Comments Add Comment

उपमेयरले लगाइन् गैंडाकोट नगरपालिका कार्यालयमा ताला

२६, भदौ, चितवन । नवलपुरको गैंडाकोट नगरपालिकामा उपमेयरले नै नगरपालिकामा तालावन्दी गरेकी छिन् । उपमेयर विष्णु कँडेलको नेतृत्वमा आएको टोलीले मेयर छत्रराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

उनीहरुले मेयर पौडेलको नेमप्लेटसमेत उप्काएर फालिदिएका छन् । गत असारको खर्च विवरणसहितको भौचर एकपटक हेर्न प्रमुख प्रशासकीय अधिकृतसँग मौखिक र लिखित रुपमा माग्दासमेत नदिएको कारणले तालावन्दी गरेको उपमेयर कँडेलले दावी गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले मेयरको आडमा जनप्रतिनिधिहरुलाई हेप्ने गरेको भन्दै उपमेयर कँडेलले भनिन् ‘मेयरले समेत अन्य जनप्रतिनिधिलाई केही पनि हैन मैले गर्ने निर्णय नै सर्वेसर्वा हो गरेर अण्डरइष्टिमेट गरे ।’

मेयर छत्रराज पौडेलले जथाभावी तोक लगाएर रकम दिने काम गरेको भन्दै नियमसंगत काम गर्न सुझाएको उपमेयर कँडेलले बताइन् । यता, नगरपालिकाका मेयर छत्रराज पौडेलले बदमासी गर्न नपाएर तालावन्दी गरिएको टिप्पणी गरे ।

अनलाइनखबरसँग कुरा गर्दै मेयर पौडेलले भने, ‘नगरसभा र कार्यकारी परिषद्बाट पास भइसकेको गत बर्षको हिसाब हेर्न माग्नु नियत ठीक नभएको देखियो, उहाँ मलेप -महालेखा परीक्षक) हो कि आलेप (आन्तरिक लेखा परीक्षक) हो ? नगरसभामा के हेर्नुभयो ?’

हिसाब केही गडबड छ भने पाँच जनाको समिति बनाउन आफूले गरेको प्रस्ताव उपमेयरसहितका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबाट अस्वीकार गरेका मेयर पौडेलले बताए ।

पत्रकार कुट्ने जनप्रतिनिधिविरुद्ध किटानी जाहेरी

गत भदौ २२ गते गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार अजय गोरखालीलाई कुटपिट गरे । समाचार संकलनका लागि गएका जनआस्थाका पत्रकारका गोरखालीलाई कुटपिट गर्ने जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी परेको छ ।

हातपात लछारपछारमा संलग्न भएको भन्दै गैडाकोट नगरपालिका वडा ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, वडा १८ का वडा अध्यक्ष तिलबहादुर चितौरे, वडा ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय कार्यपालिका सदस्यहरू सुकबहादुर दराई, कान्छिमाया पुरी, कुमारी रेखा पौडेल, संगीता घिमिरे पण्डित र मेनुका कंडेलविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

भदौ २२ गते शुक्रबार गैडाकोट नगरपालिकाको कार्यपालिका बैठकमा दोहोरो भत्ता लिने कि नलिने भन्ने विषयमा विवाद भएको भन्ने जानकारी पाएपछि सूचना लिनका लागि नगरपालिका पुगेका पत्रकार अजय गोरखाली जनप्रतिनिधिबाटै कुटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment