Comments Add Comment

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा होला ?

आज सेप्टेम्बर २७ अर्थात् विश्वपर्यटन दिवस । यस वर्ष ३९ औं विश्व पर्यटन दिवस ‘टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइयो । तर, विश्व पर्यटन दिवसका अवसरमा गरिने कार्यक्रमहरु औपचारिकतामा मात्र सीमित हुँदा नेपालको पर्यटन क्षेत्रको विकासमा वास्तविक अर्थमा प्रभावकारी हुन भने सकेको छैन ।

नेपालको सन्दर्भमा कुरा गर्दा नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, सन् २०१८ को करिव अन्त्यसम्म आइपुग्दासम्म यसको निति, कार्यक्रम तथा राष्ट्रिय संयोजकसम्म तोकिएको छैन ।

यस्तो अवस्थामा अबका बाँकी दिनमा कत्तिको प्रभावकारी ढंगले काम होला र हाम्रो लक्ष्यले सफलता पाउला भन्ने विषय आगामी दिनमा देखिनेछ । तर, यत्ति विषय प्रष्ट नै छ कि यही किसिमका तयारीले २० लाख पर्यटक भित्र्याउन त परकै विषय हाल आइरहेको पर्यटक संख्या कायम राख्न पनि चुनौति छ ।

‘टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाइरहँदा नेपाल पर्यटन वोर्ड आफैंले कत्तिको डिजिटल प्रविधिलाई अंगिकार गरेको छ, त्यसलाई सही ढंगले समीक्षा गर्नु आवश्यक छ

पछिल्लो समय नेपालभित्र केही गलत नियतका व्यवसायीहरुले गर्दा विश्वभर नेपालको बारेमा गलत सन्देश प्रवाहित भइरहँदा पछिल्लो समय पर्यटकहरुले नेपाल आउन गरिएका बुकिङहरुसमेत रद्द गर्न थालेका छन् । सुरुमा त विश्वभर नेपाल वारे भइरहेको गलत प्रचारलाई रोक्न सरकारीस्तरबाट सही पहलकदमी आवश्यक छ ।

२० लाख पर्यटक भित्र्याउने विषय पनि यातायातको सिन्डिकेट जस्तै त हुँदैन भन्ने शंका यथावत छ । सिन्डिकेट हट्यो भनेर चर्चा हुने तर सेवाग्राहीहरुले कुनै लाभ नपाएजस्तै वर्षैभरि २० लाख पर्यटकको नारा मात्र लगाइरहने तर, आवश्यक कुनै तयारी समयमै पूरा गर्न नसक्ने हो भने २० लाख पर्यटकको विषय पनि हावादारी सावित हुनेछ ।

२० लाख पर्यटक नेपाल भित्र्याउन सबैभन्दा पहिले त अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रवद्र्धन नै मुख्य विषय हो । त्यसमाथि ठूलो जनसंख्या भएका हाम्रा दुई छिमेकी मुलुकहरु चीन र भारतमा पनि प्रवद्र्धनका कार्यक्रमहरु लानैपर्छ । तर, पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी पाएको संस्था नेपाल पर्यटन वोर्डको कार्यशैली र प्रभावकारीता यसअघिका वर्षहरुमा पनि देखिँदै आएको छ ।

अब प्रश्न उठ्छ, पर्यटन वोर्डको यहि कार्यशैलीले नेपालमा सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन आवश्यक वातावरण बन्छ त ? वा कतै नेपाल पर्यटन बोर्ड सरकार, पर्यटन मन्त्रालय र सम्बन्धित मन्त्रीज्युका कार्यकर्ताहरुको भर्तिकेन्द्र त बन्दै छैन ? के यही संरचनामा नेपाल पर्यटन बोर्डले विश्वभर नेपालको प्रचार प्रसार गर्न सक्छ त ?

‘टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाइरहँदा नेपाल पर्यटन वोर्ड आफैंले कत्तिको डिजिटल प्रविधिलाई अंगिकार गरेको छ, त्यसलाई सही ढंगले समीक्षा गर्नु आवश्यक छ ।

त्यसपछिको मुख्य विषय पर्यटन पूर्वाधारको हो । हालसम्म नेपालको निजी क्षेत्रले आफ्नो स्रोत र साधनले भ्याएसम्म पूर्वाधार निर्माणमा लगानी गरेको भएपनि सरकारीस्तर वाट भएका कामहरु लाजमर्दो अवस्थामा छन् । भएको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था अत्यन्तै लाजमर्दो छ ।

सडकका अवस्था हेर्दा,प्रमुख पर्यटकीय गन्तव्यहरुकै सडकहरु वर्षौंदेखि अस्तव्यस्त छन् । विं.सं.२०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण क्षतविक्षत बनेका हाम्रा सांस्कृतिक सम्पदाहरुको अवस्था उस्तै छ । प्रदेश र स्थानीयस्तरका निकायहरुलाई पर्यटन क्षेत्रको विकासका सम्बन्धमा सामान्य अनुभव र ज्ञान नहुँदा स्थानीय स्तरमा केही हुने अपेक्षा गर्न सकिन्न ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिईरहँदा हाम्रो आन्तरिक जनशक्ति कत्तिको योग्य छ भन्ने पनि बहस गर्न जरुरी छ । हाम्रो जनशक्तिलाई पर्यटन क्षेत्रका विभिन्न विधामा योग्य बनाउन आवश्यक तालिमहरुको प्रबन्ध गर्नैपर्छ । हाम्रा मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड, सरकारी अन्य निकायहरु र नेपालको निजी क्षेत्र पनि डिजिटलाइजेशनमा जानैपर्छ ।

अन्त्यमा, नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने गरी लिएको लक्ष्यमा सरकार, निजी क्षेत्र र नागरिक समाज सबैको सामूहिक प्रयास र योगदान आवश्यक छ । निर्वाचनका बखत जसरी हरेक राजनीतिक दलहरुले पर्यटन प्रमुख प्राथमिकताको क्षेत्र भनेर घोषणापत्र ल्याएका थिए, सोही अनुसारको व्यवहार देखाउने हो भने नेपाल भ्रमण वर्ष २०२० सफल हुनेछ ।

(लेखक नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाका सहकोषाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment