+
+
Shares

मुस्कानसहितको चियाः बज्यै पकाउने, बाजे टक्रयाउने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते ११:१३

१९ असोज, काठमाडौं । खिचापोखरीतिर हुनुहुन्छ ? चियाको तलतल लाग्यो ? उसाेभए, चियाबाजेलाई एक कल हान्नुस् ।

एकछिनमै टेकबहादुर बुढाथोकी (५७) टकटक गर्दै तात्तातो चिया र एक फाँको ब्रान्डेड मुस्कान बोकेर आइपुग्नेछन् । अफिसमा होस, कोठामा होस, वा फुटपाथमै, जहाँ पनि हाजिर हुन्छन् । यस क्षेत्रमा उनको चिया ‘बरमझियाको पेडा’ भन्दा कम पपुलर छैन ।

तर, यो कथाका पात्र उनी मात्र होइनन् । जब चिया पाक्ने भान्सा खोज्दै तपार्इं एउटा घरको भर्‍याङमुनि साँघुरो छिंडीमा घुस्रिनुहुन्छ, त्यहाँ भेटिन्छन् कथाकी अर्की पात्र अर्थान् चिया बज्यै । खास नाम मायाकुमारी ।

बाजेले ‘सर्भ’ गर्ने चिया उनै बज्यैको हातबाट पाक्ने त हो । टेकबहादुर पर्दामा देखिन्छन्, उनी पर्दापछाडि हुन्छिन् ।

‘जहाँ पनि, जहिले पनि’ चिया टक्रयाउने टेकबहादुरका दम्पत्तीले यही घुम्तीमा आइपुगेपछि जीवनलाई फरक रंग र ढंगबाट अगाडि बढाएका हुन् । विहान उठेदेखि साँझ नछिप्पिएसम्म उनीहरुकोे अविछिन्न दैनिकी यसैगरी बितिरहेको छ ।

बज्यैको हात मिठो कि, बाजेको मुस्कान ? उत्तर दिन सजिलो छैन । दुवै एक से एक बेजोड छन् । बाजे त मानौं रेष्टुरेन्टका तालिमप्राप्त वेटर हुन्, जोसँग ग्राहक रिझाउने विशेष कला छ ।

बाजेबज्यैले दिनमा करिव तीन सय कप चिया बिक्री गर्छन् । प्रतिकप २० रुपैयाँ । दैनिक ५/६ हजारको व्यापार हुने बताउँछन् ।

रामेछापको खाँडादेबी गाउँपालिकाबाट ८ वर्षअघि काठमाडौं आउँदा टेकबहादुरसँग कुनै स्पष्ट योजना थिएन । कहिले हार्डवेयर पसल त कहिले ज्यामी काम गर्दै सिँढीमुनिको चिया पसलसम्म आइपुगेको हो दम्पत्तीको यात्रा ।

०६७ सालतिर टेकुमा मजदुरी गरेका टेकबहादुर विस्तारै चिया व्यापारतर्फ लोभिए । लेखपढ नजानेका उनलाई चिया बेच्न सजिलो लाग्यो । त्यहीँ उनले कोठाभित्र चिया पकाएर बाहिर लगेर बेच्न थाले । खिचापोखरी त पछि आएका हुन् ।

सुरुअाती दिनमा उनी किट्लीमा चिया लिएर घुम्थे । त्यसपछि बल्ल सटरमा पसल थापेर श्रीमतीलाई पनि व्यवसायमा सँगै डोर्‍याए उनले ।

पछिल्लो ७ वर्षदेखि खिचापोखरी आसपास चिया बेच्दै आएका टेकबहादुर दम्पत्ती सटरमा पसल थापेपछि भने अफ्ठ्यारोमा परेछन् । खिचापोखरी जस्तो व्यस्त बजारमा महंगो सटर उनको चिया व्यापारले धान्न सकेन ।

अन्ततः श्रीमतीलाई लिएर गाउँ फर्किने निधो गरे । तर, घरबेटीले उनीमाथि दया देखाए र सोही घरको भर्‍याङमुनिको खाली छिँडीमा पसल चलाउन ठाउँ दिए । ‘घरबेटीको कृपाले गर्दा’ टेकबहादुरले भने, ‘६-७ वर्षदेखि राम्रै चलिरहेको छ ।’

पहिले सटरमा बस्दा आफ्नो व्यवहार देखेर घरबेटीले रुचाएको हुनसक्ने उनलाई लागेको छ । आफ्नो कथाव्यथा सुनाइ रहँदा उनी दोहोर्‍याई तेहर्‍याई घरबेटीको प्रशंसा गर्थे ।

बिहान ७-८ बजे खिचापोखरीका पसलहरु खुलेसँगै टेकबहादुर र मायाकुमारीको दैनिकी सुरु हुन्छ । करिब ७ बजे भर्‍याङमुनिको कुनो पसेपछि मायाकुमारी बेलुकासम्मै पनि भित्रै व्यस्त हुन्छिन् । बेला-बेलामा टेकबहादुर पनि श्रीमतीलाई पालो दिन्छन् ।

कहिलेकाहीं ठाकठुक पनि पर्छ । तर उतिखेरै मिलिहाल्छन् । लोग्नेस्वास्नीको झगडा परालको आगो त्यसै भनिएको होइन ।

कहिलेकाहीँ ग्राहकले देखाएको रिस श्रीमानले आफूसँग पोख्ने गरेको गुनासो गर्दै मायाकुमारी भन्छिन्, ‘बेलाबखत रिसाउनुहुन्छ । तर, म चुप लागेर बस्दिन्छु । अनि आफैं सेलाउनु हुन्छ ।’

कमाइ राम्रै भए पनि मायाकुमारी बेलाबखत पिरोलिन्छिन् । घरमा नातिनातिना खेलाएर बस्नुपर्ने यो बुढ्यौली उमेरमा जेलजस्तो एउटा कुनोमा चिया पकाएर बस्न अब धेरै दिन सकिँदैन भन्ने लाग्छ । तर, तत्काललाई अर्को विकल्प पनि छैन उनीसित ।

यही चियाको कमाईले तीन छोरीको विहेदान गरिसकेको सुनाउँदै उनले दुई छोरा-बुहारी भने अलग्गै बस्ने गरेको जानकारी दिइन् । छोरा-बुहारी कमाउने उद्यममा नलाग्दा भने उनी चिन्तित छिन् । छोराबुहारीले पाल्नुपर्नेमा उनीहरुलाई उल्टै बाबुआमाले सहयोग गर्नुपरेको छ ।

तर चिया बेचेर राम्रै आम्दानी हुने भएपनि छोरा-बुहारीले यो काममा रुची नदेखाएको उनले गुनसाो गरिन् । ‘आजकालका बुहारीहरु के चिया पकाएर बस्थे ?’ मायाकुमारीले भनिन् ।

सकिन्जेल अझै केही वर्ष चिया पकाएर बेच्ने, नसके गाउँ फर्किने उनको योजना रहेछ । तर छोरा-बुहारीले सघाए अझै पनि राम्रै पसल चलाउन सकिन्छ भन्ने लागेको छ यी दम्पत्तिलाई ।

फोटोहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?