१५ असोज, सप्तरी । बिभिन्न सरकारी कार्यालयको नक्कली स्टाम्प छाप घरमै राखेर नक्कली प्रमाणपत्र बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-११ गोरपार सल्लम शेख पक्राउ परेका हुन् ।
यसअघि गत फागुनमा एक जनाको जग्गाबारे नक्कली कागजात तयार गरेपछि पक्राउ परेका सल्लम तत्कालै छुटेका थिए । यद्यपि, अहिले पक्राउ गरेपछि प्रहरीले उनी फरार रहेको बताएको हो ।
पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३१ वर्षीय उनलाई गत असोज १२ गते पक्राउ गरेको हो ।
पक्राउ परेका शेखले मालपोत कार्यालयको छापसमेत घर कोठामै राखी विभिन्न किसिमको सरकारी कागज पत्रहरु किर्ते गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार शेखको घर खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाण पत्र र फोटोकाँपी, सक्कल जन्मदर्ता प्रमाणपत्रहरु, विभिन्न व्यक्तिहरुको जग्गाधनी दर्ता प्रमाण पत्र, विभिन्न व्यक्तिहरुको जग्गा रजिष्ट्रेशन लिखत कागज, निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली, नागरिकताको अनुसुची फारम, जन्मदर्ता प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, मृत्यु दर्ताको प्रमाण पत्र, बसाईसराई दर्ताको प्रमाण पत्र लगायतका खाली प्याडहरु बरामद भएको प्रहरीको भनाइ छ ।
सरकारी कागजात किर्ते गरेको सन्दर्भमा जिल्ला अदालत राजविराजबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
यसरी खुल्यो पोल
शेख २०७४ साल फागुनको दोस्रो साता कंचनरुप नगरपालिका ११ को कार्यालय पुगेका थिए । कार्यालय पुगेका सलाम शेखले वडा अध्यक्षसँग नै बकझक गरेका थिए ।
बकझकका क्रममा शेखले वडा अध्यक्ष मो. जिबरिललाई गालीगलौज नै गरेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शेखलाई इलाका प्रहरी कार्यालय कंचनपुरले तत्कालै रिहा गरेको थियो । आफूले गरेको गलत कामलाई पूर्णता दिलाउन शेख वडा कार्यालय पुगेका थिए, त्यस दिन ।
शेखले ऐलानी र केही अन्य व्यक्तिको जग्गाहरु आफ्नो भएको दावी गर्दै फायल बनाएर सिफारिसका निम्ति ल्याएका थिए । त्यसक्रममा वडाअध्यक्षले बुझेर सिफारिस गर्ने बताएपछि शेखले अबिलम्ब गर्न दवाव दिएका थिए ।
वडाअध्यक्षको भनाइ अनुसार त्यसपछि शेख एक्कासी आक्रोशित भएर गालीगलौज गर्न सुरु गरेका थिए ।
एक दर्जन कित्तामा एउटा मात्रै मिल्यो
शेखले बिभिन्न जग्गाको फायल तयार गरेका थिए । साविक ठेलिया गाविसको वडा नम्बर ८ (क) को कित्ता नम्बर २५२ को एक कट्ठा १२ धुर, किता नम्बर २४२ को १ कठ्ठा ४ धुर किता नम्बर ७३९ को एक कट्ठा ४ धुर, किता नम्बर २५३ को २ कट्ठा १४ धुर, किता नम्बर २५८ को १ कट्ठा २ धुर, किता नम्बर २५७ को १० कठ्ठा २ धुर, किता नम्बर १२४ को १ कठ्ठा २ धुर र किता नम्बर ११८ को ५ कठ्ठा ६ धुर जग्गाको फायल तयार गरेका थिए ।
यी जग्गाहरु आफ्नो भएको भन्दै उनले प्रमाणित गरिदिन दवाव दिएका थिए त्यसबेला । शेखले यस्तो दावी गरेपनि पछि मालपोत कार्यालयमा बुझ्दा एउटा कित्ताको जग्गा मात्रै उनको नाममा देखिएको थियो ।
किता नम्बर ७३९ को १ कठ्ठा ४ घुर जग्गा मात्र शेखको नाममा प्रमाणित भएको मालपोबाट देखिएको थियो ।
आफ्नो जगगामा काम गर्दा दुःख दिने गरेको भन्दै स्थानीय ललिजा खातुन र इसुफ मियाँले शेखबिरुद्व १७ फागुन २०७४ मा वडा कार्यालयमा निवेदनसमेत दिएका थिए ।
प्रतिक्रिया 4