२० असोज, काठमाडौं । सम्पदागत धरोहरका रुपमा चिनिएको शीतल निवास नभत्काइने भएको छ । अब यसलाई रेट्रोफिटङ गरेर संरक्षण गरिनेछ ।
गणतन्त्रकालमा राष्ट्रपति कार्यालयका रुपमा प्रयोग हुँदै आएको शीतल निवासमा २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको छ । राष्ट्रपतिका लागि नयाँ भवन बनेपछि शीतल निवास भत्काउन डिजिकन इन्जिनियर्स कन्सल्टेन्टलाई ठेक्का समेत दिइएको थियो ।
भवनको कलाकौशल र बनोट जगाउन प्रबलीकरण गर्नुपर्ने आवाज उठेपनि सहरी विकास मन्त्रालय, भवन विभाग र केन्द्रीय आयोजना कार्यान्वयनका अधिकारीहरु भत्काउने पक्षमा थिए । त्यसअनुसार ठेक्का पनि लाग्यो ।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयंमले छुट्टै अध्ययर्न गर्न लगाइन् । विज्ञहरुले अग्रभाग भत्काउन नपर्ने रिपोर्ट दिएपछि शीतल निवास भत्काइएको थिएन ।
राष्ट्रपति भण्डारी र पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीबीच बिहीबार भएको भेटमा शीतल निवास नभत्काउने निर्णय भएको छ । अब रेट्रोफिटङ गरेर शीतल निवासको संरक्षण गरिनेछ भने नयाँ भवन बनाउन गुरुयोजना बनाएर अघि बढिनेछ ।
पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले शुक्रबार नै डिजिकन इन्जिनियर्स कन्सल्टेन्टका अधिकारीहरुलाई बोलाएर शीतल निवास नभत्काउने निर्णय जानकारी गराएका छन् ।
अब शितल निवाससँगैको प्रहरी प्रशिक्षण प्रतिष्ठानको जमीनसमेत गाभेर शतिल निवासलाई भब्य बनाउने योजना छ ।
प्रतिक्रिया 4