Comments Add Comment

व्यंग्यः हाई प्रोफाइल बलात्कार, टिपर र शपथ !

जानेमाने एक नेताजी ‘बलात्कार र हाम्रो समाज’ विषयक एक कार्यक्रममा प्रवचन दिन जानुभो । नमिता, सुनिता, निर्मला, श्रीया, वसन्ती, संगीता आदि बलात्कारपछि हत्या गरिएका तमाम चेलीहरू सम्झिनुभो । रूनुभो । भक्कानिनुभो । आँशु उत्सर्जन गर्नुभो । क्षमा विसर्जन गर्नुभो । आक्रोशमा आउनुभो ।

यत्तिकैमा नेताजीको दिमागमा शायद नयाँ कुरा क्लिक भयो । अनुहार हल्का सामान्य बनाउँदै वहाँले भन्नुभो– बलात्कारपछि अधिकांश चेलीहरूको हत्या भएका दृष्टान्तहरू छन् । यस्तो हत्यामा कतै हामी नै त दोषी छैनौं ? कतै हाम्रो विद्यमान नियम कानून नै त दोषी छैन ?

बलात्कारीलाई सजाय कम भो भन्ने कुरा सडकदेखि सदनसम्म उठिराखेको सन्दर्भमा वहाँको भनाइ सही नै थियो, त्यसैले होला एकलट ताली पररर बज्यो ।

वहाँले प्रष्टीकरण दिँदै फेरि भन्नुभो– बलात्कारपछि हत्या हुनुको मुख्य कारण भनेकै बलात्कारलाई हाम्रो कानून र समाजले अपराध मानेको छ । कानूनले सजायको व्यवस्था गरेको छ भने समाजले पनि राम्रो नजरले हेर्दैन । यसकारण यस्तो सजायबाट बच्न बलात्कारीहरूले प्रमाण मेटाउन हत्या गरेका हुन् । आखिर कुनै बलात्कारीले पहिला हत्या गरेर बलात्कार त पक्कै गर्दैन । तसर्थ, बलात्कारलाई सामान्य रूपमा लिँदै बलात्कारीलाई सजाय नहुने कानून बनाउने हो भने बलात्कृत धेरै चेलीहरूको ज्यान बचाउन सकिन्छ । आखिर ज्यान भन्दा ठूलो अरू केही छ त ?

बलात्कारलाई सामान्य शारिरिक घर्षणको रूपमा व्यवस्था नगर्ने हो भने हरेक लोग्नेमान्छेहरूले हरेक दिन आफ्नो दैनिकी शुरू गर्नुअघि ‘म बलात्कार गर्दिनँ, म बलात्कार हुन दिन्नँ, सबै महिलाको इज्जत गर्नेछु’ भनेर शपथ खानुपर्ने अनिवार्य व्यवस्था गरौं, बलात्कार उन्मूलन हुनेमा शंकै छैन

उनको दलका उपस्थित अञ्जनीपुत्रहरूले फेरि ताली बजाए । अरूले के गरे, थाहा भएन ।

मचाहिँ के भन्नु भा होला नेताजीले भनेर धेरैबेर सोच्दा सोच्दै एक्लै भैसकेंछु । वहाँको कुरा बल्ल जँच्यो मलाई । वहाँको भनाई मलाई जँचुञ्जेलसम्म कार्यक्रम सकिईवरि सबै हिँडिसकेछन् । एक्लै भए पनि ताली बजाएँ । तर मेरो ताली ‘पररर’ मा रूपान्तरण हुन सकेन । केवल सुनियो– प्याट ! प्याट ! प्याट !

नेताजीको दिमागलाई मानें मैले ।

हुन पनि हो ।

बलात्कारलाई हात मिलाएको जस्तो वा अांलो मारेजस्तो वा बाटो हिँड्दा ठोक्किए जस्तो वा कसैले थप्पड हानेजस्तो ‘विपरीतलिंगी बीचको सामान्य शारीरिक घर्षण’ का रूपमा मात्र कानूनमा व्यवस्था गरिदिने हो भने बलात्कार हत्यामा रूपान्तरण हुने थिएन । थुप्रै चेलीहरूको ज्यान जोगाउन सकिने थियो । अर्थात् बलात्कार भए पनि तीनको ज्यान बच्थ्यो । नेताजीले भन्न खोजेको यही रहेछ क्यार ।

अनि झट्ट सम्झिएँ टिपरलाई ।

‘कलियुगका यमदूत’ अर्थात् टिपरको लासमोहसँग तुलना गरी हेर्दा पनि सही हो जस्तो लाग्यो नेताजीको यो महावाणी । टिपरले बाइक, स्कुटी, कार, पैदलयात्री इत्यादिलाई ठक्कर दिएको कुरालाई पनि यसैगरी ‘सामान्य यान्त्रिक घर्षण’ मानेर छाड्ने कानून बनाउन सकियो भने त टिपरको ठक्कर खाई सडकमा ढलेकाहरूलाई गुरूज्यूले रिभर्स गरी गरी मार्ने कष्ट गरिरहनुपर्ने थिएन कि ? घाइतेले पनि जीवनदान पाउँथ्यो । ‘मारे आठ/दस लाखको खेला, छाडे जिन्दगीभरि झमेला’ यही सूत्रको बलमा टिपर त्यो वेगमा दौडिन्छन् । अब भन्नुस् साँच्चै अनेकौं जीवन बचाउने हो भने टिपरले यसरी दिएको ठक्करलाई सामान्य यान्त्रिक घर्षण मानेर छाडे हुन्न ? आखिर ज्यानभन्दा ठूलो अरू केही हुन्छ ? हुँदैन ।

अहिले हेर्नुस् त बलात्कारीका पछि हात धोएर मान्छे लाग्या छ्न् । फाँसी दिनुपर्छ रे । लिङ्गच्छेदन गरिदिनुपर्छ रे । छाला काढेर नूनचूक छर्नुपर्छ रे । के के हो के के । के बलात्कारीले बाँच्न पाउनुपर्दैन ? उसको मानवअधिकार छैन ? उचाहिँ मान्छे होइन ? उसको इज्जत छैन ? जाबो बलात्कार गर्दैमा उसको जीन्दगी नै बर्बाद गर्न हुन्छ त ? लौ बलात्कारी त बलात्कारी नै भो, तर उसका सपना, भावना, इच्छा, आकांक्षामाथि बलात्कार गरेर हामी पनि बलात्कारी नै बन्ने ? उसका आमाबाउ हुन्छन्, कतिपयका श्रीमती, छोराछोरी पनि हुन्छन् । तिनको चाहिँ मतलव राख्नु पर्दैन ? तिनको अधिकारकोचाहिँ ख्याल राख्नु पर्दैन ? त्यसमाथि कलकलाउँदो, सुकुमार, अविवाहित, होनोहार कुनै ठिटो बलात्कारी रहेछ भने त उसको जीन्दगी जेलमै सड्दैन ? डाक्टर, इञ्जिनियर, इन्स्पेक्टर, वकील, पाइलट बन्ने सपना तुहिँदैन ? कसले गर्ने ऊसँग बिहे ? दुनियाँले बलात्कारीभन्दा उसका आमाबाउको मन कति रोला ? एकचोटि बलात्कारीको आमाबाउ भएर सोच्नुस् त ! उसकी गर्लफ्रेण्डले उसलाई छोडेको कसरी हेर्नु ?

अझ एउटा हाई प्रोफाइल मान्छे बलात्कारी रहेछ भने उसलाई कानूनी दायरामा ल्याउँदा हजारौं फिट उचाइमा उडिरहेको विमान एकैचोटि ड्याम्म भुइँमा बजारिएजस्तो हुन्न ? आम्मामा ! कसरी हेर्नु हजारौं फिटबाट विमान झरेको त्यस्तो विभत्स दृश्य ?

हाई प्रोफाइल मान्छे भनेको राष्ट्रसेवामा अहम् भूमिका खेलिरहेको वा खेल्ने प्रचुर सम्भावना भएको मान्छे हो, जसको सेवाविना राष्ट्र पूर्ण हुँदैन । यो सबैलाई थाहा छ । अब बताउनुस् उसलाई बलात्कार करार गर्दा कति हानी हुन्छ देशलाई ? एउटा योग्य नागरिक यसरी राष्ट्रसेवाबाट बञ्चित हुनु जायज हुन्छ त ? हुँदैन । नमिता, सुनिताका बलात्कारीले नजाने देशमा कत्रो योगदान गरे हुन् । यदि ती जेल परेका भए तिनको सेवाबाट त राष्ट्र बञ्चित हुन्थ्यो नि । यसबारे पनि सोचौं न । अध्ययन अनुसन्धान गरौं न !

नेताजीको भाषण सुनेपछि मलाई यस्तो दिव्य ज्ञान प्राप्त भएको महसुस भयो ।

बलात्कृत हुने त बलात्कृत भैगए, मारिने त मारिएर गैगए, बाँच्नेलाई सुखसँग बाँच्न दिँदा के बिग्रन्छ हँ ? भएभरका बलात्कारी भटाभट पक्राउ गर्न थाले फेरिफेरि कसले गर्छ बलात्कार ? बलात्कारबिना हाम्रो समाजले कसरी पाउँछ पूर्णता ? पूरा समाजको चिन्ता गरौं न । एकोहोरो ‘बलात्कारीलाई फाँसी देऊ’ भनेर रट त लगाउनु हुन्न नि । भोलि के हुन्छ कसलाई थाहा छ ? विधिको बिडम्बना यसरी बलात्कारीलाई फाँसीको माग गर्ने, कडा कार्वाही गर्नुपर्छ भन्नेका छोरानाति नै भोलि ’बलात्कार शिरोमणि’ भएर ननिस्केलान् भन्ने के आधार छ ? भविष्य हेर्नुपर्दैन ?

अहिले त झ्याईँ झ्याईँ विहा गरेर ल्याएकी श्रीमतीलाई पनि जबर्जस्ती गर्‍याे  भने वैवाहिक बलात्कार भनेर बलात्कारको मुद्दा लाग्छ,्र साना नानीहरू माथि तिनका बाउ, बुढाबाउ, काका, मामा, छिमेकीले समेत बलात्कार र यौन दुर्व्यवहार गरेका घटना छ्याप्छ्याप्ती आइरहेकै छन् । अधिकांश अफिस, उद्योग, कलकारखानामा यस्ता घटना घटी नै रहेका छन् ।

प्रकाशमा नआएका घटना कति होलान् । गुपचुप मिलाइएका, दुईचार लाख खिलाइएका घटना झन् कति कति । दबिएका, दबाइएका, काँचै चपाइएका घटना झन् त्यतिकै होलान् । यो हिसाबले त घरैपिच्छे बलात्कारीहरू छन् । टोलैपिच्छे बलात्कारीहरू छन् । अफिसै पिच्छे, उद्योगै पिच्छे बलात्कारीहरू छन् । अब यी सबैलाई जेलमा कोच्ने हो भने त देशको आधाउधि जमीनमा त जेल नै बनाउनुपर्ने हुन्छ्र आधाउधि बजेट पनि त्यसैमा स्वाहा हुन्छ । अनि कसरी ल्याउनु समृद्धि ? अझ ती जम्मैलाई फाँसी दिने हो भने, लिङ्गच्छेदन गरिदिने हो भने आउने भयावह स्थितिको कल्पना पनि गर्न सकिन्न । त्यसैले, यी सबै कुरालाई मध्यनजर गर्दै पीडितलाई मनाउँ, बलात्कारलाई ‘सामान्य शारीरिक घर्षण’ मान्ने कानून बनाउँ ।

बलात्कारलाई सामान्य शारीरिक घर्षण मान्ने व्यवस्था नहुञ्जेलसम्मका लागि बलात्कारी खोज्न हाम्रो देशमा नयाँ तरिकाको इनोभेशन पनि भैसकेको छ, त्यो तरिका प्रयोग गरौँ । यसको सफल प्रयोग निर्मला बलात्कार र हत्यामा गरिसकिएको छ । त्यो तरिका अनुसार बलात्कारपछि हत्या गरिएकी कुनै महिलाको शव जब भेटिन्छ पहिला उनलाई नुहाईधुवाई सफासुग्घर पारेर चोखोनितो बनाउने । उनको लुगा पनि साबुन पानीले राम्ररी धोइपखाली गर्ने । घाममा सुकाउने र सुकिसकेपछि जलाएर भष्म बनाउने सम्भव भए शवलाई नयाँ लुगा लगाइदिने । कपाल कोरिबाटी गरिदिने । लास हेर्न थुप्रै आगन्तुकहरू पक्कै आउने छन् । हुन सक्छ बलात्कारी, उसका मतियारहरू पनि आउन सक्छन् । ती सबैलाई बेरोकटोक लास हेर्न, छुन, चलाउन, दायाँवायाँ गर्न दिने । लासको वरपर र परपर पनि सफासुग्घर बनाउने । बढार कुँढार, पुछपाछ, लिपपोत गरेर सिनिक्क पार्ने । हिन्दू धर्म अनुसार मानिस मरिसकेछि जतिसक्दो चाँडो जलाउनुपर्ने हुन्छ । त्यसैले त्यस्तो शव जतिसक्दो चाँडो दाहसंस्कार गर्ने गराउने प्रबन्ध मिलाउने । लास बासी राख्नु हुन्न ।

बलात्कृत जीवित महिलाको केसमा पनि यही उपाय फलो गर्ने । तर, फरक अलिकति के छ भने जीवित महिलाको मुख बन्द गरेर मात्र यो सब गर्नुपर्छ्र । मुख बन्द गर्ने पुरातन देखि आधुनिक, उत्तरआधुनिक, फर्स्ट डीग्री, सेकेन्ड डिग्री, थर्ड डिग्री सबैमा मास्टर्स डिग्री गरेका सिद्धहस्त एक से एक पण्डितजीहरूको यहाँ कमी छैन ।

आमा, बाउ र अरू जनताले जो–जो माथि शंका गर्छन् तिनलाई बालै नदिने । योचाहिँ पक्कै होइन है । बलात्कारी भन्ने कन्फर्म भैसकेपछि तात्तातै त्यसलाई समाइहाल्ने । गिरफ्तार गरिहाल्ने । पहिला जुत्ता बनाउने अनि खुट्टाको साइज मिलाउने । मतलव, पहिला अपराधी करार गर्ने अनि अनुसन्धान गर्ने । बलात्कारी पत्ता लाउने मौलिक नेपाली काइदा हो यो ।

यो मौलिक तरिका अनुसार सोझासाझा, बौलाहा, धतुलाहा, निरीह निम्छरा तिनलाई त झन् छोड्दै छोड्नुहुन्न । समाउँदै कोच्ने । सकेसम्म तिनैलाई अपराध कबूल गराउने । उल्टोसुल्टो, तलमाथि, चोबचाब, कोचकाच, घोचाचाच, निचोर नाचोर सबै सिध्याएपछि गरे गर्छन् अपराध कबूल, नगरे उच्चस्तरीय छानवीन कमिटी बनाउने । त्यसले पनि पत्ता नलागे शक्तिशाली अर्को उपकमिटी बनाउने । त्यतिले नि पत्तो नलागे अधिकार सम्पन्न महाकमिटी बनाउने । टोली, उपटोली, लघुटोली, सुक्ष्म टोली, कार्यदल, उपकार्यदल आदि त कति हो कति ।

थाहा छ, यसपछि पनि बलात्कारी को भनेर पत्तो लाग्दैन । किनभने यो नौलो विधिको अद्भूत बिशेषता नै यही हो कि बलात्कारी पत्तै लाग्दैन । यसपछि अति उच्चस्तरीय अधिकारसम्पन्न आयोग बनाउने । यी सँगसँगै अरू समानान्तर कमिटी, छुद्रे आयोग, खुद्रा कमिटीहरू पनि गठन गर्दै जाने, अनुसन्धान गर्दै जाने । तबसम्म आमा, बाउ र नजिकका आफन्त बाहेक धेरैको मानसपटलबाट बलात्कारको सो घटना बिस्तारै बिस्तारै बिस्मृत हुन थाल्छ । चाडबाडले छपक्कै छोप्ला । नछोपे अरू नै केही लैलफडा आइजाला वा कुनै अरु नै घटनाले देशको ध्यान अन्यत्रै मोडिएला । अनि सबै आयोग कमिटी समितिको प्रतिवेदन लिने । दराजमा थन्क्याउने । मन लागे सार्बजनिक गर्ने, नत्र नगर्ने ।

र, अन्त्यमा अनुसन्धानको एकल जिम्मा हाम्रा आराध्यदेव श्री पशुपतिनाथलाई दिने । पशुपतिनाथको अनुसन्धानको चक्रव्यूहबाट आजसम्म कुनै हत्यारा बलात्कारी उम्केको रेकर्ड छ र ? त्यसै भनेका होइनन् नि राजा महाराजहरूले ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।’

जाँदाजाँदै,

बलात्कारलाई सामान्य शारीरिक घर्षणको रूपमा व्यवस्था नगर्ने हो भने हरेक लोग्नेमान्छेहरूले हरेक दिन आफ्नो दैनिकी शुरू गर्नुअघि ‘म बलात्कार गर्दिनँ, म बलात्कार हुन दिन्नँ, सबै महिलाको इज्जत गर्नेछु’ भनेर शपथ खानुपर्ने अनिवार्य व्यवस्था गरौं, बलात्कार उन्मूलन हुनेमा शंकै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment