Comments Add Comment

बेगनासमा बेपत्ता ६ जनाको शव भेटियो, लाइफ ज्याकेट नलगाउँदा दु:खद् घटना

२४ भदौ, पोखरा । बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बेगनासा कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो ।

बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको हो । ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको छ ।

घटनापछि उद्दार गरि उपचार गर्न पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चलकी क्षेत्रीय अस्पताल पोखरामा शनिबारै उपचारको क्रममा निधन भएको थियो ।

बेपत्ता सबैको शव भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

सपना खनाल र निशा पौडेलको उद्दार गरिएको छ । दिलकुमारी जलारी र उनका छोरा १७ वर्षीय कुमारले २ जनाको उद्दार गरी ज्यान बचाएका थिए । तर, सपनाले श्रीमान र छोरा गुमाएकी छन् भने निशाको छोराको पनि डुंगा दुर्घटनामा मृत्यु भएको छ ।

लाइफ ज्याकेट नलगाउँदा ज्यान गयो

डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् भने डुंगा पनि चुहिनो थियो । लाइफ ज्यागेट नलगाएकै कारण उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ ।

बेगनासमा व्यावसायिक डुंगामा लाइफ ज्याकेट अनिवार्य छ तर घरायासी प्रयोगमा रहेका डुंगामा सवारले लाइफ ज्याकेट नलगाउँदा दुखद् घटना घटेको प्रहरी बताउँछ ।

बेगनास गाउँ शोकमा

हरितालिका तीज नजिकिँदै गर्दा भएको दुर्घटनापछि सिंगो बेगनास गाउँ शोकमा डुबेको छ ।

स्थानीय कमलराज कडेंलको घरमा दर खान जाने क्रममा मन्धारे पार्कबाट लिब्दी टुँडा जाँदै गर्दा डुंगा डुबेको थियो । घटनाले परिवारलाई त बिक्षिप्त बनाएकै छ तर, सिंगो गाउँ शोकमा डुबेको स्थानीय श्रीराम कडेंलले जानकारी दिए ।

‘तीजको मुखमा गएको घटनाले सिंगो गाउँ शोकमा डुबेको छ,’ स्थानीय कडेंलले भने, ‘एकैपटक ८ जनाको ज्यान जाने गरी भएको घटनाले सिंगो गाउँलाई आसुँमा डुबाएको छ ।’

पोखरा महानगराका मेयर मानबहादुर जिसीले डुंगा दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । जिसीले विज्ञप्ति जारी गरी घटनामा निधन भएकाको अमर आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

‘डुंगामा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी नपनाउँदा वर्षेनी यस्ता दुर्घटना पटकपटक भएका छन्’, मेयर जिसीको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाप्रति महानगरको ध्यानाकर्षण भएको र जलयात्रामा अपनाउनुपर्ने सावधानी अपनाएर मात्र यात्रा गर्न आम नगरबासी र सबैमा अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment