ग आउँछ, चाहे त्यो अनपढ किसान होस् वा शिक्षित व्यक्ति नकारात्मक रुपमा प्रस्तुत हुन्छन् । पाँचथर मात्र होइन, नेपालको अरु जिल्लामा घुम्दा पनि मेरो यस्तै अनुभूति छ । मलाई लाग्छ- नेपाली समाजमा गहिरो कुण्ठा छ । नेपाली समाज किन कुण्ठाग्रस्त बन्न पुग्यो र यो अवस्थाबाट कसरी बाहिर निकाल्न सकिन्छ भन्ने विषयमा समाजशास्त्रीय अध्ययन हुनु जरुरी छ ।

आज जुन अमेरिका जान नेपालीहरु मरिहत्ते गर्छन्, जुन अमेरिकालाई धरतीकै स्वर्ग ठान्छन्, त्यो अमेरिका त्यसै बनेको होइन । सात पुस्ताको मेहनतले अमेरिका संसारकै धनी र शक्तिशाली मुलुक बनेको हो । आजभन्दा करिब सय वर्ष अगाडि अमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्टले भनेका रहेछन्- तिमी जे सक्छौ, तिमीसँग जे छ, त्यसैले तिमी जहाँ छौ, त्यहीँ गर । यो भनाईलाई हामी नेपालीले आफूसँग जोडेर हेरौं त । ५० लाख नेपाली विदेशमा छौं, बाँकी जो देशभित्र छौं, कुण्ठाग्रस्त छौं ।

कुल १२४१ वर्ग किलोमिटर क्षेत्रफल भएको पाँचथर जिल्ला हाल ८ वटा स्थानीय निकायमा बाँडिएको छ । पाँचथर जिल्ला लिम्बू जातिको बाहुल्य छ । जनगणना अनुसार लिम्बू ४२ प्रतिशत छन् । त्यसैगरी दोश्रोमा राई जाति १४ प्रतिशत छन् ।

पौवा भञ्ज्याङदेखि चियो भञ्ज्याङसम्म

मौसम उघ्रिएका बेला पौवा भन्ज्याङ्गबाट सगरमाथादेखि कञ्चनजंघासम्म हिमश्रृंखला आँखैअगाडि देखिन्छ । हिउँदमा बेलामौका हिउँ पर्छ । पौवा भञ्ज्याङ्गको पर्यटकीय सम्भावनाका बारेमा धेरै भनिरहनुपर्दैन । तर, यहाँ असीम सम्भावना भएर पनि यसतर्फ पहल भएको छैन ।

मेची राजमार्गमा ओहोर-दोहोर गर्दा पौवा भन्ज्याङ्गले मलाई आकर्षित गरे पनि त्यहाँ धित मर्ने गरी बस्न पाएको थिइनँ । एक दिन झापाको उखुम गर्मीबाट उम्किन पौवा भञ्ज्याङ्ग साँझमा पुगेँ । त्यहाँ त बास पाउनै गाहृो रहेछ । कामचलाउ खालको होटलमा रात कटाइयो ।

अहिले पनि पौवा भन्ज्याङ्ग यात्रुलाई चिया, चाउमिन बेच्ने मेची राजमार्गको बिसौनीभन्दा माथि उठ्न सकेको छैन । पाथिभरा दर्शन गर्न जाने तलबाट आन्तरिक पर्यटकको लर्को आउँछ । कञ्चनजंघा जाने विदेशीहरु बढ्दैछन् । तिनीहरुका लागि यो सुन्दर पौवा भञ्ज्याङ्ग एउटा गजब पर्यटकीय विश्रामस्थल हुन सक्छ ।

पौवा भन्ज्याङ्ग नजिकै एक व्यापारीको घरमा पुगेको थिएँ । त्यहाँका व्यापारीहरु जडीबुटी खरिद गर्दा रहेछन् । संकलन गर्नेबाट उनीहरु घाँसको भाऊमा किन्छन् । अलिअलि नाफा खाएर बिर्तामोड झार्छन् । जिविसले ढाट तेर्साएर पैसा असुल्थ्यो । (अहिले ढाट हट्यो कि ?) बिर्तामोडबाट ती जडिबुटी कहाँ जान्छ, त्यसबाट के के बन्छ, धेरैलाई थाहा छैन । आफ्ना मूल्यवान कच्चा पदार्थ कौडीको भाउमा बाहिर जाँदा त्यस उपर मतलव नराख्ने सरकार भइदिँदा आम नागरिकमा कसरी समृद्धि आउला ?

आम नागरिकले समृद्धि महशुस गर्न नपाई कालाबजारी र सिन्डिकेट व्यापारीको आर्थिक स्थिति अवश्यै समृद्ध भएको छ । यसैले आम नेपाली जनता उसै गरीब हुने नै भए । धन्न, विदेशमा मजदुरी गर्ने ठाउँ छ । र, जीविका चलेको छ ।

प्रशोधन गरी जडीबुटीको सारत्तत्व निकाल्ने प्रविधि खासै ठूलो कुरा होइन । अदुवा लगायत धेरैजसो जडिबुटीको वाष्पीकरण गरेर तेल निकालिन्छ । त्यस्ता एकाध वाष्पीकरण गर्ने थलो नबनेका होइनन् । तर, पर्याप्त संख्यामा र स्तरीय मेसिन छैन । त्यसका लागि लगानीको अभाव पनि नहोला । अन्तराष्ट्रिय बजारमा हिमाली जडिबुटीको ठूलो माग र उच्च मूल्य छ । तर, यसतर्फ हामी चुकिरहेका छौं ।

पुष्पलाल मध्यपहाडी राजमार्गको जिरो प्वाइन्ट पाँचथरको चियोभन्ज्याङ्ग हो । मध्यपहाडी राजमार्गको गणेशचोक भन्ने ठाउँमा मेची राजमार्गसँग मिल्छ । त्यहाँबाट जोरसालसम्म साविक मेची राजमार्ग नै कायम छ । जोरसालबाट मध्यपहाडी राजमार्ग तमोर ओर्लेर तेहृथुमतिर उकालो लाग्छ । चियोभन्ज्याङ्गदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी राजमार्ग १७७६ किलोमिटर लामो छ ।

अझै यो राजमार्गको पुरै खण्ड निर्माण भैसकेको छैन । कुनै मौका मिलेमा चियोभन्ज्याङ्गदेखि झुुलाघाटसम्म मोटरबाइक यात्रा गर्ने मेरो रहर छ । यसै मध्यपहाडी राजमार्गमा सरकारले दशवटा नमूना शहर निर्माण गर्ने घोषणा गरेको छ । त्यसमध्ये एउटा हो- पाँचथरको सदरमुकाम फिदिम बजार ।

मध्यपहाडी राजमार्गले सिर्जना गर्ने आर्थिक-सामाजिक अवसरलाई सदुपयोग गर्दै नमूना शहर बसाउनु राम्रो कुरा हो । तर, मेरो व्यक्तिगत धारणामा फिदिम बजारलाई छनौट गर्नु उपयुक्त होइन । किनकी फिदिमले शहरको रुप लिइसकेको छ । यहाँ आधारभूत संरचना र सेवा सुविधा उपलब्ध छ । यी भएका कुराहरुलाई मात्र स्तरोन्नतिको खाँचो छ ।

यदि शहर नै बसाउने हो भने नयाँ ठाउँमा बसाउनु उपयुक्त हुन्छ । यस हिसाबले जोरपोखरी वा गोपेटार-हिलिहाङ्ग क्षेत्र उपयुक्त स्थान हुनसक्छ । फिदिमलाई नमूना शहरको रुपमा छनौट गर्दा जिल्लावासीबीच छलफल चलाइयो कि चलाइएन- मलाई थाहा छैन । अझै फिदिमलाई नमूना शहर बनाउने काम खासै अगाडि बढेको छैन । त्यसैले यो जिल्लावासीको सरोकारको विषय भएकोले छलफल चलाउँदा राम्रो हुनसक्छ ।

फाल्गुनन्द र लिम्बु संस्कृतिको ऐतिहासिक भूमि

पाँचथर महागुरु फाल्गुनन्दको तपोभूमि हो । यहाँ फाल्गुनन्दका अनुयायी र फाल्गुनन्दको तस्वीर सामु श्रदाले निहुरिने जनता छन् । यदाकदा पाँचथरमा जातीय उग्रवादको कुरा पनि सुनिएको हो । मलाई लाग्छ- महागुरु फाल्गुनन्दले शिक्षादीक्षा दिएकोे सत्यहाङ्ग अर्थात सत्यको बाटोले नै जातीय उग्रवाद निस्तेज भयो/हुन्छ ।

युगौंदेखि यहाँको माटो खोस्रेर, चराचुङ्गगी जन्तुसँग खेलेर र कञ्चन हावापानी खाएर किरात जातिको भाषा, संस्कृति विकास भएको हुनुपर्छ । बाहिरी दुनियाँ भन्नु नै पश्चिममा अरुण नदीपारि सजातीय पल्लो किरात थियो । पूर्वमा टिस्टा नदी छेउछाउ भुटियाहरुको सिक्किम थियो । उत्तरमा हिमालको पर्खाल र दक्षिणको मैदानमा घना जंगल । कहिलेकाँही विजातीय सिक्किमसँग घच्ची हुन्थ्यो, नत्र आनन्द थियो । प्रकृतिको पूजा हुन्थ्यो, प्रकृतिमा नै रमाएको मानवीय जीवन थियो ।

लिम्बुको मुन्धुमले कञ्चनजंघा क्षेत्रमा लिम्बुहरुको उत्पति भएको थियो भन्छ । तर, विज्ञानले मानिस अफ्रिकामा उत्पति भएको पुष्टि गर्छ । यसैले लिम्बूहरुका पूर्वज त्यस क्षेत्रमा केही हजार वर्ष पहिले आई त्यहाँ तिनले भाषा, संस्कृति चाँहि विकास गरेको हुनुपर्छ । यो कुरा लिम्बूहरुलाई बुझाउन निकै गाह्रो भइरहेको मेरा विद्वान मित्र कमल मादेनको कथन छ ।

पौवा भन्ज्याङ्गको डाँडामा उभिएर सोच्दा लाग्छ-  कञ्चनजंघाको काखबाट कति मानिसका हुल यो बाटो हुँदै सुखको खोजीमा मुग्लान झरे होलान् ? जो अझै यिनै डाँडाकाँडामा बसिरहेका छन्, तिनीहरु कतिपयले हामीले त सकेनौं, यतै अडकियौं भनेको मैले सुनेको छु ।

यहाँका गाउँघरमा दुःखैदुःख छ । तैपनि मेची राजमार्ग बनेपछि भित्री गाउँहरुमा कच्ची बाटाहरु पुगेका छन् । गाउँगाउँमा विद्यालय जसोतसो बनेका छन् । तर, शैक्षिक गुणस्तर बिस्तारै खस्कियो । स्वास्थ्य चौकीको भवन छ, स्वास्थ्यकर्मी छैनन् ।

जुगौंजुग एकैनास चलिरहेको समाजलाई आधुनिकताको हावाले छुँदा जीवनशैली बदलियो । परम्परागत खेतीपातीले बदलिँदो जीवनशैली धान्न मुस्किल हुन थाल्यो । अंग्रेजले उन्नाइशौं शताब्दीको शुरुआतदेखि नेपालका पहाडी ठिटाहरु फौजमा लाने प्रचलन छँदै थियो । ०४६ मा बहुदल आएपछि अरब, मलेसियालगायत संसारको कुनाकुनासम्म नेपाली युवायुवतीहरु श्रम बेच्न जान थाले । तिनीहरु पनि धेरैजसो आफ्नो थातथलो फर्केनन् ।

बहुराष्ट्रिय आईटी कम्पनी सत्यमका संस्थापक तथा हाल भारतीय राजनीतिका सक्रिय नन्दन निलेकनीको “इम्याजिनिङ्ग इण्डिया” भन्ने पुस्तक पढेको थिएँ । त्यस पुस्तकमा लेखिएजसरी सोच्न नसके पनि पौवा भन्ज्याङ्गको डाँडामा घोत्लिँदा मेरो मनमा उब्जेका केही विचारहरु हुन् यी ।

पौवा भन्ज्याङ्गको अलि मुन्तिर महागुरु फाल्गुनन्दको तपोभूमि छ । मेची राजमार्गको कान्छी बजार भन्ने ठाउँमा ओर्लेर देब्रेतर्फ उकालो लाग्दा लब्रेकुटी पुगिन्छ । जहाँ महागुरु फाल्गुनन्दले तपस्या गरेका थिए । फिल्म, संगीत र खेलकूदका सेलिब्रेटीहरुले संचारमाध्यम ढाकिएको जमानामा महागुरु फाल्गुनन्दबारे कमै सुन्न देख्न पाइन्छ । पपस्टारका नालीबेली हेक्का राख्ने अचेलका नयाँ पुस्ताले “को फाल्गुनन्द” भन्ला । लोकसेवाको सामान्य ज्ञान घोक्ने युवाले महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति हुन् भनेर थाहा पाएको हुनसक्छ ।

पुरातनवादी लिम्बूहरुले फाल्गुनन्दको पथलाई नमान्दा रहेछन् । फाल्गुनन्दको सत्यहाङमा पथ भन्दा लिम्बूहरुको ठूलो संख्या पुरातनवादीतर्फ रहेछ

त्यसो त मलाई पनि महागुरु फाल्गुनन्दबारे खासै जानकारी थिएन । फाल्गुनन्द किरात धर्मगुरु हुन भन्ने मेरो बुझाइ थियो । तर, उनी महान समाज सुधारक पनि रहेछन् । फिदिमका सामाजिक अभियन्ता युधिष्ठिर अमगाईंसँग एक चिया भेटघाटमा महागुरु फाल्गुनन्द र उनको तपोभूमि सिलौटी क्षेत्रको पर्यटन विकास बारे छलफल भयो ।

सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान प्रकट गरेको छ, तर यहाँका लिम्बू साथीहरुलाई नै उति मतलब छैन- अमगाईंले चिन्ता प्रकट गरे । एउटा ब्राम्हाण युवाको त्यो चिन्ता सुन्दा गैह्रकिराती समुदायले पनि महागुरु फाल्गुनन्दप्रति श्रद्धा राख्दो रहेछ भन्ने बुझिन्छ ।

मैले फाल्गुनन्दबारे सामग्रीहरु खोजी गरी हेर्दा खासै फेला पारेको थिइनँ । उनको जन्म वि.सं. १९४२ सालमा ईलामको ईभाङ्गमा भएको र वि.सं. २००५ सालमा परलोक भएको भन्ने जानकारी विकिपिडियामा भेटिन्छ । किरात धर्म तथा साहित्य उत्थान संघ सन १९७९ तिर पाँचथरको फिदिममा स्थापना भएको थियो भन्ने तथ्य सिलोङ्ग (भारत) का प्राध्यापक टीबी सुब्बा लिखित “पोलिटिक्स अफ कल्चरः अ स्टडी अफ थ्री किरात कम्युनिटी” पुस्तकमा उल्लेख छ । जेहोस्, प्रयासचाँहि भएको रहेछ ।

काबेली कोरिडोर प्रसारण लाइनको जागिरे कामको सिलसिलामा ०६९ सालको हिउँदमा पाँचथरको नवमीडाँडा, ईम्बुङ्ग, पौवासरताप, चिलिङ्गदिन गाविसहरु हुँदै म पैदल हिँडेको छु । अहिले ती गाविसहरु लगायत क्षेत्रलाई समेटेर फाल्गुनन्द गाउँपालिका बनाइएको छ ।

हालसालै २०७५ साल असार महिनामा पत्रिकामा महागुरु फाल्गुनन्दबारे वरिष्ठ साहित्यकार बैरागी काँइलाको संस्मरण पढ्न पाएँ । उनीजस्तो विद्धानले महागुरु फाल्गुनन्दबारे एउटा ग्रन्थ नै लेखिदिएको भए कति राम्रो हुन्थ्यो । जेहोस्, नेपाल पत्रिकामा प्रकाशित वैरागी काँइलाको संस्मरण जानकारीमूलक छ ।

हालैको दशकमा फाल्गुनन्दलाई राज्यले राष्ट्रिय विभुतिको दर्जा दिएकाले तिनको प्रशिद्धी अझ उँचो हुन पुगेको छ । एक जिज्ञाशुको रुपमा मैले महागुरु फाल्गुनन्दलाई बुझ्ने क्रममा थप जानकारी पाइयो । त्यो के भने पुरातनवादी लिम्बूहरुले फाल्गुनन्दको पथलाई नमान्दा रहेछन् । फाल्गुनन्दको सत्यहाङमा पथ भन्दा लिम्बूहरुको ठूलो संख्या पुरातनवादीतर्फ रहेछ ।

पुरातनवादी लिम्बूहरुले सत्यहाङ पन्थीलाई हिन्दूको वर्णशंकर रुप मान्दा रहेछन् । दरबारबाट सञ्चालित जोसमनी पन्थबाट प्रभावित भई फाल्गुनन्दले सत्यहाङमा पन्थ स्थापना गरेका थिए भन्ने केही लिम्बू बुद्धिजीविहरु पनि भेटिन्छन् । त्यो कुरा कति सत्य हो, उनीहरु नै जानुन् । कर्मकाण्ड विधिमा जे जे भिन्नता भए पनि लिम्बूहरुमा मुख्य शक्ति केन्द्र ‘यूमा’लाई मानिदों रहेछ । यसैले होला, हिजोआज लिम्बूको धर्म ‘किरात’ होइन, ‘युमा’ हो भन्ने बहस चर्चामा आउन थालेको छ ।

मेची राजमार्ग उत्तर-दक्षिणको लाइफलाइन

राणाकालसम्म नेपालमा काठमाडौं उपत्यका बाहिर गाउँ नै गाउँ मात्र थियो । कहीँ पनि शहर भन्न लायक स्थान थिएन । नेपालको परम्परागत रुपमा नेवार मात्र शहरिया जाति हो । काठमाडौं उपत्यकामा नेवारहरुको नगरीय सभ्यता थियो । राणाकालमा नै जब प्रशासनिक केन्द्रहरु धनकुटा, ईलाम, चैनपुर लगायतका ठाउँहरुमा खडा भयो, तिनै प्रशासनिक केन्द्रमा नेवारहरु व्यापार गर्न आइपुगे । जनघनत्व बढदै जाँदा बिस्तारै ती प्रशासनिक केन्द्रहरु नगरको रुपमा विकास हुन पुगेका हुन ।

तराई मधेसका बिर्तामोड, दमक, ईटहरी लगायतका शहरहरु कुनै योजनाबद्ध ढंगबाट बसाइएको होइन । महेन्द्र राजमार्गले सिर्जना गरेको आर्थिक-सामाजिक अवसरहरुले ती शहर जन्मिएका हुन । सरकारी घोषणा र प्रयासमा होइन कि महेन्द्र राजमार्गका नयाँ शहरहरु आफैं जबर्दस्त खडा भएका हुन् ।

हामीलाई पैसा आउने श्रोत चाहियो । त्यसका लागि कि त विदेश जाउ कि यहीँ उद्यम गर । वैदेशिक रोजगार पिसाबको न्यानो मात्रै हो । हामीले गर्नुपर्ने आफ्नै उद्यम हो

उन्नाइसौं शताब्दीताका अमेरिकाको कुनै निर्जन स्थानमा नयाँ शहर बसाए जस्तो परिस्थिती नेपालको सन्दर्भमा छैन । हामीले गर्ने भनेको भैरहेको गाउँबस्ती वा ग्रामिण बजारलाई शहरको रुपमा विकास गर्ने हो । नेपालको पहाडी भूगोलमा ठूला शहरहरु भन्दा पनि ५/१० हजार जनसंख्या भएको स-साना नगरहरु उपयुक्त हुन्छन ।

मेची राजमार्ग उत्तर-दक्षिणको लाइफलाइन हो । मध्यपहाडी राजमार्ग अन्तरजिल्ला जोडने अर्को लाइफलाइन बन्ने निश्चित छ । यी दुईटा लाइफलाइनको बीचमा पर्ने पाँचथरको क्षेत्रमा आर्थिक-सामाजिक अवसरको ठूलो सम्भावना छ । तर यो सम्भावना नयाँ ठाउँलाई शहरको रुपमा विकास गर्न उपयोग गरिनु पर्छ ।

तमोर नदी बेसिनमा ठूला जलविद्युत आयोजनाहरुको सम्भावना छन् । ती आयोजनाहरुबाट विस्थापित परिवारलाई सरकारले नयाँ शहरमा व्यवस्थापन गर्न सक्छ । नयाँ शहरमा घरैघरमा मात्र बनाएर हुँदैन । ती शहरको बासिन्दाहरुलाई रोजगारी वा व्यापार व्यवसायको अवसर चाहिन्छ ।

कृषि र वनमा आधारित घरेलु तथा साना उद्योगहरु त्यहाँ स्थापना गर्न सकिन्छ । पाँचथर जिल्लामा हेंवा, काबेली लगायत नदीहरुबाट जलविद्युत उत्पादन शुरु भैसकेको र हुने अवस्थामा छन् । त्यसैले पाँचथर जिल्लामा उद्योगको लागि प्रशस्त बिद्युत उपलब्ध छ । पौवा भन्ज्याङ्गबाट ओरालो झर्दा राई बस्तीमा सडकको दाँयाबायाँ नेपाली कागज उत्पादन देख्न सकिन्छ । ती उत्पादित कागज सोझै काठमाडौं पठाइन्छ । ती कागजबाट बन्ने विभिन्न सामग्रीहरु पाँचथरमै किन नबनाउने ?

जोरपोखरी र आसपासको क्षेत्रमा उत्तीसका गोलिया, लोक्ता, जडिबुटी, आलु जस्ता स्थानीय उत्पादनको भारी ट्रकमा लोड भैरहेको देखिन्छ । ती कच्चा पदार्थलाई खपत गर्ने उद्योग स्थापना गर्न सकिन्छ । जसले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्छ भने रोजगारी र व्यापार व्यवसायको अवसरलाई फराकिलो पार्छ । कसैलाई यो हावादारी कुरा लाग्न सक्छ । तर, हामीले अब नगरी नहुने कुरा चाँहि यही हो ।

हामीले बाटो भन्यौं, बाटो आयो । बिजुली भन्यौं, बिजुली बाल्यौं । शिक्षा, स्वास्थ्यमा लभगभ पूर्वाधार छ, तर अलिक बेइमानी भैरहेको छ, त्यसलाई पनि ठीक ठाउँमा ल्याउन सकिएला । तर हामीलाई पैसा आउने श्रोत चाहियो । त्यसका लागि कि त विदेश जाउ कि यहीँ उद्यम गर । वैदेशिक रोजगार पिसाबको न्यानो मात्रै हो । हामीले गर्नुपर्ने आफ्नै उद्यम हो । पाँचथरमा नयाँ शहरको सोचसँगै यी आर्थिक-सामाजिक पक्षहरुलाई समेट्न सकिन्छ ।

आखिर नेपाली जनताले चाहेको शान्ति, सुशासन, विकास र समृद्धि हो । विगतको दश वर्षे माओवादी द्वन्द्वबाहेक करिब २०० वर्षयता नेपालमा शान्ति नै छ । तर, सुशासन, विकास र समृद्धि जनअपेक्षा अनुसार हुनसकेको छैन । माओवादी द्वन्द व्यवस्थापन र राजनीतिक परिवर्तन पश्चात नेपालमा विकास र समृद्धिको मूल मुद्दा बाँकी छन् । तर, विकास र समृद्धिका लागि सुशासन अपरिहार्य शर्त हो । सुशासनका लागि स-साना कुराहरु गरे पनि त्यसले ठूलो परिवर्तन ल्याउँछ । जस्तै- सार्वजनिक यातायातमा सिन्डिकेटको खारेजी ।

लेखकको बारेमा
मिलन मनुवा दाहाल

भ्रमणमा रुचि भएका मिलन मनुवा दाहाल प्रकृति र समाजबारे अध्ययन गर्न र लेख्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?