Comments Add Comment

वातावरणका लागि किन खतरनाक हुन्छन् गाईभैँसी ?

जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक तथा पर्यावरणविदहरुका लागि लामो समयदेखि गाईको ग्यास तथा डकार चिन्ताको विषय बनिरहेको छ ।

वायुमण्डलमा हानिकारक मिथेनको अधिक मात्राका लागि गाईभैँसीको डकार तथा पेटबाट निस्किने ग्यासलाई पनि जिम्मेवार मानिन्छ ।

वैज्ञानिकहरुले मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार गर्ने कोसिस पनि गरिरहेका छन् । गाइभैँसीको खानामा लसुन, ओरेगेनो, जाफरान तथा अन्य सागपातहरु संलग्न गरेर त्यसको असरको बारेमा पनि वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले हालै एक अनुसन्धान मार्फत् गाईको ग्यासलाई कसरी कम हानिकारक बनाउने भन्ने उपाय पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार गाईलाई सामुद्रिक झार खुवाउनाले गाईको ग्यासमा मिथेनको मात्रा कम हुनसक्छ र यसले पर्यावरणको रक्षा गर्दछ ।

यस शोधका क्रममा वैज्ञानिकहरुले करीब एक दर्जन दुधालु गाईहरुको खानामा समुद्री झार खुवाए । तत् पश्चात् गरिएको परीक्षणका क्रममा गाईको डकार तथा ग्यासबाट उत्पन्न हुने ग्यासमा मिथेनको मात्रा ३० प्रतिशतले घटेको पाइयो ।

शोधकर्ता पशु वैज्ञानिक अरमियास केब्रियाबका अनुसार गाईभैँसीको खानामा थोरै मात्रामा पनि समुद्री झार खुवाउँदा उत्सर्जन गर्ने ग्यासमा मिथेनको मात्रा चामत्कारिक रुपमा कमी आउने कुरा देख्दा आफुलाई आश्चर्य लागेको बताए ।

उनको टोलीले अब ६ महिनासम्म सोही अध्ययनलाई निरन्तरता दिनेछन् । यहीँ अक्टोबरदेखि नयाँ शोध सुरु हुनेछ ।

शोधकर्ताका अनुसार यदि गाईवस्तुको खानामा थोरैमात्र परिवर्तन गर्दापनि वायुमण्डलमा मिथेनको मात्रा कम गर्न सकिन्छ र यसले कार्वन उत्सर्जन कटौतीमा सकारात्मक असर पर्नेछ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको रिपोर्ट अनुसार गाईभैँसी, बाख्रा भेँडाजस्ता चौपायाँहरुले दिनभर पागुरी लगाउँदै डकारिरहन्छन् । पेटमा घाँसपात जस्ता फाइबरयुक्त खानेकुरालाई विच्छेदन गर्नका लागि असंख्य व्याक्टेरियाहरु हुन् । त्यसक्रममा चौपायाँको पेटबाट ठूलो परिमाणमा मिथेन ग्यास निस्किन्छ ।

सन् २००६ मा राष्ट्रसंघले निकालेको एक रिपोर्ट अनुसार जलवायु परिवर्तनका लागि जिम्मेवार रहेको कार्वनडाईअक्साइडको जति परिमाणमा उत्सर्जन गाडी तथा कारखानाहरुबाट हुन्छ त्यसभन्दा धेरै उत्सर्जन विश्वमा पालन गरिएका गाईवस्तुको पेटबाट निस्किन्छ । उक्त रिपोर्ट अनुसार वायुमण्डललाई सबैभन्दा ठूलो खतरा गाईभैँसीबाट रहेको छ । किनभने कार्वन डाइअक्साइडभन्दा मिथेन ग्यास वायुमण्डलका लागि धेरै गुणा हानिकारक रहेको छ अर्थात् यो निकै हानिकारक हरित गृह ग्यास हो । यसकारण गाईभैँसी विश्व उष्णिकरणका सबैभन्दा ठूला कारकतत्व हुन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment