Comments Add Comment

नारायणगढमा राष्ट्रिय लाखे नाच प्रतियोगिता हुने

२९ भदौ, चितवन । चितवनको नारायणगढमा आगामी असोज ३ र ४ गते छैठौ राष्ट्रिय लाखे नाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालको आयोजनामा लाखे नाच प्रतियोगिता हुने भएको हो ।

लाखे नाच प्रतियोगितामा ४० समूहको सहभागिता रहने आयोजकले शुक्रवार नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार प्रतियोगितामा पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न ८७ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, द्धितीयले ५० हजार, तृतीयले २५ हजार र ४ वटा सान्त्वना समूहले दश/दश हजार नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।

प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते विहान नारायणगढमा शोभा यात्रा निकालिने उनले बताए । प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले गर्ने छन् । प्रतियोगितामा १२ देखि १५ लाखसम्म खर्च हुने अनुमान आयोजकको छ ।

लोप हुँदै गएको लाखे संस्कृति जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment