Comments Add Comment

पहिरोका कारण चिनियाँ नाकामा सडक अवरुद्ध, कन्टेनर बाटैमा रोकिए

२८ भदौ, काठमाडौं । ढुंगासहित पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधन बाटैमा रोकिएका छन् ।

रसुवाको धुन्चे बजारदेखि ३ सय मिटर नजिकको खोपङ्गभीर भन्ने स्थानमा पहिरो खसेपछि करिब ३ सय कन्टेनर र ट्रक बाटैमा रोकिएका छन् ।

रसुवाका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर ओमप्रकाश वाग्लेले बाटो अवरुद्ध भएर मोटरसाइकलसमेत ओहोर–दोहोर गर्ने अवस्था नरहेको बताए ।

आइतबार पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सञ्चालन हुन नसकेको उनले बताए । खोपङ्ग भीरमा पहिरो खसेपछि धेरै गाडीहरु रसुवागढी नाकातर्फ रोकिएका छन् । चीनबाट फर्किएका धेरै कन्टेनरमा स्याउ र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका सामानहरु भएको निमित्त प्रहरी प्रमुख वाग्लेले जानकारी दिए ।

चीनबाट दशैंका लागि तयारी कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन जान लागेका करिब डेढ सय कन्टेनर र ट्रकहरु पनि अगाडि जान सकेका छैनन् ।

टिमुरेबाट स्याफ्रुसम्ममात्रै करिब ५० ट्रक र कन्टेनर रोकिएको सीमा प्रहरी चौकी टिमुरेका इन्स्पेक्टर दिलीप क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, धुन्चेमा करिब ४० ट्रक र कन्टेनर अलपत्र परेका छन् ।

चाडबाडका बेला पटक–पटक बाटो अवरुद्ध हुँदा बजारमा समेत अभाव सिर्जना हुन थालेको व्यावसायीको गुनासो छ ।

यसअघि पनि खोपाङ्गभीरमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । गत भदौ १ गते धुन्चे नजिक दुई ठाउँमा पहिरो जाँदा १५ दिन बाटो ठप्प भएको थियो ।

पहिरो पन्छाउने प्रयास भइरहेको छः प्रजिअ

बाटो खुलाउने प्रयास भइरहेको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले अनलाइनखबरसँग भने– ‘चीनतर्फ जान लागेका र लिएर आएका करिब ३ सय कन्टेनर र ट्रक बाटैमा रोकिएका छन् । मंगलबारदेखि नै पहिरो पन्छाउने काम थालिए पनि ठूला ढुंगा हटाउन कठिनाइ भइरहेको छ ।’

सडक विभागसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ । पहिरो हटाउनका लागि दुई वटा स्काभेटर तथा एक-एक वटा लोडर र जेसीभी प्रयोग भइरहेको छ ।

बाटो छेकेका दुईवटा ढुंगा ब्रेकरले फुटाएर हटाउने प्रयास भइरहेको तर पानी पर्ने क्रम नरोकिएकाले माथिबाट फेरि पहिरो खस्ने जोखिम रहेको प्रजिअले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment