Comments Add Comment

आजका पत्रपत्रिकाः वार्ताका लागि विप्लवका तीन शर्त, सीके राउतलाई नबोलाइने

२ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । कुनैले वार्ताका लागि विप्लवले तीन सर्त अघि सारेको महत्त्वका साथ छापेका छन् भने केहीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएकाे भेटवार्ता र प्रधानमन्त्रीले जनाएकाे प्रतिबद्धताबारे लेखेका छन् ।

पहिलो पृष्ठमै चिनीमा सरकारले नै सिन्डिकेट लगाएको, सिक्टा सिँचाइ अनियमिततामा अख्तियारले कर्मचारीसँग बयान थालेको, सरकारी कोषबाटै संविधानको विरोध गर्ने तयारी गरिएको, हिंसामा लागेका १ सय ११ समूहको सूची तयार बनेकाे, प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन भएको, राणाकालका धातु उद्योग बन्द हुन थालेकोलगायत समाचार पनि छन् ।

वार्ताका लागि विप्लवका तीन शर्त, सीके राउतलाई नबोलाइने

नयाँ पत्रिका दैनिकका अनुसार सरकारको राजनीतिक वार्ताटोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच अनौपचारिक संवाद शुरु भएको छ ।

वार्ताटोलीले गत २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन असन्तुष्ट द्वन्द्वरत समूहलाई आह्वान गरेलगत्तै दुई पक्षबीच शुरु भएको संवादमा विप्लवले तीन सर्त राखेको समाचारमा उल्लेख छ ।
समाचार अनुसार सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका पोलिटब्यूरो तहका नेताहरुले वार्तामा बस्ने वातावरण बनाउने मुख्य तीन सर्त राखेका छन् ।

विप्लवले पहिलो शर्तका रुपमा सरकारले पार्टीलाई राजनीतिक दल वा हिंसात्मक समूह कुन दृष्टिकोणका साथ हेरिरहेको छ, प्रष्ट औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएको छ । देशव्यापी गैरकानूनी धरपकड बन्द गरेर यसबीचमा पक्राउ परेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पदम राई, किरण राई, उमा भुजेलसहितका नेता र सबै कार्यकर्ता विनासर्त रिहा गर्नुपर्ने उसको शर्त छ ।

समाचार अनुसार स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत समूहको पार्टीलाई वार्ताका लागि औपचारिक पत्राचार नगर्ने भएको छ । राष्ट्र विखण्डनलाई प्राथमिकता दिएर तराईमा गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै टोलीले उसलाई पार्टी वा समूहको मान्यता दिएर वार्ताका लागि औपचारिक पत्राचार नगर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

नयाँ पत्रिकामै प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन भएको समाचार छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको आमाबाबुसहित प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको समूहबीचमा प्रधानमन्त्रीकै अगाडि भनाभन भएको हो । समाचार अनुसार भीम रावलको अभिव्यक्तिले जनता आक्रोसित भएको संघर्ष समितिको संयोजक मीना भण्डारीको अभिव्यक्तिपछि भीम रावलले त्यसको प्रष्टीकरण दिइरहँदा एक महिलाले उनको विरोध गरेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो । त्यसपछि केहीबेर भनाभन भएको र भीम रावलले नै स्थितिलाई सामान्य बनाएको समाचारमा उल्लेख छ ।

सरकारी कोषबाटै संविधानको विरोध !

संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता र्काकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएको राजधानी दैनिकले लेखेको छ ।

केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवासको खुसियाली मनाउने तयारी गरिरहेका बेला प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले ३ असोजलाई कालो दिवसका रुपमा मनाउन लागेका छन् । राजधानीका अनुसार त्यसका लागि दुवै दलका जनप्रतिनिधिले सरकारी कोषबाटै विरोधका कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

र, यो पनि– मदिरा पिउनेलाई परिचयपत्र

बाजुराको गौमुल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवन गर्न मन लागे गाउँपालिका कार्यालयलाई जानकारी हुनैपर्छ । कान्तिपुरका अनुसार, जानकारी मात्रै होइन, कार्यालयले जारी गरेको परिचयपत्रविना मदिरा सेवन गरे दण्ड सजाय नै भोग्नुपर्छ ।

गाउँसमाजमा छाडा रुपमा हरने मदिरा सेवनले पूरै समाज बिगार्ने गरेको निष्कर्षपछि गाउँपालिकाले सेवनकर्ताले परिचयपत्र लिनुपर्ने नियम बनाएको हो ।

कान्तिपुरका अनुसार रगत असारमा मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५ लागू गरेपछि साउनदेखि मदिरा सेवन परिचयपत्र जारी गरेको हो । हालसम्म १ सय ५० भन्दा बढीले यो कार्ड लिइसकेका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment