Comments Add Comment

कर्णालीमा लगानी गर्न दाताहरु सकारात्मक

२३ असोज, सुर्खेत । कर्णालीको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका योजनामा लगानी गर्न दाताहरु सकारात्मक देखिएका छन ।

सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र वहुपक्षीय विकास साझेदारहरुको वैठकका विषयमा जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार भेटघाटमा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले वैठक उपलब्धीमुलक भएको जानकारी दिए ।

कर्णालीको वहुआयामिक विकासका लागि कर्णालीली प्रदेश सरकारले विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, युरोपीएन युनियन, यूएनडीपीसँग संयुक्त रुपमा वैठक गरेको प्रवक्ता केसीले वताइन् ।

वैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको बस्तुगत अवस्था, प्रदेश सरकारको नीति तथा कार्यक्रम र विकासका प्राथमिकताका क्षेत्रहरुको वारेमा दाताहरुलाई स्पष्ट गरेको प्रवक्ता केसीको भनाइ छ ।

‘प्रदेश सरकारको विकास लक्ष्य, प्राथमिकताहरु र सहकार्यका क्षेत्रहरुका वारेमा दाताहरुसँग महत्वपूर्ण छलफल भयो,’ पत्रकार भेटघाटमा प्रवक्ता केसीले भनिन्, ‘प्रदेश सरकारका प्राथमिकताका क्षेत्रहरु सडक, जलविद्युत, कृषि, पर्यटन, उद्योग, शिक्षा-स्वास्थ्य र गरिबी निवारणका क्षेत्रमा लगानी गर्न विकास साझेदार संस्थाहरु अत्यन्तै सकारात्मक पाएका छौं ।’

प्रदेश सरकारको तर्फबाट संघीय सरकारसँग समन्वय गरी साझेदार संस्थाहरुसँग सहकार्यको वातावरण बनाउन आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश सरकारको तर्फवाट प्रतिबद्धता गरिएको पनि प्रवक्ता केसीले जानकारी दिए ।

साझेदार संस्थाहरुसंग प्रदेश सरकारको तर्फवाट आवश्यक सम्पर्क तथा समन्वयका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई सम्पर्क व्यक्ति तोकिएको पनि प्रवक्ता केसीले जानकारी दिइन् ।

पत्रकार भेटघाट कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि प्रदेश सरकार निकै आतुर रहेको र जनअपेक्षा वमोजिम विकास कार्यलाई तीव्र गतिमा संचालन विकास साझेदार संस्थाहरुसंग वैठक गरिएको बताए ।

नेपालमा रहेका मित्रराष्ट्रका विकास साझेदार संस्थाहरुको वैठकले कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउन मार्गप्रशस्त गरेको मन्त्री ज्वालाले बताए ।

विकास साझेदारहरुको वैठकमा प्रदेश सरकार र साझेदार संस्थाहरुको प्राविधिक जनशक्ति रहने गरी विज्ञ वैंक स्थापना गर्ने सहमति भएको पनि मन्त्री ज्वालाले बताए ।

विज्ञ वैंकले कर्णाली प्रदेश सरकारको परियोजना वैंक तयार गर्ने र प्राथमिकताका आधारमा विकास कार्यलाई अगाडि बढाइने पनि मन्त्री ज्वालाको भनाइ छ ।

विकास साझेदारहरुको बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसी, सामाजिक विकास मन्त्री दल रावल, साझेदार संस्थाहरुको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डीएफआईडीका रुरिक मार्सडेनलगायत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment