Comments Add Comment

दक्षिण कोरियाली ‘जेम्स बोन्ड, जसले छद्मभेषमा किम जोङ इललाई भेटे

काठमाडौं । यो कथा दक्षिण कोरियाका ‘जेम्स बोन्ड’ को हो, जसले उत्तर कोरियाले दुई परमाणु हतियार विकसित गरेको रहस्य सबैभन्दा पहिले पत्ता लगाएका थिए ।

दक्षिण कोरियाली सेनाका अफिसर तथा गुप्तचर अभियानहरुलाई पुर्णता दिन माहिर पार्क चेइ सियोलाई उत्तर कोरियाका परमाणु हतियारहरुको बारेमा सन् १९९२ मा थाहा भएको थियोे । तर, ती परमाणु हतियार कम क्षमताका थिए । त्यतिबेला पार्कले अमेरिकी एजेन्सी सिआइएसँग मिलेर काम गरेका थिए ।

दक्षिण कोरियाली सेनाको गुप्तचर मिसनको उद्देश्य आफ्नो छिमेकी देशको परमाणु क्षमताको बारेमा सुराक पाउनु थियो । पार्क र अन्य गुप्तचर अधिकारी यो मिसनमा १९९० देखि नै काम गरिरहेका थिए ।

यसभन्दा एक वर्ष पहिले उत्तर कोरियाको योंगब्यान कम्प्लेक्समा एक परमाणु संयन्त्रको स्याटेलाइटबाट लिइएका तस्वीरहरु पहिलोपटक सार्वजनिक भएका थिए ।

पार्कले यसको लागि उत्तर कोरियाको न्यूक्लियर इनर्जीका वैज्ञानिकलाई सम्पर्क गरे । उत्तर कोरियाको परमाणु कार्यक्रमको जानकारी दिन उनले यी वैज्ञानिकलाई मनाए ।यसरी पार्क उत्तर कोरियाको परमाणु हतियारहरुको जानकारी हासिल गर्न सफल भए । दक्षिण कोरियाली गुप्तचर एजेन्सी नेशनल इन्टेलिजेन्स सर्भिस उनको क्षमताबाट प्रभावित भयो ।

१९९५ मा उत्तर कोरियामा घुसपैठ गरी जासुसी गर्नको लागि पार्क चेई सियोलाई विशेष रुपमा चुनियो । चीनको राजधानी बेइजिङमा पार्कले सैन्य कमाण्डरबाट व्यापारीका रुपमा भेष बदले ।

बीबीसीलाई हालै दिएको एक अन्तवार्तामा पार्कले भने, ‘म त्यहाँ पुग्न सफल भएँ, जहाँ अरु दक्षिण कोरियाली जासुस कहिल्यै पुगेका थिएनन् । मैले किम जोङ उनका पिता किम जोङ इललाई पनि भेटेँ ।’

पार्कका अनुसार उनलाई यस्तो उच्च दर्जाको व्यक्तिको रुपमा चिनिनु परेको थियो, जसलाई उत्तर कोरियाली सरकारका ठूला अधिकारीले भेट्न चाहुन् । दक्षिण कोरियाका तत्कालिन राष्ट्रपति किम जोङ इलका नजिकका मानिसबाट उनलाई यो सिलसिलामा सहयोग मिलेको थियो ।

पार्क उनीहरुको माध्यमले उत्तर कोरियाको शक्तिकेन्द्रका महत्वपूर्ण अधिकारी जांग सेयोंग थाएकको नजिक आए । उनी किम जोङ उनका फुपाजु पनि थिए । सन् २०१३ मा किम जोङ उनले थाएकको हत्या भएको थियो ।

भरोसा जित्ने अभ्यास

पार्कका अनुसारङ थाएकसँग उनले नजिकको सम्वन्ध बनाएका थिए । उनी भन्छन्, ‘कसैसँग भेट्नु एउटा कुरा हुन्छ र उनीहरुको भरोसा हासिल गर्न दोस्रो कुरा ।’

उत्तर कोरियाली अधिकारीले उनीहरुलाई कसैसँग काम गर्नुछ भने ती व्यक्तिलाई आफ्नो देशप्रति बफादारीको सपथ लिन लगाउँथे । ‘मलाई एक बयानमा हस्ताक्षर गर्न भनियो । तर, मैले त्यसलाई इन्कार गरेँ । यस्तो गर्न मलाई बाध्य नबनाउनुहोस् भनेँ’ पार्क भन्छन्, ‘मैले उनलाई आफू यहाँ बिजनेस गर्नका लागि मात्रै आएको बताएँ । एक जनाले मतिर बन्दुक ताके । मैले अलिकति हिम्मत गरेर चिच्याउन थालेँ ।’

‘द स्पाई गोन नर्थ’को एक महत्वपूर्ण दृश्यमा पार्कलाई किम जोङ इलसँग भेटेको देखाइएको छ । फिल्ममा किम जोङ इल आफ्नो घरपालुवा कुकुरको साथमा गेस्ट रुमतर्फ बढ्दै गरेको देखिएको छ ।

पार्क बताउँछन्, ‘मेरो पुरै जाँच सकिएपछि मलाई किम जोङ इल भएको ठाउँमा लगिएको थियो ।

किम जोङ इलसँग भेट

किम जोङ इलसँग भेटघाटको क्रममा पार्कले आफूलाई एक दक्षिण कोरियाली विज्ञापन कम्पनीको अधिकारीका रुपमा पेश गरेका थिए । आफू दुवै कोरियाली देशको लागि एक प्रोजेक्टमा काम गरिरहेको उनले बताएका थिए ।

उत्तर कोरियाका अधिकारीहरुले पार्कलाई किम कोङ इलसँग यसकारण भेटाएका थिए ताकि उनले एड्भरटाइजिङको कन्सेप्ट सम्झाउन सकुन् र आफ्नो प्रोजेक्टको लागि मनाउन सकुन् ।

पार्क सम्झिन्छन्, ‘एडभरटाइजिङलाई पूँजीवादको गहना मानिन्छ तर एक साम्यवादी देशलाई पब्लिसिटीको आइडिया बेच्नु ठूलो चुनौतिको कुरा थियो । आफ्नो एडभरटाइजिङ क्याम्पेनलाई अगाडि बढाउन मलाई किम जोङ इलसँग अनुमति लिन थियो ।’

पार्कका अनुसार किम जोंग इल धेरै सौम्य मानिस थिए । उनी पक्का अठोट भएका मानिस थिए, जसमा निर्णय गर्ने क्षमता थियो । उनी आफ्नो एक शब्द पनि दोहोर्‍याउँथेनन् । उनको घुमाउरो नभई स्पष्ट हुन्थ्यो ।

तर, त्यतिखेर नसोचेको कुरा भयो ।

पार्क सम्झिन्छन्, ‘उनलाई यो भेटको समयमा थाहा भयो किम जोङ इल सन् १९९७ को डिसेम्बरको चुनावमा दक्षिण कोरियामा राष्ट्रपति पदमा किम डाई जोङले जितुन् भन्ने चाहन्थेनन् ।

तर, अन्तिममा किम डाई जोङले चुनाव जिते । उनले सन् २००० मा उत्तर कोरियाली सम्मेलनको आयोजना गरेर उत्तर र दक्षिण कोरियालाई एक बनाउने नयाँ कोसिस गरे ।

कोरियाली प्रायद्धिपमा विभाजित भएपछि उत्तर र दक्षिण कोरियाली नेता एक-अर्कासँग भेट गरेको यो पहिलो अवसर थियो ।

तर, उत्तर कोरियालाई उदार नेताको रुपमा डाई जोङ धेरै लोकपि्रय हुनुका साथै चलाख र अनुभवी पनि भएकाले उनलाई सम्हाल्न मुस्किल हुने डर थियो ।

तर, डाई जोङले कम अन्तरले चुनाव जिते र दुवै कोरियाको सम्बन्धको बीचमा एक नयाँ अध्याय सुरु गरे ।

पार्कले किम जोङ इलसँग भेटेको एक वर्षपछि र किम डाई जोङ राष्ट्रपति बनेपछि दक्षिण कोरियाली गुप्तचर एजेन्सीले जानीजानी एक दस्तावेज लिक गरिदियो । त्यसमा चुनावभन्दा पहिले उत्तर कोरियाली नेतासँग पार्कले भेटेको कुरा थियो ।

लिक भएका दस्तावेजमा ‘भेनस नेगरा’को बारेमा पनि जानकारी थियो, जुन पार्कको कोडनाम थियो ।

दस्तावेज लिक भएपछि पार्क जासुसको रुपमा काम गर्न सक्दैनथे । त्यसपछि उनी बेइजिङ गए र २०१० सम्म आफ्नो परिवारको साथमा सामान्य जीवन बिताए ।

त्यसै वर्ष ‘भेनस नेगरा’ माथि गुप्तचर एजेन्सीबाट निकालिएपछि दक्षिण कोरियाली सैन्य जानकारीहरु उत्तर कोरियालाई दिएको आरोप लाग्यो र उनलाई ६ वर्षको सजाय भयो ।

पार्कका अनुसार उनले केही जानकारीहरु त दिएका थिए तर त्यो आरोप लगाइएको जस्तो कुनै पनि सैन्य जानकारी थिएन र उनी नयाँ ट्रायलको योजना बनाइरहेका थिए ।
पछि पार्क एक डबल एजेन्ट भएको भन्दै मुद्दाको फैसला आयो ।

उनले भने, ‘इन्टेलिजेन्सको दुनिँयामा एक डबल एजेन्ट हुनु धेरै नराम्रो कुरा हो । यसको मतलब तपाईंको खुट्टा दुवैतर्फ छ र तपाईंले एक अर्काको गोप्य जानकारी बेचिरहनुभएको छ भन्ने हुन्छ । तर, मैले यस्तो कहिल्यै पनि गरिन ।’

पार्कले अन्तिममा भने, ‘तर, मलाई मेरो देशसँग कुनै गुनासो छैन ।’

उत्तर कोरियामा रहेको बेलामा कस्तो महसुस हुन्थ्यो ? यो प्रश्नमा पार्क भन्छन्, ‘जब तपाईं उत्तर कोरियामा हुनुहुन्छ, तपाईंको सबैथोक दाउमा हुन्छ । तपाईंको मुकुन्डो कुनै पनि बेलामा उत्रिन सक्छ र टाउको कुनै पनि बेलामा काटिन सक्छ ।’

पार्कमाथि बनेको फिल्म ‘द स्पाइ गोन नर्थ’ केन्स फिल्म फेस्टिबलमा यसै मेमा सम्मानित भएको थियो । यो फिल्म गत अगस्टमा दक्षिण कोरियाका हलहरुमा रिलिज भएको थियो ।

‘द स्पाइ गन नर्थ’ को पि्रमियर हुँदै गर्दा उत्तर कोरियाको परमाणु संकट एक नयाँ परिस्थितिमा आएकोे थियो । जूनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली तानाशाह किम जोङ उन सिंगापुरमा भेटवार्ता गरिरहेका थिए ।

भेटमा किम जोङ उनले उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गर्ने कुरा गरेका थिए ।

तर, पार्क भन्छन्, ‘उत्तर कोरियाको बारेमा कुनै जानकारी जुटाउनका लागि सबैभन्दा पहिले त्यहाँ आउने-जाने स्वतन्त्रता हुनुपर्छ । उत्तर कोरियासँग यस्तो स्वतन्त्रताको ग्यारेन्टी मागिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment