Comments Add Comment

प्रदेश प्रहरी गठन संविधानको भावना बमोजिम : मुख्यमन्त्री राउत

२५ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश प्रहरी गठन गर्न लागेको बताएका छन् ।

६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरधामले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुने विश्वास व्यक्त गरे ।

प्रहरी प्रणालीलाई पुनर्संरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नु आजको आवश्यक्ता रहेको उनको भनाइ छ ।

समायोजन, सहकार्य र समन्वय संघीय प्रहरी ऐन बमोजिम नै हुने मुख्यमन्त्री राउतले स्पष्ट पारे । संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको हुनाले सोही बमोजिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको उनले बताए ।

‘प्रहरी संगठनले परिवर्तित परिवेशको भावना अनुरुप कार्य गर्ने विश्वास लिएको छु, प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग छ,’ उनले भने,  ‘यसले संघीयतालाई आत्मसात गरेको छ ।’

प्रदेश २ सरकारले आफ्नै प्रहरी निकाय स्थापनाका लागि  प्रहरी ऐन सेवासम्बन्धी विधेयक प्रदेशसभामा पेश गरिसकेको छ ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा न्युनिकरणमा समाज र प्रहरीको दायित्व विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रहरी कार्यमा सहयोग गरेका सहयोगीहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो उनीहरुलाई मुख्यमन्त्री राउतले पुरस्कार र प्रशंसापत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment