News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै १५८ रनको लक्ष्य जोगाएको छ।
- चितवनका कमलसिंह ऐरीले ४ विकेट लिएपछि विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा रोकियो।
- चितवनका डाविड मलानले ७० रन बनाए भने रवि बोपारा र डान मोस्लीले तेस्रो विकेटका लागि अविजित ६७ रन जोडे।
१० कात्तिक, काठमाडौं । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो ।
विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए । १८औं ओभरमा लगातार दुई विकेट लिँदै कमलले खेल चितवनतर्फ फर्काए ।
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो । रुपेश सिंह र प्रतिश जिसी कुनै पनि रन नजोडी पभेलियन फर्किए । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिँदै खेल चितवनको पक्षमा धकेले ।
कुनै समय कठिन अवस्थामा रहेको विराटनगरका लागि आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै सहज स्थितिमा पुर्याएका थिए । रसेलले १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रन बनाए । चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए । उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए । एन्जेलो १४ रनमा आउट भए ।
विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । उनले पहिलो विकेटका लागि लोकेश बमसँग ४० रनको साझेदारी गरेका थिए । लोकेश १४ बलमा २६ रन बनाएर आउट भए । शुभम रञ्जाने १० र सन्दीप लामिछाने कुनै पनि रन नजोडी आउट भए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए । मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए । विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए । उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराएका थिए ।
१३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङ आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले । रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।
प्रतिक्रिया 4