Comments Add Comment

एसिया कपमा हारेर पनि जितेको अफगानिस्तान

११ असोज, काठमाडौं । ‘अफगानिस्तानले निकै राम्रो गरिरहेको छ । हामी किन पाकिस्तानसँगको खेलमा मात्रै धेरै ध्यान दिन्छौं मैले बुझेको छैन । अफगानिस्तान पनि ख्याल गर्नुपर्ने विपक्षी हो ।’

भारत र पाकिस्तानको क्रिकेट भिडन्तबारे सोधिएको प्रश्नमा भारतीय क्रिकेटर राहुल द्रविडले दिएको जवाफ हो यो । यो भनाइ अफगानिस्तानका मिडियामा यसरी छायो कि भाइरल नै बनिदियो ।

एसिया कपको सुपर फोरमा भारतसँग खेल्नुअघि द्रविडले भनेको कुरामा समर्थकलाई खुसी मात्रै होइन, खेलाडीलाई हौसला पनि मिलेको थियो । हुन त अहिले अफगानिस्तान टिम अघि बढ्न हौसला चाहिरहने टिम होइन । तर द्रविडले भने जस्तै भयो, अफगानले भारतसँग ड्र खेल्यो ।

एसिया कपमा समूह चरणमा श्रीलंकालाई ९१ रन र बंगलादेशलाई १३६ रनले हराएर सुपर फोरमा पुगेको अफगानिस्तान सुपर फोरमा सबै खेल हारेर पनि जितको मानसिकतामा घर फर्कियो । सुपर फोरमा भारतसँग बराबरी खेलेको अफगानिस्तानले बंगलादेश र पाकिस्तानसँगको खेलमा पनि अन्तिम ओभरसम्म जित हारको रोमाञ्चकतामै खेलेको थियो ।

अफगानिस्तानका प्रशिक्षक फिल सिमोन्स खेलाडीहरुले राम्रो गर्दैै जानुको पछाडि उनीहरुले पाएको एक्स्पोजर महत्वपूर्ण भएको बताउँछन् ।
‘उनीहरुले जहाँ गएर पनि खेलेको क्रिकेटमा नयाँ केही सिक्छन् र लागु गर्छन्’ उनले भने, ‘अर्को महत्वपूर्ण कुरा हामी हारमा पनि सकारात्मक भएर अगाडि बढ्छौं त्यसले नै पछि जित सम्भव हुन्छ ।’

अफगानिस्तान टिममा परिवर्तन रातारात आएको भने होइन । २००१ मा मात्रै राष्ट्रिय टिम बनाएको अफगानिस्तान २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा थियो । अफगानिस्तानको मेहनत यति राम्रो हुँदै गयो कि २०१७ मा त पूर्ण सदस्यता नै पायो ।

अहिले एसिया कपमा पनि अफगानिस्तानले आफ्नो क्रिकेटको स्तर सबैलाई देखायो । टिममा रसिद, मुजिब र नाबी मात्रै होइन सबै सक्षम छन् भन्ने सन्देश दियो । सबैजसो खेलमा २५० को हाराहारीमा रन बनाएर पनि अफगानिस्तानले आफ्नो सन्तुलन देखायो ।

यो पनि पढ्नुहोस अफगान क्रिकेटको लोभलाग्दो यात्रामा चम्किएका नाबी

अफगानिस्तान जुनसुकै टिमका लागि पनि चुनौती बनेर देखा परिरहेको छ । फर्केर हेर्दा अफगानिस्तानले एकपछि अर्को ऐतिहासिक सफलता पनि पाउँदै आएको छ ।

अफगानिस्तान टिमका प्रशिक्षक सिमोन्स पनि खेलाडीहरुले अवस्था बुझेर खेल्न थालेको र चुनौती बुझेर सामना गरिरहेका बताउँछन् । ‘यस्तो विशेषता हाम्रो पहिलो टेस्ट खेलदेखि नै आएको हो । राम्रो क्रिकेट खेल्ने र एकपछि अर्कोमा सुधार गर्दै जाने नै अफगानिस्तान टिमको विशेषता बनेको छ’ उनले भने, ‘हामी ठूला भनिएका टिम जस्तै बलियो छौं भनेर देखाउन चाहन्छौं । उनीहरुलाई हराउन सक्छौं भनेर देखाउँछौं । हराएका पनि छौं । जसले हाम्रो सुधार देखिएको छ ।’

खेलाडीहरुको मनोबलले निकै सकारात्मक काम गरेको उनी बताउँछन् । खेल सुरु हुनअघि देखि नै एउटा विजेताको जस्तो सोच र मनस्थिति अफगानिस्तानी खेलाडीमा देखिएको पनि छ । यसमा रसिद, मुजिब, नाबी जस्ता खेलाडी विश्वस्तरको लिगहरुमा सामेल भएकाले पनि धेरै काम गरेको प्रशिक्षक सिमोन्सको भनाइ छ ।

२०१४ को एसिया कपमा बंगलादेशलाई हराउँदा, २०१५ को विश्वकपमा स्कटल्याण्डलाई हराउँदा, २०१७ मा वेस्ट इन्डिजलाई एकदिवसीय खेलमा हराउँदा, २०१७ मा नै एकदिवसीयमा आयरल्याण्डलाई हराउँदा, २०१८ मा विश्वकप छनोटको खेलमा जिम्बावेलाई हराउँदा हरेक समय अफगानिस्तान टिममा सुधार हुँदै आएको छ ।

२००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभमा जर्सीलाई हराएर उपाधि जितेको अफगानिस्तान अहिले राम्रा भनिएका देशविरुद्ध चुनौती बनिरहँदा उनीहरुको बाटोबाट अरुले पनि केही सिक्न सक्छन् ।

आईसीसी क्रिकेटको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment