Comments Add Comment

२ हजार ५०० मेट्रिक टन चिनी बन्दरगाहमै थन्कियो

२० असोज, वीरगञ्ज । दुई सातादेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा २ हजार ५ सय ४६ मेट्रिक टन चिनी थन्किएको छ । दशैं, तिहार, छठ लगायतका चाडबाडको मुखमै आयातित चिनी सुख्खा बन्दरगाहमा थन्किएको हो ।

संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लागु गरेपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको १३ करोड रुपैयाँको चिनी गोदाममा अलपत्र परेको छ । भारतबाट ल्याइएको चिनीको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास प्रक्रिया नै अघि बढाएको छैन ।

नेपाली चिनी उद्योगीहरुको हितका  लागि भन्दै सरकारले चिनी आयातमा ‘कोटा प्रणाली’ लागु गरेको छ । तर निर्णय स्पष्ट नहुँदा सरकारले कोटा नीति ल्याउनु अघि नै प्रतीतपत्र (एलसी) खोलेर नेपाल भित्रिएको चिनी समेत सुक्खा बन्दरगाहमा दुई सातादेखि थन्किएको हो । संघीय सरकारले स्वदेशी चिनी उद्योगीलाई बचाउन ल्याएको निर्णयले उपभोक्ताहरु चाडबाडमा महंगो मूल्य तिरेर चिनी खरिद गर्न बाध्य भएका छन् ।

दसैं, तिहार र छठलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनले जेठ २३ मा ५ हजार टन चिनी आयातका लागि एलसी खोलेको थियो । आपसी प्रक्रिया पूरा गरेपछि भारतको श्री रेणुका सुगर मिलसँग असार २९ गते नै चिनी खरिदका लागि बुकिङ गरेको थियो । भदौ १८ गते नै २ हजार ४ सय ५४ टन बोकेर र्‍याक वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आइपुगेको थियो । तर बाँकी चिनी ल्याउनका लागि सजिलै र्‍याक मिल्न सकेन । जसले गर्दा असोज ६ गते मात्रै चिनी बोकेको र्‍याक सुक्खा बन्दरगाहमा आइपुगेको थियो ।

भारतीय रेल्वेको ढिलासुस्तीका कारण चिनी बोकेको रेल समयमै आउन नसकेको र सरकारी निर्णयका कारण बन्दरगाहमै अड्किएको साल्ट ट्रेडिङको वीरगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख आमोद लामिछानेले बताए । ‘शुरुमा रेल्वेको चापले गर्दा र्‍याक नै दिएनन्, त्यसले गर्दा ७ दिनमा आउनुपर्ने माल आउन १५ दिन लाग्यो । भदौ ३१ मा सरकारले नयाँ निर्णय गर्‍यो, असोज १ गतेबाट लागु भयो हाम्रो माल असोज ६ गते आयो ।’

प्रमुख लामिछानेले भने, ‘सरासर आएको भए समस्या हुने थिएन, भदौको २६-२७ गते नै आइपुग्ने थियो । रेल्वेमा हुने जाम लगायतका कारण आइपुग्न ढिला भयो । त्यसले गर्दा समस्या भयो ।’

उनले माथिल्लो निकायमा पत्राचार भइसकेकाले छिट्टै केही निर्णय आउनेमा आफू आशावादी रहेको बताए । चिनीको भन्सार जाँचपास भएपछि साल्ट ट्रेडिङलाई सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मीनललाई चिनी भण्डार गरेर राखिएको गोदाम भाडा लागायतका दायित्व थपिने आशंका गरिएको छ । ‘अहिलेसम्म यस्तो परेको त थिएन, यसपाली पर्‍यो, अब गोदाम भाडाहरु बढी तिर्नुपर्ने हुनसक्छ । चाडको मुखमा समयमै बजारमा लैजान पाइएन,’ प्रमुख लामिछानेले भने ।

चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ । । सरकारले चिनीमा भन्सार बढाउँदा समेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि संघीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लागु गरेको थियो । जसका कारण असोज १ गतेदेखि कुनैपनि भन्सार नाकाबाट वैधानिक रुपमा चिनी नेपाल भित्रिएको छैन । वीरगञ्जमा उपभोक्ताले चिनी प्रतिकिलो ६९ रुपैयाँका दरले खरिद गरिरहेका छन् ।

असोज १ गतेदेखि चिनीको कोटा निर्धारण भएकाले भन्सार जाँचपास गर्न नसकेकोले साल्ट ट्रेडिङको चिनी बन्दरगाहमै रोकिएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्य सेढाईंले बताए । ‘सरकारले चिनीको कोटा निर्धारण गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले कोटाको परिणाम सहितको पत्र नल्याएसम्म जाँचपास गर्ने आधार देखिएन,’ भन्सार प्रमुख सेढाईंले भने, ‘जाँचपास हुन नसकेकाले चिनी बन्दरगाहमै थन्किएको छ ।’ चिनी बन्दरगाहमा थन्किएको बारेमा माथिल्लो निकायमा जानकारी गराएको र भन्सार जाँचपासका लागि पहल भइरहेको उनको भनाइ छ ।

२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment