Comments Add Comment

निर्मला हत्याकाण्डः प्रधानमन्त्रीको अभिव्यक्तिमा सल्लाहकारको प्रष्टीकरण

१५ असोज, काठमाडौं । निर्मला पन्तको बलत्कार तथा हत्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति विवादित बनिरहेको छ । उनले न्यूयोर्कमा अनलाइनखबरलाई अन्तरवार्ता दिँदै यस्ता घटनाको अनुसन्धान १२ वर्षसम्म लगिनसक्ने आशय उदाहरणसहित व्यक्त गरेका थिए ।

‘निर्मलाका हत्यारा प्रकरणः अपराधी भेटिन १२ वर्ष लाग्न सक्छ- प्रधानमन्त्री’ भन्ने समाचार आइतबार प्रकाशित भएको थियो ।

यस विवादमा प्रधानमन्त्रीको सचिवालयले मुख खोलेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय निर्मला हत्याकान्डको अनुसन्धान गर्न १२ लाग्छ भन्ने नभएको प्रष्ट पारेका छन् । उनले अन्तरवार्तामा प्रधानमन्त्री प्रस्तुत विचारलाई ‘तोडमोड’ गरी प्रस्तुत गरिएको दावीसमेत गरेका छन् ।

प्रेस सल्लाहकार अर्यालले अनलाइनखबरलाई पठाएको प्रष्टिकरण पत्र यस्तो छ :

विज्ञान र प्रविधिमा भएको अकल्पनीय प्रगतिले सञ्चार क्षेत्रमा अद्भूत तीव्रता उत्पन्न गराएको छ, सूचनाको अति सहज वितरण तथा पहुँचको वातावरण सिर्जना गरिदिएको छ । यो अवस्थाले हामी सबै पत्रकारलाई गहन जिम्मेवारी प्रदान गरको छ । तपाईं पनि पक्कै असहमत हुनुहुन्न, अबको युगमा पत्रकारिता केवल जिम्मेवारी र व्यावसायिक नैतिकताका आधारमा मात्र टिक्न सक्नेछ ।

तत्कालका लागि भ्रम, अतिरञ्जना र अफवाह फलाउने क्षमता त हरेक व्यक्तिको औंलाको टुप्पोमा छ । त्यसैले अत्याधुनिक साधनको प्रयोग असावधानिवश गर्दै साख गुमाएको अवस्थामा कुनै पनि आमसञ्चार माध्यमको शक्ति यथाअवस्थामा कायम रहँदैन भन्ने सत्यमा तपाईंको विशेष ध्यानाकर्षण गराउँदछु ।

तपाईले अघिल्लो दिन आफैंले छापेको प्रधानमन्त्री के.पी. शर्मा ओलीको अन्तरवार्तालाई भोलिपल्टै तोडमोड गरी अर्को सामग्री बनाएर प्रस्तुत गर्नुभयो । एकजना सम्मानित र जिम्मेवार राजनेताको अन्तरवार्तालाई यसरी आफैंले तोडमोड गरी गैरजिम्मेवारीपनाकोे नमूना देखाउनु भएको हो कि होइन, एकपटक गम्भीरतापूर्वक सोच्न आग्रह गर्दछु ।

तपाईं नै आफ्ना अन्तरवार्ताकार सूर्य थापासँग एकपटक सोध्नुस त, टेप गरिएका आवाज मात्र होइन, तत्क्षणको ननभर्वल कम्युनिकेसनबाट पनि प्रधानमन्त्री केपी ओलीले बालिका निर्मलाको बलात्कार र हत्या गर्ने अपराधीलाई पक्रन १२ वर्ष कुर्नु पर्छ भन्ने आशय प्रकट गर्नुभएको थियो त ?

अनुसन्धानमा वेवास्ता गर्ने आशय प्रकट गर्नुभएको थियो त ? पटक्कै थिएन । अन्तरवार्ता जति पटक सुने पनि, पढे पनि उहाँको आशय प्रष्ट छ, ज सिुकै जटिल बन्दै गएको देखिए पनि सरकारले प्रहरीलाई अनुसन्धान कार्यमा थाक्न दिने छैन । छानविनलाई टुंगोमा पुर्‍याएर अपराधीलाई कानुनको दायरामा अवश्य ल्याइने छ ।

तपाईंले छाप्नुभएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भर्खरै सुल्झिएको एउटा अपराधको घटनाको दृष्टान्त प्रस्तुत गर्दै भन्नुभएको छ, १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दा रहेछन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई अपराधविरुद्धको लडाईं कुनै थकान विना निरन्तर अघि बढ्नेछ भन्ने सुस्पष्ट प्रतिवद्धता नठानेर अर्को अर्थ निकाल्ने प्रयत्न व्यावसायिक मर्यादा विपरीत छ । विदेशभूमिमा सम्माननीय प्रधानमन्त्रीको अन्तरवार्ता लिएर उहाँका धारणा र विचारलाई सार्वजनिक गरिदिनु भएकोमा धन्यवाद दिन नपाउँदै तपाईंलाई यति कुरा दुःखका साथ लेख्नु रेको छ । सम्पादकज्यू, कृपया आफ्नो साख आफैं जोगाऔं ।

कुन्दन अर्याल, पीएचडी

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment