Comments Add Comment

बंगबन्धु गोल्डकपः नेपालको सेमिफाइनल सम्भावना कति ?

१९ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ बंगलादेशमा रहेको नेपाली फुटबल टिमलाई चोटले सताएको छ । दोस्रो म्याच खेल्नुपूर्व टिमका ती महत्वपूर्ण खेलाडीहरु घाइते अवस्थामा छन् ।

पहिलो म्याचमा पराजित भएको डिफेन्डिङ च्याम्पियन नेपालले सेमिफाइनलमा स्थान बनाउन प्यालेस्टायनविरुद्धको दोस्रो म्याच जित्नैपर्ने हुन्छ । तर, पहिलो रोजाईका तीन जना डिफेन्डर एकैसाथ घाइते भएपछि नेपाललाई ठूलो धक्का लागेको छ । पहिलो म्याच खेल्दा कप्तान बिराज महर्जनसहित सेन्टरब्याक अनन्त तामाङ र राइट ब्याक आदित्य चौधरी घाइते बनेका थिए । उनीहरु अझै रिकभर नभएकाले सेमिफाइनल खेल्नेबारे अन्योल छ ।

नेपाल र ताजिकिस्तानबीचको म्याचको १६औं मिनेटमा कप्तान विराजको खुट्टामा चोट लागेको थियो । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएपछि प्रशिक्षक बालगोपाल महर्जनले उनको स्थानमा सुमन अर्याललाई मैदान छिराएका थिए । सोही खेलको ५१औं मिनेटमा आदित्य चौधरीलाई ताजिकिस्तानका खेलाडीले फल गरे । आदित्यको कुम भुईमा बजारिएपछि उनी पनि खेल्न नसक्ने अवस्थामा पुगे । त्यसपछि प्रशिक्षकले उनको स्थानमा देवेन्द्र तामाङलाई खेलाएका थिए ।

त्यतिले नपुगेर खेलको ६४औं मिनेटमा अनन्त तामालाई ताजिकिस्तानका खेलाडीले गम्भिर तरिकाको फल गरे । अनन्तले केही समय खेले पनि पछि नसकेपछि उनको ठाउँमा भरत खवास आए ।

कप्तान विराज र अनन्त प्यालेस्टाइनविरुद्ध खेल्ने सम्भावना निकै कम छ । आदित्य चौधरीले भने खेल्ने सम्भावना टरेको छैन ।

सेमिफाइनलको गणित

समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार साँझ स्थानीय समयअनुसार ६ बजेर ३० मिनेटमा प्यालेस्टाइनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिलेट जिल्ला मैदानमा हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ ।

तर नेपाललाई जित मात्रै पर्याप्त छैन । बलियो प्यालेस्टाइनलाई कम्तिमा पनि २ गोलको अन्तरले पराजित गर्नुपर्ने हुन्छ । यो नेपालका लागि फलामको चिउरा चपाएसरह हो ।

पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग २-० गोलअन्तरले पराजित भएको थियो भने प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा ताजिकिस्तानलाई २-० गोलअन्तरले हराएको थियो । प्यालेस्टाइन र ताजिकिस्तानको समान ३-३ अंक रहेको छ । ताजिकिस्तानले भने समूह चरणको दुवै खेल खेलिसकेको हुँदा नेपाल र प्यालेस्टाइनबीचको नतिजा कुरेर बसेको छ ।

नेपाल पराजित भएमा ताजिकिस्तान र प्यालेस्टाइन सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले प्यालेस्टाइनलाई १ गोलको अन्तरमा हराए पनि यिनै दुई टिम सेमिफाइनल खेल्नेछन् । ताजिकिस्तानसँग २-० गोलअन्तरले पराजित भएको हुँदा अहिले नेपालको गोल फरक माइनस दुई (-२) मा रहेको छ । यता, प्यालेस्टाइनको प्लस दुई (+२) रहेको छ भने ताजिकिस्तानको गोल फरक शुन्यमा रहेको छ । यस्तो अवस्थामा नेपाललाई कम्तिमा २ गोलको अन्तर चाहिएको छ । तर, यतिले पनि नेपाल ढुक्क हुन भने सक्दैन ।

नेपालले २ गोलको अन्तरले जितेमा तीनै टिमको समान ३-३ अंक हुन्छ भने गोल फरक पनि तीनै टिमको शून्यमा झर्नेछ । यस्तो अवस्थामा भने फेयर प्लेको आधारमा नेपाल, ताजिकिस्तान र प्यालेस्टाइनबीचमध्ये २ टिम सेमिफाइनलमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment