Comments Add Comment

श्रेया हत्या आरोपीको बयानः रक्सीको जोसमा होस गुमाएँ

२३ असोज, पोखरा । पोखराकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कार प्रयासपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत कास्कीले मंगलबार पौडेललाई पुर्पक्षका लागि कास्की कारागारमा राख्न आदेश दिएको हो । मंगलबार जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले कुसुमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कुसुम पौडेलले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । रक्सीमा मात्तिएर श्रीयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलको बयान छ । पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रीयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिए ।

श्रेयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका छन् ।

कुसुमलाई थुनुवा पुर्जी दिई जिल्ला कारागार पठाएको जिल्ला अदालतले स्रेस्तेदार जगनाथ पौडेलले जानकारी दिए ।

सोमबारमात्र जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको अनुसन्धान रिपोर्ट, अहिलेसम्मको दसीप्रमाणसहितको अभियोगपत्र बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा गर्दा गराएको थियो ।

अदालतमा प्रहरीले कुसुमले बयान दिएको भिडियो, पोस्टमाटम रिर्पोट र अहिलेसम्मको प्राप्त प्रमाणलाई पेश गरेको थियो । जिल्ला न्यायाधिवक्ता अजुर्नप्रसाद कोइरालाले कुसुमको विपक्ष र वैतनिक वकिल कृष्णकुमार श्रेष्ठले पक्षमा बहस गरेका थिए ।

श्रेयाको ९ गते हत्या भएको थियो । प्रहरीले कुसुमलाई भोलिपल्टै पक्राउ गरेको हो । अपराधी उम्कन नपाओस् र थप अनुसन्धान तथा दोषीउपर कडाभन्दा कडा सजायको माग गर्दै श्रीया आफन्तले ७ दिनसम्म आन्दोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment