Comments Add Comment

सांसदहरुले मागे आफ्नै लागि प्रशिक्षण

७ असोज, काठमाडौं । संसदीय समितिका सदस्यहरुले आफू रहेको समितिको क्षेत्राधिकार र काम गर्ने तरिका जानकारी गराउन प्रशिक्षण माग गरेका छन् ।

मिनी संसदको रुपमा लिइने संसदीय समितिका कामलाई प्रभावकारी बनाउन सांसद तथा समिति सदस्यहरुलाई प्रशिक्षणको आवश्यकता औंल्याइएको हो । प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति वैठकमा आइतबार अधिकांश सदस्यहरुले कामको बाँडफाँट र सांसहरुलाई समितिको क्षेत्राधिकार र काम गर्ने तरिकाबारे तालिम दिइनुपर्ने माग गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले समिति सदस्यहरुका बीचमा कामको बाँडफाँट हुनुपर्ने बताए । समितिको क्षेत्राधिकारभित्र पर्ने शिक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालयका काम कारवाही हेर्न तीन वटा उपसमिति बनाउने उनको प्रस्ताव छ ।

मन्त्रालयगत रुपमा हुनुपर्ने काम भए/नभएको, विगतका कामको समीक्षा र मौलिक हक लगायतका ऐन कार्यान्वयनका सन्दर्भमा सम्बन्धित उपसमितिले अध्ययन गर्ने र त्यसबारे सम्बन्धित पक्षसँग छलफल गरेर निर्देश गर्दा काम प्रभावकारी हुने उनको भनाइ छ ।

सांसद अधिकारीले चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा अध्ययन गरेर सुझावसहित प्रतिवेदन तयार पार्न गठित उपसमितिको संयोजक तत्काल तोकेर काम अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सांसद योगेश भट्टराईले समितिलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि समिति सदस्यहरुलाई प्रशिक्षण आवश्यक पर्ने उल्लेख गरे ।
समितिको क्षेत्राधिकार र काम गर्ने तरिकाका सन्दर्भमा विज्ञमार्फत प्रशिक्षण दिँदा काम गर्न सहज हुने उनको सुझाव छ । सांसद भट्टराईले केन्द्रीय अस्पतालहरुको स्थलगत अनुगमन आवश्यक रहेकोमा पनि जोड दिए ।

सांसद मनकुमारी जिसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासहरुको समेत अध्ययन गरेर जानुपर्ने बताइन । उनले पनि समिति सदस्यहरुलाई प्रशिक्षणको आवश्यकता औंल्याएकी छिन् ।

सांसद चित्रलेखा यादव, अञ्जना बिसुन्खे, हितबहादुर तामाङ., गजेन्द्रबहादुर महत, जीवनराम श्रेष्ठ, सुरेशकुमार राई र नमिना चौधरीले पनि समिति आफ्नो क्षेत्राधिकारबारे प्रष्ट हुनुपर्नेमा जोड दिए ।

उनीहरुले विश्वविद्यालयहरु र राष्ट्रिय खेलकुद परिषदजस्ता निकायको कामकारबाही र अवस्थाबारे अध्ययन गरी सरकारलाई निर्देशन गर्नुपर्ने उल्लेख गरेका छन् ।

समितिको अर्को वैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment