१९ असोज, काठमाडौँ । राजधानीको मनोरञ्जन उद्योगमा कार्यरत श्रमिकहरूका समस्याको समाधानका लागि स्थानीय सरकारहरूले ठोस कदम चाल्नुपर्ने कुरामा सरोकारवालाहरूले जोड दिएका छन् ।
टोखा नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै श्रमिक अधिकारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, सरकारी अधिकारी, श्रमिक र व्यवसायीले नगरपालिका तथा वडा कार्यालयजस्ता स्थानीय निकायले नेतृत्व लिएमा श्रमिकका समस्या समाधान हुने तथा मनोरञ्जन उद्योगमा देखिएका विकृतिहरू पनि अन्त्य हुने बताए ।
कार्यक्रममा व्यवसायीका प्रतिनिधि शिशिर शर्माले मनोरञ्जन क्षेत्रमा विकृतिहरू रहेको स्वीकार गर्दै त्यसमा सुधार ल्याउनका लागि आफू तत्पर रहेको बताए । श्रमिक प्रतिनिधि सुजाता राईले ग्राहकहरूले पनि श्रमजीवीलाई दुर्व्यवहार गर्ने गरेको बताइन् ।
नगरपालिकाकी उपमेयर ज्ञानमाया डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, विभिन्न वडाका अध्यक्षहरूले नगरका मनोरञ्जन उद्योगलाई नियमन गर्नका लागि आफूहरूले आफू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रमका सहभागीहरूबीच नगरपालिकाको नेतृत्वमा मनोरञ्जन क्षेत्रमा नियमित अनुगमन गर्ने, स्थानीय सरकारबाट नयाँ नियम जारी गर्ने, श्रमिकका अधिकार सुनिश्चित गर्ने र बाल श्रमलाई निषेधित गर्ने सहमति भएको आयोजक संस्था चाइल्ड नेपालका कार्यक्रम संयोजक कमल पुलामीले बताए ।
प्रतिक्रिया 4