Comments Add Comment

ढुवानीकर्ताले फेरि बोक्न छाडे इन्धन, सम्झौता रद्द गर्ने निगमको चेतावनी

४ असोज, काठमाडौं । नेपाल आयल निगममा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकले पुनः अवरोध गरेका छन् । मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरु त्यसकाे संशाेधन माग राख्दै आन्दोलित भइरहेका बेला निगम संबद्ध ढुवानीकर्ताहरुले पनि पेट्रोलियम पदार्थ बोक्न छाडेका हुन् ।

यसअघि पनि निगमसँग सम्झौता गरेका ट्यांकरका चालकहरुले तलब–भत्ता वृद्धि, सञ्चयकोष, ट्रिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेका थिए । आपूर्ति ठप्प पारेपछि निगमले चालकका त्यस्ता मागहरु पूरा गरिदिएको थियो ।

तर, असोज २ देखि आन्दोलित चालकहरुलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले पुनः ढुवानी ठप्प पारेका छन् । निगमका अनुसार आन्दोलित चालकहरुले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्नेलगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

निगमले चालकहरुका मागहरु पूरा गरिसकेको सन्दर्भमा पुनः ठप्प पार्नु गम्भीर भएको भन्दै नियमित काममा फर्कन ढुवानीकर्ता तथा चालकहरूसँग आग्रह गरेको छ ।

निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ ।

‘पेट्रोलियम पदार्थको प्रतिकूल प्रभाव पार्नेगरी पीडीओ नलिने, आईओसीमा लोड लिन नजाने, डीपोमा लोज लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्नेलगायतका कार्यहरु गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगमको विनियमावलीबमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गर्नेसम्मको कडा कारबाही गरिने जानकारी गराइन्छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment