१३ असोज, पोखरा । कफी उत्पादनमा बृद्धी गर्दै त्यसको बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले पोखरामा कफी सम्बन्धी तीनदिने तालिम शुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ‘प्रांगरिक कफी उत्पादन, गुणस्तर व्यवस्थापन तथा बजारीकरण’ तालिम शुरु भएको हो ।
तालिमको गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले कफीको विरुवामा पानी हालेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले झोलामा फर्म बोकेर अनुदान खानेहरुलाई बेलैमा चिन्नुपर्ने बताए ।
बास्तविक किसानले अनुदान पाउनुपर्ने पक्षमा आफू रहेको बताउँदै उनले भने, ‘झोलामा खोला बोकेजस्तो झोलामा कृषि फर्म बोकेर अनुदान खानेहरुलाई बेलैमा चिन्नुपर्छ, बास्तविक किसानले अनुदान पाउने ब्यवस्थाका लागि सबै लागौं ।’
मन्त्री थापाले अब कृषिमा लगानी गर्न समस्या नहुने बताए । गण्डकी प्रदेशमा तीन हजार पाँच सय सहकारी रहेको र तिनीहरु प्रत्येकलाई एक सहकारी एक नमूना उत्पादन तथा पूँजीको ३० प्रतिशत कृषिमा अनिवार्य लगानी गर्नुपर्ने बाध्यकारी ब्यवस्था गरिएकाले अब कृषिमा लगानीको समस्या नहुने उनको भनाइ थियो । मन्त्री थापाले गण्डकी प्रदेश कफी उत्पादन र यसको बजारका लागि सबैभन्दा उपयुक्त ठाउँ भएको दाबी गरे ।
गण्डकी प्रदेशमा रहेका ११ जिल्ला मध्ये ८ जिल्ला कफीका लागि उपयुक्त ठाउँ भएको र यो प्रदेशको पोखरा पर्यटकीय हब हुँदा आन्तरिक तथा बाहृय पर्यटक आउने भएकाले कफीको अधितकम बजार रहेको उनको भनाई थियो ।
साथै गण्डकी प्रदेश सरकारले कफीलाई प्रमुख बालीको रुपमा राखेको र त्यसका लागि बजेट पनि छुट्याएको जानकारी गराए । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराका बोर्ड डाइरेक्टर लक्ष्मण पोखरेलले गण्डकी प्रदेश कफीका लागि उपयुक्त ठाउँ हुनुका साथै यहाँ कफीको पनि बजार राम्रो रहेको बताए ।
अर्गानीक र गुणस्तरीय कफी उत्पादन गर्दै विदेश निर्यात गर्न सके कफी ब्यवसायले नेपालको समृद्धीमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपालबाट न्यूनतम ६ हजार मेटि्रक टनदेखी ८ हजार मेटि्रक टनसम्म कफी बिदेश निर्यात गर्नसक्ने अवस्था रहेपनि हाल केवल ४ सय ६६ मेटि्रक टन कफी निर्यात भइरहेको उनले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख लोकेन्द्र बोहराले कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा कफी व्यवसायीक रुपमा उत्पादन भइरहेको बताए । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को पहिचान कफी हुन सक्ने बताए ।
हाल टुक्रे टुक्रे कफी खेती भइरहेको बताउँदै उनले हेक्टर/हेक्टरमा कफी लगाएर व्यवसायीक रुपमा कफी उत्पादन हुन नसकेको बताए । उनले वनमा कफी लगाउँदा वन नमासिने बरु छहारीको मात्र प्रयोग हुने भएकाले वन क्षेत्रमा कफी लगाउन दिने नीति ल्याउनुपर्नेमा जोड दिए ।
शनिबारदेखी शुरु भएको तालिम सोमबारसम्म चल्नेछ । तालिममा गण्डकी प्रदेशका कास्की, तनहुँ, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, गोर्खा, ५ नम्बर प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानका कफी सहकारी उत्पादक संघका अध्यक्ष, पदाधिकारी वा व्यवस्थापकको प्रतिनिधि, कास्कीका उत्पादक, सहकारी संघका अध्यक्ष वा पदाधिकारी वा व्यवस्थापक र बजारीकरणमा लागिरहेका प्रतिनिधिहरुको सहभागिता छ ।
तालिममा कफी विज्ञ डा.राजकुमार बञ्जारा, त्रिभूवन विश्वविद्यालयका प्राध्यापक तथा व्यवस्थापन विज्ञ डा.अच्यूत ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराका बोर्ड डाइरेक्टर लक्ष्मण पोखरेल, चन्द्र पुरी र नगेन्द्र सुवेदीले सहजीकरण गर्नेछन् ।
प्रतिक्रिया 4