Comments Add Comment

मध्यभोटेकोशी आयोजनाले भुक्तानी नदिएपछि मजदुरको बिचल्ली

२२ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले काम गरेको रकम भुक्तानी नगर्दा मजदुरहरु मर्कामा परेका छन् ।

आयोजनाले सुरुङलगायतको अन्य संरचना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको थियो । चिनियाँ ठेकेदारमार्फत काम गरेका नेपाली कामदारहरुलाई ठेकेदारले भुक्तानी नदिएपछि मजदुरहरु मारमा परेका हुन् ।

दशै नजिकदै गर्दा काम गरेको पैसा लिएर घर जाने तयारीमा रहेका सिन्धुपाल्चोक लगायत अन्य जिल्लाका मजदुरहरु चिनियाँ कम्पनीले पैसा नदिएपछि दशैको मुखमा समस्यामा परेका छन् ।

काम गरेको भुक्तानीका लागि चिनियाँ ठेकेदारहरुलाई पटक पटक अनुरोध गरे पनि आयोजनाले पौसा नदिएकाले तत्कालै पैसा दिन नसक्ने बताएको मजदुर राम श्रेष्ठले बताए । ‘एक हप्तादेखि घर जानको लागि पैसा मागिरहेका छौ, तर चिनियाँ ठेकेदारहरुले पैसा नै दिदैन’ श्रेष्ठले गुनासो गरे ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सुरुङमार्ग लगायत अन्य संरचना निर्माणमा काम गरिरहेका मजदुरहरुले काम गरेको पैसा नपाएपछि बाह्रविसे नगरपालिकामा गएर पैसा दिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

मध्यभोटेकोशीले चिनियाँ ठेकेदारलाई काम गरेको भुक्तानी गरेपछि मात्रै चिनियाँ ठेकेदारहरुले नेपाली कामदारलाई पैसा दिने गरेको छ । चिनियाँ ठेकेदारले काम गरेको रकम भुक्तानीका लागि कन्सलटेन्सीमा पठाए पनि कन्सलटेन्सीले कामको बिल स्वीकृत नगर्दा समस्या भएको चिनियाँ ठेकेदारका सहयोगीहरुले बताएका छन् ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाका एमडी मणिराम काफ्ले भने कन्सलटेन्सीले स्वीकृत गरेका बिलहरु सबैको आफुहरुले भुक्तानी गरेको दाबी गर्छन् । ‘हामीले कन्सलटेन्सीले पठाएका सबै बिलको भुक्तानी गरेका छौं नपत्याए तपाईं आफै आएर हेर्न सक्नुहुन्छ’ काफ्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment