१४ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश कर्जा घरजग्गा धितोमा दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टले अधिकांश कर्जा घरजग्गा धितो राखेर लगानी गर्ने गरेको पुष्टि गरेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्य सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो महिनासम्ममा भने यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २.४ प्रतिशतले, ट्रष्ट रिसिप्ट -आयात) कर्जा १.९ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.२ प्रतिशतले, रियल स्टेट कर्जा -व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ओभरड्राफ्ट कर्जा १.७ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले घटेको छ ।
समग्रमा भने बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.४ प्रतिशतले बढेको थियो ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ०.२ प्रतिशत र वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया 4