Comments Add Comment

गण्डकी प्रदेशका जिल्लामा नेकपाको १० सदस्यीय संयन्त्र गठन

१८ असोज, पोखरा । नेपाल कम्युनिस्ट पार्टीको गण्डकी प्रदेश कमिटीको बैठकले प्रदेशभित्रका जिल्ला र स्थानीय तहमा पार्टी काम गर्नका लागि संयन्त्र गठन गरेको छ ।

जिल्ला स्तरीय संयन्त्र तत्कालिन एमालेबाट जिल्ला ईञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट ईञ्चार्ज, सह ईञ्चार्ज र संयोजकसहित ५/५ गरी १० सदस्य रहने निर्णय गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रदेश कमिटीको बैठकले स्थानीय स्तरसम्म पार्टी एकताको सन्देश पुर्‍याउन दशैं, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राख्न पनि पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ ।

नेकपा गण्डकी प्रदेशले कात्तिकको दोस्रो साताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । त्यस्तै गण्डकी प्रदेशको भुगोलमा रहेका केन्द्रीय कमिटीका सदस्यहरुको भेला असोज १९ गते शुक्रबार गर्ने निर्णय गरेको छ । बैठकले असोज २७ गतेभित्र प्रदेश कमिटीसँग समन्वय गरी जिल्ला संयन्त्रको बैठक राख्न जिल्ला कमिटीहरुलाई निर्देशन पनि दिएको छ ।

वरिष्ठ नेताको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामै गम्भीर धक्का : गुरुङ

प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीका वरिष्ठ नेताको अभिव्यक्तिका कारण पार्टीको प्रतिष्ठमा गम्भीर असर पुगेको बताएका छन् । नेकपाको प्रदेश कमिटी बैठकपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा ती नेताको अभिव्यक्तिका कारण पार्टीमा निराशा छाएको पनि उल्लेख गरे ।

गुरुङले आफूले टिप्पणी गरेको वरिष्ठ नेताको नाम भने खुलाएनन् । मुख्यमन्त्रीसमेत रहेका गुरुङले वरिष्ठ नेताले नेकपाको विधान भन्दा पनि तत्कालिन एमालेको विधान हेरेर बोल्ने गरेको भन्दै नयाँ अवस्थामा नयाँ तरिकाले सोच्न आग्रह गरे ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले विगतका त्रुटी सच्याउँदै अगाडि बढ्ने बताए । प्राविधिक त्रुटीका कारण गएको चुनावमा केही सिट गुमाएको भन्दै उनले भने, ‘हामी अब अघिल्लो चुनावमा प्राविधिक रुपमा गुमाएका सिट फिर्ता गर्नेगरी लाग्छौं र नतिजा पनि निकाल्ने प्रण गर्छौं ।’

नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले संघ, प्रदेश र स्थानीय तीनवटै सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment