Comments Add Comment

‘ढुक्क भएर दशैं मान्नुस्, सुरक्षा दिने हामी छौं’

१८ असोज, पोखरा । जब चाडवाड आउँछ गाउँमा चहलपहल बढ्छ, सहरमा सुनसान । चाडवाड मनाउन जाने-आउने क्रम चलिरहेने भएकाले यहीबेला कतिपय घर नै खाली हुन्छन् । चाडवाडमा घरधनी, व्यापारी लगायतलाई चिन्ता पर्छ, ‘केही त भइहाल्ने होइन ?’

यस्तै मौकाको फाइदा उठाएर चोरी, लुटपाटका घटना हुने सम्भावनालाई मध्यनजर गर्दै कास्की प्रहरीले भनेको छ, ‘ढुक्क भएर दशैंतिहार मान्नुस्, सुरक्षा दिने हामी छौं ।’

कास्की प्रहरीले दशैं, तिहारजस्ता चाडवाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना नै तयार पारेको छ । चाडवाडमा विशेष सुरक्षा दिन १८ प्रकारका सुरक्षा टोली प्रहरीले तयार पारेको छ । सुरक्षा योजना सार्वजनिक गर्दै कास्की प्रहरीले भनेको छ, ‘हामी हरेक प्रकारले नागरिकको सुरक्षामा छौं, विशेष सुरक्षा टोली तयार पारेका छौं, तपाईंहरु ढुक्कले चाड मनाउनुस्, हामी २४ सै घन्टा खटिन्छौं ।’

कास्कीको सुरक्षाका लागि ५ सय ८६ नेपाल प्रहरी खटिने छन् । सशत्र प्रहरी बलबाट पनि सुरक्षाका लागि गस्तीदेखि विशेष निगरानीमा खटिने छन् भने राष्ट्रिय अनुसन्धान विभागबाट अप्रेसनमा हुने छन् ।

‘चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरी, लुटपाट,अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न हामी कटिवद्ध छौं’ कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भने, ‘सहरदेखि गाउँसम्म हामीले सुरक्षा योजना तयार पारेका छौं ।’

प्रहरीले राजमार्गमा गस्तीसँगै आकस्मिक चेकिङ गर्ने भएको छ । सहरलाई सुरक्षित राख्न मोटरसाइकल गस्ती, मोबाइल गस्ती, पैदल गस्ती, विशेष चेकिङ गर्ने एसपी ओम रानाले जानकारी दिए ।

प्रहरीको अर्को चेकिङ चेकिङ गर्ने तरिका छ, एम्बुसिङ । त्यस्ता क्रियाकपाल हुने क्षेत्रमा कुनै गतिविधि भइहाले कोही उम्कन नदिनका लागि एम्बुसिङ चेकिङ गर्ने छ । एम्बुस थापेजसरी नै चोरी, लुटपाट वा घटना घटाउनेलाई समाउन विशेष टोली नै तयार पारिएको एसपी रानाले जानकारी दिए ।

प्रहरीले पोखराका मुख्यमुख्य ६ ठाउँमा यात्रु सहायता कक्ष पनि सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटक र आउ-जाउ गर्ने यात्रुलाई सहज सेवा दिन सहायता कक्ष राख्न लागिएको प्रहरीले जानकारी दिएको छ ।

अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने, प्रहरी जनशक्ति र साधनहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी पोखरा महानगरका र ग्रामिण इलाकामा रहेको सम्पूर्ण क्षेत्रहरुको सुरक्षा अवस्था सामान्य कायम राख्ने प्रतिवद्धता कास्की प्रहरीले गरेको छ ।

प्रहरीले पोखरा भित्रने मुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा पार्ने छ । पृथ्वीराजमार्ग हुँदै छिर्ने नाका कोत्रे, सिद्धार्थ राजमार्गको छोरेपाटन, भूमिशेरचन राजमार्गको याम्दीमा विशेष चेकिङ हुने छ । विजयपुर, तालचोक, हेमजालगायत सहरका मुख्य चोक तथा बस्तीमा कुकुरसहित चेकिङ गर्ने प्रहरीको योजना छ ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतमा प्रहरीले छुट्टै सुरक्षा व्यवस्था अपनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment