Comments Add Comment

फिल्म समीक्षा: छक्का पञ्जा ३

नेपाली चलचित्र जगतमा ‘छक्का पञ्जा’ यस्तो ब्रान्ड बनेको छ,  जसले रिलिजपूर्व नै सानोतिनो तरंग पैदा गर्छ । यसका अघिल्ला दुई संस्करणले बक्स अफिसमा किर्तिमानी ब्यापार गरेका थिए ।

आम-मस्तिष्कले सोच्न नभ्याउने स्वैरकल्पनाको संसार निर्माण गरेर होस् वा आम-व्यक्तिले साक्षात्कार गरिरहेको जीवन-भोगाईको दुरुस्त कथा पस्किएर, फिल्मले दिने मनोरञ्जन नै हो । त्यसैले त यसलाई ‘मनोरञ्जन उद्योग’ भनिन्छ । तर, यही प्रवेगमा त्यसको कन्टेन्टले कुनै सन्देश बोक्न सक्छ, कुनै रहस्य उत्खनन गर्न सक्छ, कुनै मुद्दा उठाउन सक्छ । यहाँ आइपुगेपछि हेक्का राख्नुपर्ने कुरा चाहि कन्टेन्टको गहनता र मनोरञ्जनबीचको सन्तुलन हो ।

घटस्थापनाको दिनबाट देशभरका हलहरुमा लागेको ‘छक्का पञ्जा-३’ ले गरेको प्रयास यही हो, मुद्दा र मनोरञ्जनबीच सन्तुलन मिलाउने । यसमा फिल्म आंशिक सफल छ ।

‘छक्का पञ्जा ३’ ले उठाएको मुद्दा हो, देशको शैक्षिक वेथिती । निशाना सरकारी विद्यालयतर्फ सोझिएको छ । यसअघिका दुई संस्करण ‘हल्का रमाइलो’ मा सिमित रहेको आलोचना खेपिरहँदा तेस्रो संस्करणले कन्टेन्टमा पनि बल गरेको देखिन्छ ।

सरकारी विद्यालयभित्रका वेथिती नेपाली समाजका लागि पुरानो तर नेपाली फिल्मका लागि नयाँ विषय हो । बर्षेनी अर्बौं बजेट खन्याउँदा पनि सरकारी विद्यालयको स्तरोन्नति हुन नसकेको विषयमा पर्याप्त बौद्धिक बहस हूँदै आए पनि फिल्मको पर्दामा भने यसले खासै स्थान पाएको थिएन ।

कस्तो छ कथा ?

एउटा गाउँ छ । गाउँ भए पनि यो टिपिकल दूरदराजको गाउँ होइन । यसलाई सडक सञ्जालले जोडिसकेको छ । दरवारीया ठाँटको पक्की घर छ । बोर्डिङ स्कुल छ । यद्यपि, विपन्न वर्गका थुप्रै स्थानीय बालबालिकाहरु भने सरकारी विद्यालयमा पढ्छन् ।

सरकारी विद्यालयमा शिक्षक-शिक्षिकाहरु पढाउन होइन, तलब पकाउन जान्छन् । ‘ड्युटी टाइम’ मा कोही तास खेलेर बस्छन्, कोही जग्गा दलाली गर्छन्, कोही त्यसै बरालिएर हिँड्छन् । हेड मास्टर (शिवहरी पौडेल) को नियन्त्रणमा छैन विद्यालय । उनलाई त घण्टी बजाउने पिउन ‘माग्ने बुढा’ (केदार घिमिरे)ले समेत टेर्दैनन् ।

यस्तो वातावरणमा विद्यार्थीहरुको पढाई कमजोर हुने नै भो । स्थानीय गन्यमान्यहरु विद्यालयको खस्कदो स्तर उकास्ने भन्दा पनि त्यसमा टेकेर राजनीति गर्ने दाउपेचमा छन् ।

सरकारी विद्यालयको यस्तो हालत देखेपछि हेडमास्टरकी छोरी उजेली (दीपिका प्रसाईं) यसलाई सुधार्न कस्सिन्छिन् । त्यसकै खातिर टेलिभिजनको जागिर र विदेशको सपना त्यागेर गाउँमा बस्छिन् । उनी आफै कक्षा कोठामा पुगेर पाठ पढाउँछिन् । तहसनहस भएको शैक्षिक प्रणालीलाई लीकमा ल्याउन मिहिनेत गर्छिन् ।

यता गाउँमा राजा (दीपकराज गिरी)को पनि पूनः आगमन हुन्छ । बुबासँग छुट्टएिर आमासँग बस्दै आएका उनी बुबाको बिग्रदो राजनीतिलाई सधार्न गाउँ फर्काएका हुन् ।

राजनीतिक दाउपेच उत्कर्षमा पुग्दै गर्दा विद्यालयको सुधारका प्रयासहरु कसरी प्रभावित हुन्छ ? एउटी जवान युवतीको चार्तुय र प्रेरणाले सरकारी विद्यालयको भाग्य कसरी फेरिन्छ ? राज र उजेलीबीचको सम्बन्ध कसरी अगाडि बढ्छ ? यस्तै प्रश्नहरु हल गर्दै
२ घण्टा २५ मिनेट लामो फिल्मले विट मार्छ ।

कथा सार पढ्दा फिल्म शिक्षा र विद्यालयभित्रै रुमल्लिएको तपाईंलाई आशंका भयो होला । तर, त्यस्तो पनि होइन । फिल्मभित्र प्रेम, रोमान्स, द्वन्द्व र कमेडीको खाँचो छैन । फिल्मले मनोरञ्जनात्मक शैलीमै कथा वाचन गरेको छ ।

के छ हेर्नलायक ?

सरकारी विद्यालयभित्रको विकृतिलाई चिरफार सह्राहनीय प्रयास यस फिल्मले गरेको छ । शिक्षकहरु सरकारको तलब खाएर आ-आफ्नै धन्दामा लिप्त रहने, खेताला शिक्षक राख्ने, कडाई गरिदा शिक्षकदेखि पालेसम्म पाले आन्दोलनमा उत्रिने, राजनीतिकर्मीले विद्यालयलाई आफ्नो पावर बैंकको रुपमा प्रयोग गर्ने, विद्यालयमै विहेभोज गर्नेजस्ता प्रवृत्तिलाई फिल्मले उदांगो बनाएको छ ।

संवेदनशिल विषयलाई पनि रमाइलो ढंगले पेश गर्नु छक्का पञ्जा ३ को सफलता हो । यसले शिक्षा पद्धतीमाथि भन्दा पनि सरकारी विद्यालयको भ्रष्टिकरणमाथि प्रश्न उठाएको छ ।

केदार घिमिरे, दीपकराज गिरी, विल्सनविक्रम राई, बुद्धि तामाङ, शिवहरी पौडेल, किरण केसी, दीपाश्री निरौला जस्ता खारिएका कलाकारहरुको उपस्थिति फिल्ममा छ । उनीहरुको अभिनयमा खासै खोट लगाउन सकिँदैन ।

छोटो भूमिकामा भए पनि विल्सनविक्रम राईले अंग्रेजी शिक्षकको रुपमा घतलाग्दो अभिनय गरेका छन् । केदार घिमिरेले पनि आफ्नै शैलीमा हँसाएका छन् ।

अघिल्ला संस्करणको तुलनामा द्विअर्थी संवाद र जबरजस्ती हँसाउने शैली छाँटिएको छ । कथाको मुलभूत उद्देश्यबाट फिल्म कतिबेला पनि विचलित बनेको छैन । सबै पात्र कुनै न कुनै रुपमा मूलकथासँग जोडिएकै छन् । अतिरञ्जित घटनाक्रमबाट फिल्मलाई बढि नाटकीय बनाउने गल्ती गरिएको छैन । धेरै कुरा स्वभाविक एवम् सरल छन् ।

यस्ता छन् त्रुटी

फिल्म समग्रमा मनोरञ्जनात्मक छ, तर कमजोरीबाट मुक्त छैन । ‘छक्का पञ्जा’को शृंखला भएकाले यसप्रति दर्शकको स्वभाविक अपेक्षा बढ्छ । तर, अपेक्षाकृत फिल्मले दर्शकलाई रिझाउन सक्छ भन्ने कुरामा संशय गर्नुपर्ने हुन्छ ।

दीपक-दीपाले एकपछि अर्को ब्लकबस्टर फिल्म दिइरहेका छन् र छक्का पञ्जा तेस्रो संस्करणमा आइपुगेको छ । यसअघिका फिल्ममा उनीहरुले खेप्ने एउटै आरोप थियो, फिल्मको कन्टेन्ट भएन । फिल्ममा सन्देश भएन । फिल्म हल्का मनोरञ्जन मात्र भयो ।
संभवत यस्तै आरोपहरुको मुख थुन्नका लागि दीपक-दीपाले यसपाली शैक्षिक वेथितीमाथि कथा रचे । एकातिर संवेदनशिल सामाजिक विषय उठान गर्नुपर्ने, अर्कोतिर दर्शकलाई मनोरञ्जन पनि गराउनुपर्ने । यसको मझधारमा उभिएर उनीहरुले सबैखाले दर्शकलाई तृप्त पार्ने प्रयास गरेका छन् । तर, यसमा उनीहरु धेरै ठाउँ चुकेका छन् ।

फिल्ममा विषयगत, प्राविधिक धेरै किसिमको कमजोरी देखिन्छ ।

सरकारी विद्यालयको धज्जी उडाउने चक्करमा सबै शिक्षक जोकर जस्ता बनाएका छन् । विद्यालयको वाषिर्क उत्सवमा हेलिकप्टर चढेर शिक्षामन्त्री आएको, बुबाको निम्तोमा राजा गाउँ फर्किएको, विदेश जाने प्रक्रिया चालाएर गाउँ फर्किएकी युवती गाउँकै विद्यालय सुधार्न लागिपरेको, गाउँको विद्यालयको वेथिती प्रत्यक्ष प्रसारण गर्दा त्यसले सर्वत्र तरंग पैदा गरेको जस्ता घटनाक्रमहरु नाटकिय छन् । विद्यालयको विग्रदो अवस्था, सुधारका प्रयास र सुधारिएको अवस्था देखाउनका लागि जे-जति प्रसंगहरु जोडिन्छन्, त्यो स्वभाविक वा प्राकृतिक लाग्दैन ।

फिल्मकी मूख्य अभिनेत्री दीपिका प्रसाईंलाई आकर्षक देखाउनका लागि जति मेहनत गरिएको छ, उत्तिकै ध्यान उनको प्रस्तुतीमा दिइएको छैन ।

सिनेम्याटोग्राफीका हिसाबले पनि यसपाली फिल्ममा त्रुटीहरु देखिएका छन् । राजाको चस्मा र बाइकको लुकिङ ग्लासमा देखिने छायांकन गर्दाको प्रतिविम्बहरुले दर्शकको ध्यान भंग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment