Comments Add Comment

सुखी नेपालीको नारा : ‘बात करने का स्टाइल है’

एउटा भनाइ के छ भने पोलिटिक्समा जनताको कुरा हुँदैन, सत्ताको कुरा हुन्छ । तर, जनताको पनि कुरा किन हुन्छ भने चुनाव जितेर सत्तामा पुग्न तिनीहरुको पनि समर्थन चाहिन्छ । राज्य भनेको सामाजिक द्वन्द्वको उच्चतम रुप हो, यसमा शासकले सबैलाई मजाक बनाउँछ ।

युद्धमा जानुभयो भने तपाईलाई सजिलै हुन्छ । किनकि, तपाईले मार्नुहुन्छ, वा तपाई मारिनुहुन्छ । तर, जनतालाई बेवकुफ बनाउन गाह्रो हुन्छ । जनतालाई लठ्ठ पार्नु गाह्रो निकै कुरो हो । राज्यसत्ता वा राज्य व्यवस्था भनेको सरकारमात्रै होइन, सरकारका तीनवटा अंगहरु हुन्छन् । सरकार, संसद र अदालत तीनवटा संयन्त्र हुन्छन् । कर्मचारी, सुरक्षा निकाय र संवैधानिक निकायहरु हुन्छन् ।

धेरै मान्छेले द्वन्द्व भनेको लडाइँ, झैंझगडा सम्झन्छन् । तर, द्वन्द्व भनेको गति हो । द्वन्द्व भनेको विशाल कुरो हो । यो विश्व ब्रह्माण्ड नै द्वन्द्वमा अडिएको छ । द्वन्द्वबाट तपाई काहीँ भागेरै जान सक्नुहुन्न । भाग्न चाहनुहुन्छ भने तपाई असहाय बन्नुहुन्छ । मानव समाजमा जुन द्वन्द्व सुरु भयो, त्यही कारणले राज्यको निर्माण भयो ।

मान्छेले अहिले दुःख किन पाएका छन् भने विश्व ब्रह्माण्डमा त्यस्तो कुनै पनि परिघटना छैन, जसलाई सम्झेर शोकमग्न भएर बस्नुपरोस् ।

संसारमा प्राकृतिक कारणले मान्छेलाई दुःख छैन । मानवसिर्जित अप्राकृतिक कुराहरुले मान्छेलाई दुःख छ । यसलाई हामी मानव चेतना भन्ने गर्छौं । यसमा दर्शन आउँछ । राजनीति, कानून, साहित्य, विज्ञान, कला इत्यादि आउँछन् । सौन्दर्य आउँछ । यी सबै मानव सिर्जित हुन् ।

मानवबाहेक अरु जीवजन्तुमा कुनै लफडै छैन । भए पनि सिद्धिइहाल्छ । बलियाले दुब्लोलाई लखेट्छ, सक्किगो । त्यहाँ कुनै शान्ति सम्झौता, सन्धी, केही पनि चाहिँदैन । तर, मान्छेमा के हुन्छ भने लुरेले हार्‍यो भने उसले दाऊ खोजेर बस्छ । तँलाई पख् भनेर बस्छ ।

बात करने का स्टायल !

शासकहरुले के गर्छन् भने मान्छेलाई भ्रम दिन्छन् । जस्तो- अस्ति काठमाडौंमा बिमस्टेकको सम्मेलन भयो । म नयाँ बानेश्वरतिर जाँदैथिएँ ।

बबरमहल छेउको एउटा खोल्सोमा राज्यले आफैं पुल बनाउन सकेको छैन । चाइनाले आर्क बि्रज बनाइदिँदैछ । त्यहाँ बन्दै गरेको पुलमा धूलो उड्छ भनेर उनीहरुले हरियो नेट टाँगेका रहेछन् । त्यसको दुईतिर लेखिएको रहेछ- समृद्ध नेपाल, सुखी नेपाली- प्रम केपी शर्मा ओली !

हामीले अझै पनि आम जनतामा चेतना उठाउनै सकेनौं । नेपालीहरुमा चेतना बढ्यो, भन्छन् । मचाहिँ यो मान्दिनँ ।

त्यो खोल्सोमा पुल बनाउन लागेको दुई वर्ष भयो । पुलको फिनिसिङ भएको छैन । त्यहाँ धूलो छेक्न टाँगिएको नेटमा यस्तो लेखिएको छ भनेपछि अनि यस्तो राज्यले काम गर्छ ?

अहिलेको यो सरकारले तपाई हामीलाई दुखी हुनै नदिने भो ! सुखी बनाउने रे । गरीब हुनै नदिने रे । समृद्ध बनाउने रे । तपाई हामीले भुइँमा टेक्नै नपाउने, माथिमाथिबाट हिँड्नुपर्ने । यस्तो किसिमको बकवास गर्ने राज्य भइसकेपछि कहाँ हुन्छ ? जुन देशको प्रधानमन्त्रीले कालो धनलाई सेतो बनाउनुपर्छ भन्छ, उसलाई नेपाल मनी लाउण्डरिङ सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा आवद्ध छ भन्ने थाहै छैन । जुन देशको अर्थमन्त्रीले नक्कली बजेट, फेक बजेट पेश गर्छ । किनभने राजस्वले तलब खान पुग्दैन । हालत यस्तो छ राज्यको ।

सुख र समृद्धिको कुरा अहिले शासकहरुले जुन ढंग फुकेका छन्, हिन्दीमा भन्छन्- बात करने का स्टायल है !

एउटा मान्छे बाटोमा जुत्ता बनाउन गएछ । जुत्ता बनाउने मान्छेलाई उसले भनेछ- अलि बलियो गरी बनाइदेऊ है । जुत्ता बनाउनेले भने छ- तपाईको जुत्ता यस्तो मजबुत बनाइदिन्छु कि जिन्दगीभरिलाई काम लाग्छ ।

जिन्दगीभरि टिक्ने ? यस्तो कसरी सम्भव हुन्छ ? अर्कोले भनेछ- बात करने का स्टायल है !

ओलीे सरकारमा पनि ‘बात करने का स्टायल है’ पाराका मानिसहरु छन् । यो कुरा नेपाली जनताले बुझ्नुपरो । नेपाली जनताले बुझेनन् भने दुःख पाउँछन् ।

तर, हामीले अझै पनि आम जनतामा चेतना उठाउनै सकेनौं । नेपालीहरुमा चेतना बढ्यो, भन्छन् । मचाहिँ यो मान्दिनँ । तपाईहरुलाई एउटा उदाहरण दिन्छु-

गत चुनावमा मेरो मतदान केन्द्र (बाग्लुङ) मा गएको थिएँ । सधैं कांग्रेसलाई भोट हाल्ने, स्कुलमा सँगै पढेको साथीसँग भेट भयो । उसले वाम मोर्चालाई भोट हालेछ । उसले मलाई के भन्यो भने सधैं कांग्रेसलाई भोट हालिन्थ्यो, यसपालि मोर्चालाई हालियो, अब चिया त खानुपर्‍यो । मैले उसलाई भने- तपाई झुक्किनु भो साथी, म त्यो मोर्चाको होइन । तैपनि साथीले चिया खाऔं भन्नुहुन्छ भने खाऔं न त ।

उसले भन्यो, हैन, पैसा दिनोस्, पसलमा गएर खान्छु । मैले भनें- खानोस् त्यसोभए । यो कुनै ठूलो कुरो भएन ।

ऊ एकदमै जान्ने मान्छे हो । तर, चेतनास्तर त्यस्तो छ ।

हामी अभियन्ता हौं, आत्तिनुपर्ने कुरो छैन

अहिले पनि मलाई धेरै साथीहरु सोध्छन्- अब देश कता जान्छ ? म भन्छु- चिन्ता नगर्नुस्, ल्याण्ड भनेको त पृथ्वी हो, राज्यको कुरा गर्नोस् । राज्य भनेको कृत्रिम कुरा हो, यो हिजो थिएन, आज छ, भोलि नरहन सक्छ । हामी त यो राज्य नै नराख्ने पक्षमा छौं । हाम्रो फिलोसोफी यो राज्यको अन्त्यतिर लैजाने हुन्छ नै ।

हरेक कुराको विकल्प छ, तपाई विकल्पको खोजीमा कति उत्साहित हुनुहुन्छ भन्नेमात्रै हो । तपाई उत्साहित हुनुहुन्छ भने तपाईले ‘इन्जोय’ गर्नुहुन्छ । जीवनमा के छ र ? तीनवटा काम गर्ने हो- नम्बर १ मा बाँच्ने हो । नम्बर दुईमा सदुपयोग गर्ने र नम्बर तीनमा आनन्दको खोजी गर्ने ।

धेरै मान्छेहरु शोकमग्न भएर, पीडित भएर बस्छन् । पहिलेका राजाहरु यसैगरी शोकमग्न हुँदा ५० वर्ष नपुगी मुटु फुटेर मरे । ज्ञानेन्द्रमात्रै बाँचिराखेका छन्, किनभने उनी बिजनेसमा लागे ।

तर, धेरै मान्छेहरु शोकमग्न भएर, पीडित भएर बस्छन् । पहिलेका राजाहरु यसैगरी शोकमग्न हुँदा ५० वर्ष नपुगी मुटु फुटेर मरे । ज्ञानेन्द्रमात्रै बाँचिराखेका छन्, किनभने उनी बिजनेसमा लागे ।

मुख्य कुरो फेरि पनि राज्यसत्ता नै हो । तर, हामीले आत्तिनुपर्ने कुरो छैन । किनभने परिवर्तन त भएकै छ । हामी देशभित्र पनि थुनियौं, विदेशमा पनि थुनियौं, सत्ताले हामीलाई निकै दमन गर्न खोज्यो । तर, सकेन नि त ।

अर्को कुरा, हामी सामाजिक वा राजनीतिक कार्यकर्ता त हौं नै, त्योभन्दा बढ्ता अभियन्ता हौं । आर्थिक, सामाजिक सांस्कृतिक परिवर्तनका अभियन्ता, क्याम्पेनर हौं । एक्टिभिस्ट मात्रै होइन, हामी क्याम्पेनर हौं । त्यसैले हामी थाक्ने कुरै छैन । क्याम्पेनरहरुको काम गर्ने ठाउँ जत्ति पनि हुन्छ । सिंगो संसारै छ । अभियन्ताहरु थाक्ने कुरै हुँदैन । हकिन्सले भनेका थिए नि, यहाँ बसेरमात्रै हुँदैन, स्पेसतिर जानुपर्छ, नत्र पृथ्वीको भविश्य ठीक छैन ।

त्यसैले हामीले आफूलाई अभियन्ताका रुपमा अगाडि बढाउनुपर्‍यो । यो पृथ्वी रहेसम्म, यो पृथ्वीमा राज्यव्यवस्था रहेसम्म र त्यहाँ नेपाल भन्ने राज्य रहेसम्म हामी किन आत्तिनुपर्‍यो ? हामी आत्तिनुपर्ने कुरो छैन ।

(पूर्वसांसद थापा नेकपा क्रान्तिकारी माओवादीका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment