Comments Add Comment

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, राष्ट्रसंघ महासभालार्इ सम्बोधन गर्ने

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन् ।

टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी छन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं: शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ २ असोजबाट ७३ औं महासभा शुरु भइसकेको छ । विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीको सहभागिता रहने महासभालार्इ प्रधानमन्त्री ११ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गर्ने तय भएको छ । ओलीले सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

असोज ९ गते राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा पनि ओली सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि भेटघाट गर्ने तयारी छ ।

ओलीले स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेट, क्याम्बोडियाका प्रधानमन्त्री सामदेकलगायतसँग भेटघाट गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment