Comments Add Comment

विप्लव समूहबाट प्रभात चलाउने र जन्मदेव जैसीसहित ५ जना निस्काशित

८ असोज, काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनष्टि पार्टीले क्रान्तिकारी पत्रकार प्रभात चलाउने र जन्मदेव जैसीसहित ५ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

विप्लव समूहका मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली शुदर्शनले जारी गरेको वक्तव्यमा चलाउने र जैसीसहित ५ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको उल्लेख छ ।

पार्टीबाट निश्कासनको कारवाही गरिएकोहरुमा ब्युरो सदस्य प्रभात चलाउने र जिल्ला समिति सदस्यहरु जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदीप बर्देवा रहेको शुदर्शनको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले पत्रकार संगठनसम्बन्धी पार्टी निर्णयविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको, पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार दिएको र सार्वजनिक रुपमा जिम्मेवार साथीमाथि हातपात गरेको हुनाले कारवाही गरिएको इञ्चार्ज शुदर्शनले जनाएका छन् ।

पार्टीको लेटरप्याडमा निकालिएको विज्ञप्तिमा शुदर्शनले भनेका छन्- ‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनिश्चित कालका लागि निश्कासन गरिएको छ ।’

निश्कासन गरिएका चलाउने पत्रकार महासंघ पूर्व केन्द्रीय सचिव हुन् भने जैसी बहालवाला केन्द्रीय सदस्य हुन् ।

चलाउने र जैसी भन्छन्- आस्था र विचारमा प्रतिवद्ध छौं

पार्टीका मध्यकेन्द्रीय कमाण्ड इञ्चार्जले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गरेपछि चलाउने र जैसीसहित पाँचैजनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूमाथि गरिएको कारवाहीप्रति आपत्ति जनाएका छन् । कमाण्ड इञ्चार्ज शुदर्शनले आफूहरुमाथि लगाएको आरोपको पाँचैजनाले विज्ञप्तिमार्फत खण्डन गरेका छन् ।

‘विधि पद्दति अनुशासन नेताहरुमा लागू हुने कुरा हो कि हैन ? कुनै नेताका बारेमा आफूलाई लागेको कुरा आन्तरिक बैठकमा राख्न पाइन्छ कि पाइँदैन ?’ कारवाहीमा परेका ५ भाइले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘लामो समयदेखि आन्दोलनमा लागेका र योगदान पुर्‍याएका कुनै राजनीतिक कार्यकर्ताको राजनीतिक जीवन नेतालाई रीस उठेका दिन एउटा विज्ञप्तिले सिध्याउन मिल्छ ?’

चलाउने र जैसीले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ- ‘हामीले बोकेको आस्था र विचारमा सधैं प्रतिवद्ध छौं । हामी यी विषयहरुमाथि आन्तरिकरुपमै छलफल गर्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment